मिलेर बस्ने सासू-बुहारीलाई गाउँपालिकाले गर्‍यो सम्मान

मिलेर बस्ने सासू-बुहारीलाई गाउँपालिकाले गर्‍यो सम्मान

सिन्धुलीः सिन्धुलीको फिक्कल गाउँपालिकाले सासू-बुहारीलाई सम्मान गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत ६ वटा वडाका ६ जोडी सासू-बुहारीलाई सम्मान गरेको हो।

पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले यस वर्ष पनि फिक्कलले गाउँपालिकाभित्रका उत्कृष्ट सासू-बुहारीलाई सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिए।

गाउँघरमा सासू-बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने उद्देश्यले समाजमा रहेका अनुकरणीय सासू-बुहारीलाई गाउँपालिकाले हरेक वर्ष सम्मान गर्दै आएको उनले बताए।

प्रत्येक वडाका उत्कृष्ट सासू-बुहारीलाई खोजी हरेक वर्ष गाउँपालिकाले सम्मान गरिने कार्यलाई निरन्तरता दिने उनको भनाइ थियो। ज्येष्ठ नागरिकलाई गरिने व्यवहार सकारात्मक र बुहारीलाई पनि छोरीसरह व्यवहार होस् भनेर गाउँपालिकाले सम्मान गर्दै आएको र सबै वडामा यसै प्रकारले सम्मान गरिने उनको बताए।

गाउँपालिकाले मेलमिलापका साथ सासू-बुहारीसँगै बसेका छ वडाका १२ सासू-बुहारीलाई प्रमाणपत्रसहित दोसल्ला आढाएर सम्मान गरेको हो।

सम्मानित हुनेमा वडा नं १ का मुसीमाया कामी, अन्जना विक, वडा नं २ का बालकुमारी मगर, गङ्गाकुमारी मगर, वडा नं ३ का कल्पना कुमारीश्रेष्ठ, मुना श्रेष्ठ, वडा नं ४ का मैया आले र लीलाकुमारी मगर, वडा नं ५ शिवकुमारी घिमिरे, पार्वती घिमिरे र वडा नं ६ का बुद्धमाया मगर र जमुना मगर रहेका छन्।

उनीहरूलाई सासूले बुहारीलाई छोरी समान र बुहारीले सासुलाई आमाको भूमिकामा राखेको जनाउँदै सम्मान गरिएको हो। गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले समाजमा सासू-बुहारीबीचको सम्बन्धलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउनुपर्नेमा जोड दिइन्।

अब सासु होइन आमा र बुहारी नभई छोरीको सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो। 

१३ असार, २०८०, ०७:४४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।