नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री खाँणसहित ११ जना पक्राउ, टोपबहादुर भने अझै फरार

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वमन्त्री खाँणसहित ११ जना पक्राउ, टोपबहादुर भने अझै फरार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज  बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ। 

यससँगै यो प्रकणमा मुछिएकामध्ये ११ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। 

उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उनकै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो। खाँणलाई प्रहरीले मैजुवहालमा रहेको उनको डेराको घरबाट पक्राउ गरिएको काठमाडौँ प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।  

उनीसँगै उक्त घटनामा पक्राउ पर्ने आरोपितको संख्या ११ जना पुगेको प्रहरीले जनाएको छ।

यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो। 

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ । 

उक्त घटनामा आरोपित एमालेका सचिव टोपबहादुर रायमाझीलाई भने प्रहरीले खोजी गरिरहेको छ ।

जिल्ला प्रहरी परिसरले उनीविरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

उक्त घटनामा हालसम्म एक सय ६ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका हुन्।

२७ बैशाख, २०८०, १०:५९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।