धनुषास्थित नेपाल-भारत सीमामा एक महिलाको गोली हानी हत्या

धनुषास्थित नेपाल-भारत सीमामा एक महिलाको गोली हानी हत्या
सांकेतिक तस्वीर

जनकपुरः धनुषाको मुसहरनियास्थित नेपाल–भारत सीमा क्षेत्रमा एक जनाको गोली हानी हत्या भएको छ। 

मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ दशगजा पारि एक महिलाको गोली हानिएको हो। 

गएराति मोटरसाइकलमा आएका दुई जना व्यक्तिले ३५ वर्षीया महिलालाई गोली प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

महिलालाई दुई राउन्ड गोली हानेका उनीहरू भारततर्फ नै भागेका छन्।

गोली लागेर ज्यान गुमाएकी महिलाको पहिचान नखुलेको धनुषाका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए। 

भारतीय भूमिमा घटना भएकाले भारतीय प्रहरीले शव पोस्टमार्टमका लागि लगेको प्रवक्ता गौतमले बताए। 

घटनाको अनुसन्धान र हत्यामा संलग्नको खोजीमा नेपाल प्रहरी र भारतीय प्रहरीले समन्वय गरिरहेका छन्। 

सीमा क्षेत्रमा प्रहरी परिचालन गरेर घटनाबारे थप अनुसन्धान सुरु गरिएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिएका छन्। विस्तृत विवरण आउन बाँकी रहेको छ।

७ साउन, २०८०, ०७:४३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।