नातामा तीर्थमालीको नाति पर्थे प्रकाश, किन चलाए हजुरआमालाई गोली?

नातामा तीर्थमालीको नाति पर्थे प्रकाश, किन चलाए हजुरआमालाई गोली?

काठमाडौं : माओवादी नेता वर्षमान पुनको घरमा गोली चलाउने व्यक्ति प्रकाश नातामा वर्षमानकी आमा तीर्थमालीकै नाति पर्ने खुलेको छ।

गए राति प्रहरी हवल्दार प्रकाश पुन मगरले चलाएको गोली ७० वर्षीय तीर्थमाली पुनको खुट्टामा लागेको थियो। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

रोल्पाका छिमेकी रहेका प्रहरी हवल्दार प्रकाश पुन मगर नाताले उनको नाति समेत पर्थे। प्रकाशले पुनको आमालाई  हजुरआमा भनेर बोलाउने गर्थे।

पहिले प्रकाश त्यही घरमा बस्थे भने हाल उनी छुट्टै डेरा लिएर बस्ने गरेको बताइएको छ।

प्रकाश नयाँ वर्षको अवसरमा तीर्थमायाको घरमा भएको पारिवारिक जमघटमा सामेल हुन र हजुरआमालाई भेट्न गएका थिए।

आफ्नो काम सकेर उनी पेस्तोल साथमै लिएरै तीर्थमायाको घरमा पुगेका थिए। नयाँ वर्षको अवसरमा भएको जमघटमा उनले मादक पदार्थ सेवन गरेको थिए।

यसै क्रममा भएको सामान्य विवादमा उनले आफूसँग भएको पेस्तोल निकालेको र असावधानीका कारण अचानक पेस्तोल पड्किएको पाइएको प्रहरी स्रोतले जनाएको थियो।

बेलुकी साढे ९ बजेतिर भएको यस घटनापछि उनी भागेका थिए भने प्रहरीले राति १ बजे तिर खबर पाएपछि उनलाई पक्राउ गरेको थियो।

हाल यस घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२ बैशाख, २०८०, १०:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।