मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छुः शेष घले

मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छुः शेष घले

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताएका छन्। 

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै संघको विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए। 

संघमा आबद्ध भएदेखि नै आफू संघको संस्थागत हितमा लागेको उल्लेख गर्दै उनले संघसंस्थाको उद्देश्य समाज सेवा र सामाजिक कार्य भएकाले जुनसुकै माध्यमबाट पनि समाज सेवा र सामाजिक कार्य गर्न सकिने बताए। ​​​​​​​

संघको विवादतर्फ आफू जान नचाहेको स्पष्ट पार्दै उनले आफूलाई दिएको जिम्मेवारी निश्पक्ष ढंगले पूरा गरेको उल्लेख गरे।

घलले भने, 'कानुनी परामर्श गरेरै महाधिवेशन सम्पन्न गरेको हो। त्यसबेला परराष्ट्र मन्त्रालयबाटै नगर्नु भन्ने परिपत्र आएको भए मैले रोक्नुपथ्र्यो तर परराष्ट्रबाट त्यस्तो केही आएको थिएन।'

 नयाँ पूस्तालाई समेट्दै संघलाई समयानुकूल परिमार्जन गर्नुपर्छ भन्ने सोच र परिकल्पनाका साथ ‘भिजन २०२० एण्ड वियोण्ड’ कार्यक्रम ल्याएको स्मरण गर्दै उनले संघमा विवादको अन्त्य होस् भनेरै विधान संशोधन गरेर विवादरहित संस्थाको परिकल्पना गरिएको बताए।

पूर्वअध्यक्ष घलेले विदेशमा रहेका नेपाली समुदायको सञ्जालका रुपमा संयुक्त राष्ट्र संघको मोडेलमा एउटा सञ्जाल सञ्चालन गर्न सकिने धारणा राखेका थिए। 

१० जेठ, २०८०, १५:१०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।