नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान शिथिल नहोस्ः ट्रान्सपरेन्सी इन्टरनेशनल

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान शिथिल नहोस्ः ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडौँः नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको संगठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वागत गरेको छ। 

हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबिन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् एवं अपराधीहरू जुनसुकै पद तथा तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टीआई नेपाल जोडदार माग गरेको अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गरेको वक्तव्यमा उल्लेख छ।

आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असुली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लुट र मानव तस्करीको संगठित अपराध मात्र नभई राज्यविरुद्ध, नागरिकविरुद्ध र मानवताविरुद्ध अक्षम्य अपराधसमेत भएको उनले बताए।

'यो अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रको सदाशयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो, यसमा कार्यपालिकाका वरिष्ठ सदस्यको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकले निरन्तरता दिँदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको सङ्केत दिएको छ, जसले नेपाल र नेपालीलाई अत्यन्त दुःखद एवम् अवाञ्छनीय प्रश्नसामु खडा गरेको छ', विज्ञप्तिमा भनिएको छ। 

कुनै पनि प्रकारको दबाव र प्रभावबाट मुक्त निष्पक्ष छानबिन गरी सबै पद र तहका समस्त अपराधीमाथिको निर्मम कारवाही मात्र यस प्रकरणको उपचार हो भन्ने टीआई नेपालको धारणा रहेको अध्यक्ष प्रधानाङ्गले बताए। 

२९ बैशाख, २०८०, २१:०३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।