बचतकर्ताको सवा अर्ब रकम हिनामिना गरेर काठमाडौँ महानगरका ६९ सहकारी सञ्चालक बेपत्ता (विवरणसहित)

बचतकर्ताको सवा अर्ब रकम हिनामिना गरेर काठमाडौँ महानगरका ६९ सहकारी सञ्चालक बेपत्ता (विवरणसहित)

काठमाडौं : काठमाडौं महानगरपालिका अन्तर्गतका हालसम्म ६९ वटा सहकारीले बचतकर्ताको १ अर्ब १३ करोड रकम हिनामिना गरेर महानगरपालिकाको सम्पर्कमा नआएपछि छानविनका लागि महानगरीय प्रहरी परिसर टेकुलाई आवश्यक प्रक्रिया चाल्न पत्र काटेको छ।

महानगरपालिकाका सहकारी विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार २०७२ सालदेखि २०८० साल सम्ममा ६९ वटा सहकारीलाई छानविन गरी कारबाहीका लागि सिफारिस गरिएको हो।

‘हामीले पटक–पटक बोलाउँदा नआएका सहकारीका पदधिकारी, पत्र काट्दा पनि बेवास्ता गरेका एक प्रकारले भन्दा भागेकै सहकारीलाई प्रहरीकोमा पठाएका हौँ,’ त्रिपाठीले भने, ‘यस्ता सहकारीको संख्या २०७२ देखि हालसम्म ६९ वटा छन्। ८ वटा मात्रै २०८० सालका छन्। ती सहकारीले एक अर्ब १३ करोड ठगी गरेको देखिन्छ।’

यी हुन् ठगी गर्ने सहकारी
काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार ६९ वटा ठगी गरेर भाग्ने सहकारीमा सबैभन्दा बढी उजुरी आरक्ष बचत तथा ऋण सहकारी संस्थाविरुद्ध परेको छ।

५ सय ८८ जनाले उजुरी गरेकोमा ठगी रकम भने २ करोड ५० लाख ७ हजार १ सय ९१ रुपैयाँ रहेको छ।

त्यस्तै सबैभन्दा धेरै रकम हिनामिना गर्ने सहकारी भने गृह शान्ति बचत तथा ऋण सहकारी संस्था हो। उसले ३९ करोड ११ लाख ४१ हजार ३ सय ४० रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ।

२०८० सालमा हालसम्म प्रहरीमा ८ वटा सहकारीको प्रहरी अनुसन्धानको लागि सहकारीको विवरण पुगेको छ। क्वीक बचत तथा ऋण सहकारी विरुद्ध १९ जनाले २२ लाख ४५ हजार ६ सय ८२ ठगी भएको भन्दै उजुरी दिएका छन्।

त्यस्तै माँ अम्बेको ५७ लाख १४ हजार ७ सय ८७ रूपैयाँ, गरुड बहुउद्धेश्य ३१ लाख ४६ हजार ७ सय ९७ रुपैयाँ, अभिमत बचत तथा ऋण सहकारीको ३ करोड ८९ लाख ६३ हजार ७ सय १५ रुपैयाँ, नेशनल बचत तथा ऋण सहकारीको ६१ लाद २ हजार ३ सय २० रुपैयाँ ठगी गरेको उजुरीमा उल्लेख छ।

त्यस्तै सम्बद्धर्न बचत तथा ऋण सहकारीको ६७ लाख २८ हजार ५ सय ६६ रुपैयाँ र नाता तथा बचत तथा ऋण सहकारीको ५१ लाख ७३ हजार ५२ रुपैैयाँ रहेको छ भने प्रारम्भिक बचत तथा ऋण सहकारी ठगी रकम खुलाइएको छैन।

महानगरले २०७९ सालमा १९ वटा सहकारीको अनुसन्धान गर्न प्रहरीमा पठाएको थियो। अनुसन्धानको प्रक्रिया के भएको छ त भन्ने उकेराको प्रश्नमा महानगरपालिकाका सहकारी विभाग प्रमुख बलराम त्रिपाठी प्रहरीबाटै दुई तीन जना जेल गएको भए पनि महानगरमा थप जानकारी नआएको बताए।

उनले भने, ‘प्रहरीमा हामीले अनुसन्धानको लागि पठाएपछि केही सहकारीका व्यक्तिहरु कारागार पनि चलान भएको सुनेको चाहिँ हो, विस्तृत जानकारी भने हामीलाई पनि आएको छैन। अब हामीले कुन सहकारीको के भएको हो विस्तृतमा मगाएका छौँ।’

जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनाली महानगरले सहकारी ठगीको फाइल पठाइरहेको र अनुसन्धान भइरहेको बताउँछन्।

‘काठमाडौं महानगरले फाइल पठाइरहेको छ। हामीले अनुसन्धान गरिरहेका छौँ केही कारबाहीमा पनि परेका छन्,’ उनले भने, ‘यसबारेमा अझ महानगरसँग समन्वय गर्नुपर्ने देखिन्छ।’

किन देखियो सहकारीमा एकै पटक समस्या?
माइतीघर मण्डलामा जाने हो कुनै न कुनै सहकारी पिडितले आन्दोलन गरिरहेको भेटिन्छ। बचत कर्ताको ठूलो रकम लिएर अपचलन गर्ने इच्छाराज तामाङ देखि बचतकर्ताको पैसा उठाएर भाग्ने बजारप्रतिनिधि सम्मका पीडित छन्।

सहकारी सम्बन्धी समस्या भएकैले सरकारले केही वर्षअघि गौरीबहादुर कार्कीको नेतृत्वमा समस्याग्रस्त सहकारी पहिचान गरी समस्या सामाधान गर्न समिति बनाएको थियो। पहिचान भएर प्रतिवेदन पनि बुझाइयो तर उचित कार्यान्वयन र ठग सहरकारीलाई कारबाही भएन। जसको असर अहिले फेरि देखिएको छ।

काठमाडौं महानगरका सहकारीमा कस्ता समस्या देखिए त?
विशेषतः चार कारणले सहकारीमा समस्या देखिएको महानगरका सहभागी विभाग प्रमुख त्रिपाठी बताउँछन्। शेयर सदस्यले सहकारीमा भइरहेको आर्थिक हिसाबकिताबारे चासो नराख्दा, सञ्चालकले विनाधितो ऋण लिएर अन्यत्र लगानी गर्दा, नियत नै सहकारी खोलेर ठग्ने हुँदा र आर्थिक मन्दीका कारण सहकारीमा समस्या आएको उनको भनाइ छ।

‘सहकारी समस्या एक कारणले मात्रै आएको होइन। बचतकर्ता देखि सञ्चालक समितिका अध्यक्षले रकम हिनामिना गर्नेदेखि नतिर्ने नियतसम्म देखिएको छ,’ उनले भने, ‘सहकारीमा बाहिर जति हौवा पिटिएको छ, त्यति धेरै पनि समस्या होइन। केही नियत खराब भएकाले समग्र सहकारीलाई बदनाम गराए। सबै बचतकर्ता एकैपटक पैसा माग्दा जाँदा पनि समस्या देखिएको हो।’

भागेका ६९ सहकारीको विवरण:-

१९ असार, २०८०, २०:०१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।