नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न ४ दिन म्याद थप

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिन म्याद थप गरेर अनुसन्धान गरिने भएको छ।

आइतबार काठमाडौं जिल्ला अदालतबाट १२ जनालाई नै थप ४ दिनका लागि हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो।

खाँण गत वैशाख २७ गते मनमैजुमा रहेको डेराबाट समातिएका थिए।  

आजै मात्र यस प्रकरणमा मुछिएका गिरोहका दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। 

तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासमेत यो गिरोहमा संलग्न रहेको भन्दै उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएको हो।

सुरुमा ३ दिनका लागि पाएको म्याद शुक्रबार सकिएको थियो। शनिबार बिदा भएका कारण आज (आइतबार) म्याद थपका लागि खाँणलाई अदालत लगिएको हो। 

यस प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री खाण, उनका पिए केसी, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरूङ, सन्देश शर्मा, सागर राई, एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप, रामशरण केसी र गोविन्द चौधरी पक्राउ परेका छन्। 

टोपबहादुर रायमाझी, इन्द्रजितका छोरा निरज र बादलका छोरा प्रतीक भने फरार छन्।  

 

३१ बैशाख, २०८०, १६:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।