रोष्टममा ओलीको दुई घण्टा : प्रधानमन्त्री र अर्थमन्त्रीलाई व्यंग्यदेखि बजेट सच्याउन सुझावसम्म

रोष्टममा ओलीको दुई घण्टा : प्रधानमन्त्री र अर्थमन्त्रीलाई व्यंग्यदेखि बजेट सच्याउन सुझावसम्म

काठमाडौं : आगामी आर्थिक वर्ष २०८०/८१ को लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमाथिको छलफलमा मंगलबार विपक्षी दलका नेता एवं एमाले अध्यक्षले आफ्नो धारणा राखे।

संसदमा करिब दुई घण्टा लामो भाषण गरेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री महतमाथि व्यंग्य मात्रै गरेनन् बजेट सच्याउनसमेत सुझाव दिए। उनले देश र जनताको लागि बजेट सच्याइनुपर्ने भन्दै त्यसकै आधारमा आफूहरूले सरकार असफल भयो भनेर नभन्ने धारणा राखे।

उनले भने, ‘सच्याउनुस् बजेट। सरकारले बजेट फेर्यो, असफल भयो भन्दैनौँ हामी। देश र जनताका लागि सरकार बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौँ।’

अध्यक्ष ओलीले राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवं जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्वीकार्ने भन्दै अर्थमन्त्रीको अनुहार हेरेर माया लाग्ने भन्दै व्यंग्यसमेत गर्न भ्याए।

उनले थपे, ‘राष्ट्र, जनता र अन्तर्राष्ट्रिय समुदायप्रतिको प्रतिबद्धता एवम् जिम्मेवारीलाई पूरा गर्न नसक्ने बजेटलाई कसरी स्वीकार्ने? अर्थमन्त्रीज्यूको अनुहार हेर्दा माया लाग्छ। भूतले खाजा खाने बेलामा पर्नुभयो। वातावरण त्यस्तै छ। तपाईंको मन सफा होला।’

यस्तै उनले नस्ल सुधारका लागि भारतसँग मुर्रा राँगोबारे आफूले कुरा गरेको स्मरण गराउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दाम्लोमात्रै थमाएको टिप्पणी गरे।

उनले अगाडि भने, ‘राँगो ल्याएको आलोचित भयो भनेपछि, पाँच वर्षअघिको प्रधानमन्त्री थियो उसैको पालामा कुरा चलाएको रहेछ। अहिले त दाम्लोमात्र थमाएको हो। आखिर आड त हाम्रै लिनुपर्ने रहेछ नि!’

त्यसैगरी ओलीले गाँजा खेतीको विषयमा बजेटमा समेटर औषधिका लागि एक दुई बोट गाँजा लाउने जनतालाई जेल हाल्ने नियत देखिएको भन्दै आशंका व्यक्त गरे।

‘कतिपय माननीयज्यूहरूलाई परेको होला हाम्रो गाउँमा गाँजा हुन्छ त्यसबाट कतिको जीविका चलेको छ। यो नियन्त्रित, नियोजित गाँजा खेतीको कुरा गरेको हो’, उनले भने, ‘यो लागू भएपछि लाइसेन्स नलिएको गाँजा खेती गर्न पाइँदैन भनेर गाउँ–गाउँमा गई विरुवा उखेलिन्छन्। आम रूपमा त्यतिकै उब्जिएको गाँजाबाट जीविका चलायो भने झेलखाना जान्छ।’

यस्तै उनले बजेट बनाउने क्रममा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता नभएको स्पष्टीकरण दिएका अर्थमन्त्रीलाई शंकाको सुविधा दिए।

‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहेनछ, राम्रो लाग्यो’ उनले भने, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ।’

करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे समाचार आएपछि संसदमा उठेको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री महतले करको दरबारे आधिकारिक व्यक्तिहरूले नै निर्णय गरेको र पूर्व नासु रामकृष्ण श्रेष्ठलाई तथ्यांक इन्ट्रीमा मात्र प्रयोग गरेको बताएका थिए।

२३ जेठ, २०८०, १७:४७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।