मुम्बईविरुद्ध रासिदको १० वटा छक्का, तर पनि हार्‍यो गुजरात

मुम्बईविरुद्ध रासिदको १० वटा छक्का, तर पनि हार्‍यो गुजरात

जारी आईपीएलको ५७ औं खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २७ रनले हराएको छ। 

टस हारेर ब्याटिङमा आएको मुम्बईले सूर्यकुमार यादवको शतकीय पारीसँगै गुजरातलाई २१९ रनको लक्ष्य दिएको थियो। यादवले नटआउट १०३ रन बनाएका थिए। 

जवाफमा २१९ रनको लक्ष्य पछ्याएको गुजरात पूरा ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनाउन सक्यो। 

आजको खेलमा अफगानी बलर राशिद खानले सर्वाधिक ७९ रन बनाए। उनले यस क्रममा १० वटा छक्का तथा ३ वटा चौका बनाए। मात्र ३२ बल खेलेका उनी अन्तिम बलमा क्याच आउट भए। 

विशाल लक्ष्य पछ्याएको गुजरात सुरुदेखि नै दबाबमा परेको थियो। दुवै ओपरनलाई सस्तैमा गुमाएको थियो। आज गुजरातका ऋद्धिमान सा ५ बलमा मात्र २ रन तथा शुभमन गिल ९ बलमा ६ बनाएर आएट भए। त्यस्तै कप्तान हार्दिक पाण्ड्या पनि मात्र ४ रनमा क्याच आउट भए।

डेविड मिलर र विजय शंकरले इनिङ उकास्ने संकेत गरे पनि उनीहरूले अर्धशतक बनाउन सकेनन्। 

आजको खेलमा चम्किएका राशिदले मुम्बईको चार विकेट पनि लिएका थिए। 

आज मुम्बईका आकाश मधवलले ३ तथा पियुस चावला र कुमार कार्तिकेयले समान २/२ विकेट लिए। 

जितसँगै मुम्बई तेस्रो स्थानमा पुगेको छ। पछिल्ला पाँच खेलमा ४ जित निकालेको ऊसँग १४ अंक भएको छ। हार बाबजुद पनि गुजरात १६ अंकका साथ शीर्ष स्थानमै छ। दुवैले १२ खेल खेलिसकेका छन्। 

२९ बैशाख, २०८०, २३:५९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।