कांग्रेसको किचलोले मन्त्रीपरिषद् अपुरै, नागरिक उन्मुक्ति पनि सरकारमा, आफै मन्त्री बन्ने रविको लोभले रास्वपा सरकार बाहिर

कांग्रेसको किचलोले मन्त्रीपरिषद् अपुरै, नागरिक उन्मुक्ति पनि सरकारमा, आफै मन्त्री बन्ने रविको लोभले रास्वपा सरकार बाहिर

काठमाडौं : नेपाली काँग्रेसभित्र सरकारमा जाने विषयमा समूहबिच विवाद भएपछि पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीका लागि आफ्नो समूहका सांसदको नाम मात्र दिएका छन्।

काँग्रेसको भागमा आठ मन्त्रालय परेको थियो। देउवाले चार आफ्नो समूहका लागि राखेर दुई संस्थापन इतर कोइराला समूह र एक-एक शशाङ्क कोइराला र प्रकाशमान सिंहलाई दिएका थिए।

शुक्रवार आठै जनाको नाम पठाउने तयारी गरे पनि शेखर कोइराला समूहले सरकारमा सम्मानजनक उपस्थिति नभएसम्म आफ्नो समूहका सांसदको नाम नदिने अडान राखेका थिए।

उता शशाङ्क र प्रकाशमानले पनि आफ्नो समूहबाट मन्त्री हुनेको नाम नदिएपछि देउवाले आफ्नो समूहका चार जनाको मात्र नाम पठाए।

काँग्रेसबाट पार्टी उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री हुने भएका छन्। उनले सरकारमा पार्टीको नेतृत्व गर्ने छन्।  

डा. प्रकाश शरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकास मन्त्रीको रूपमा नाम गएको छ।

मन्त्रीको नाम नआएपछि परराष्ट्र, स्वास्थ्य लगायतका चार मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रहेको छ।

एकीकृत समाजवादीले आफ्नो भागमा परेको दुवै मन्त्रीको नाम पठायो। उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्दै छन्।

जनता समाजवादी पार्टीले पनि आफ्नो भागमा परेको दुईमध्ये एक जनाको मात्र नाम पठायो।  जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री हुने भएका छन्।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रूपमा सरकार प्रवेश गर्दैछन्। उनको नाम गृहमन्त्रीमा चर्चामा थियो।

नारायणकाजी श्रेष्ठ मन्त्रालय फेरिएपछि बस्नेत ऊर्जामा गए भने श्रेष्ठ गृहमा आउने भएका छन्। माओवादीबाट सरकारमा रहेका सञ्चार तथा सूचना प्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराँती र सङ्घीय मामिला तथा सामान्य प्रशासनमा अमनलाल मोदीले पुरानै मन्त्रालयमा निरन्तरता पाएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरदसिंह भण्डारी श्रम तथा रोजगार मन्त्री बन्दै १६ औँ पटक मन्त्री भएको रेकर्ड राख्दै छन्।

रेसम चौधरी रिहा नभएसम्म सरकारमा नजाने अडानमा रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री हुने भएकी छिन्।

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बने। जनमत पार्टीबाट अब्दुल खान खानेपानी मन्त्री छन्।

रास्वपा सरकार बाहिर

सरकारलाई समर्थन गरेको दलमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी मात्र सरकारमा सहभागी भएन। पार्टीमा १९ जना सांसद हुँदाहुँदै पार्टी सभापति रवि लामिछाने आफैँ गैर सांसदको रूपमा सरकारमा जान  खोजेपछि सहमति हुन सकेन।

रास्वपालाई तीन मन्त्रालय छुट्याएका प्रचण्डले एक मन्त्रालय माओवादीका लागि राखे, एक मन्त्रालय काँग्रेसलाई दिए। बाँकी रहेको एक सिट डा बाबुराम भट्टराइको पार्टीले पायो।

१७ चैत, २०७९, १४:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।