कोभिडका कारण दुःखी भएका जापानीलाई सिकाइँदै छ हास्न

कोभिडका कारण दुःखी भएका जापानीलाई सिकाइँदै छ हास्न

कोभिड-१९ ले विश्वमा लाखौं मानिसको ज्यान लिइसकेको छ। यसबाहेक अन्य अनगिन्ती नोक्सान पनि भएका छन्।

जापानमा एउटा अनौठो घटना सार्वजनिक भएको छ। यहाँका जनता र खासगरी युवा पुस्ताले मुस्कुराउन पनि बिर्सेपछि अहिले यहाँ विशेष कक्षामार्फत मानिसहरूलाई राम्रोसँग हाँस्न सिकाइँदैछ, तर यो निःशुल्क भने छैन। यसका लागि हजारौं रुपैयाँ तिर्नुपरेको छ।

सधैं मास्क लगाएका कारण, जापानीहरूले राम्रोसँग हाँस्न बिर्सेका थिए। तालिममा उनीहरूलाई हलिउड फिल्महरूमा जस्तै मुस्कान निकाल्न सिकाइएको छ।

हरेक अनुहारअगाडि ऐना

‘जापान टाइम्स’ले राम्रोसँग हाँस्न सिकेका युवाहरूबारे प्रतिवेदन प्रकाशित गरेको छ। यस अनुसार टोकियो आर्ट स्कुलका धेरै विद्यार्थी हातमा ऐना लिएर मुस्कान बढाउने अभ्यास गरिरहेका छन्। मुखको दुवै छेउको भागलाई फराकिलो बनाउन ‘माउथ स्ट्रेचिङ’ अभ्यास भइरहेको छ। उनीहरूसँगै प्रशिक्षक पनि छन्।

ट्रेनरले मुस्कुराउने सीप सिकाउन चर्को शुल्क लिने गरेकी छन्। तर पनि कावानो नाम गरेकी ट्रेनरका विद्यार्थी सङ्ख्या बढ्दै गएका छन्। यसमा युवा पुस्ता मात्र परेका छैनन्, केही वृद्धवृद्धा पनि यस्ता कक्षामा आउने गरेका छन्।

मास्कले मुस्कान खोस्यो

रिपोर्टका अनुसार कोभिडको अवधिमा जापानका जनताले मास्कको आदेशलाई कडाइका साथ पालना गरेका थिए। यसबाहेक यहाँ विशेष प्रकारको ज्वरो पनि फैलिएको थियो। जसका कारण जापानीहरूले प्रायः मास्क लगाउने गरेका थिए। 

मास्क लगाएका कारण जापानका अधिकांश मानिसले मुस्कुराउन बिर्सेका थिए।

२० वर्षीया हिमावरी योशिदा बजारको काम गर्न चाहन्छिन्। उनी भन्छिन्, 'मेरो कामको आवश्यकतामा उचित मुस्कान पनि समावेश छ। त्यसैले अहिले यो कला सिकिरहेको छु।'

योशिदा थप भन्छिन्, 'कोभिडको अवधि निकै डरलाग्दो साबित भयो। यस अवधिमा, हामीले अनुहारको मांसपेशीहरू प्रयोग गर्न आवश्यक महसुस गरेनौं। अब मुस्कानको शिक्षा लिन्छु।'

स्माइल ट्रेनर कावानोले आफ्नो कम्पनी 'स्माइल एजुकेशन' नाममा दर्ता गरेकी छन्। विद्यार्थी एक वर्षमा ४ गुणा बढेका उनले बताइन्। यसमा सरकारी कर्मचारी पनि पर्छन्। यसबाहेक, त्यहाँ निजी कम्पनीहरू र विशेषगरी मार्केटिङ क्षेत्रका व्यक्तिहरू छन्।

कावानो भन्छिन्, 'जापानमा मास्क एकदमै सामान्य कुरा हो। कोभिड नभएका बेला पनि मानिसहरूले यसलाई संक्रमणबाट बच्न प्रयोग गरे। कतिपयले यसको फाइदाहरू पनि गणना गर्छन्। उदाहरणका लागि यदि पुरुषहरूले सेभ गरेका छैनन् भने, मास्कमा यो धेरै देखिँदैन। महिलाहरू मेकअपविना भए पनि उनीहरूको अनुहार खासै देखिँदैन।'

५५ प्रतिशत जापानीहरूले अझै पनि मास्क लगाउने गरेका बताइन्छ। 

कावानोका अनुसार हलिउड चलचित्रहरूमा कलाकारहरूले जुन किसिमको फराकिलो मुस्कान दिन्छन् त्यो सबैभन्दा राम्रो मुस्कान हो। 'म मेरा विद्यार्थीहरूलाई कक्षाहरूमा यो शैली सिकाउँछु,' उनले भनिन्। 

कावानो थप भन्छिन्, 'जे भए पनि हामी जापानीहरू हाँस्ने मामिलामा पश्चिमी देशहरूभन्दा धेरै पछाडि छौं। यसका केही कारण हुन सक्छन्। यद्यपि मुस्कान हाम्रो जीवनको महत्त्वपूर्ण र आवश्यक अंश हो। मलाई लाग्छ अब हामीले यो कला अपनाउन थालेका छौं।'

२२ जेठ, २०८०, २१:१२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।