माओवादीबाहेकका दुई दलले लुम्बिनी सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने

माओवादीबाहेकका दुई दलले लुम्बिनी सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने

बुटवल : राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनका कारण लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ।

केन्द्रीय राजनीतिमा परिवर्तन आएपछि दुई राजनीतिक दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेसँगै प्रदेश सरकार संकटमा परेको हो।

मुख्यमन्त्री लिला गिरीलाई विश्वासको मत दिएका नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजबादी पार्टीले समर्थन फिर्ता लिने भएका हुन्। प्रदेश सभामा उन्मुक्ति पार्टीका ४ र लोसपाका ३ सांसद् छन्।

नागरिक उन्मुक्ति तथा लोसपाले प्रदेश सरकार गठन गर्दा पुस २७ गते हस्ताक्षर गरेर मुख्यमन्त्रीमा गिरीलाई समर्थन गरेका थिए भने माघ ५ गते विश्वासको मतसमेत दिएका थिए।

बुधबार बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोबारे जानकारी गराउने नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक राजकुमार चौधरीले जानकारी दिए।

त्यस्तै, लोसपाको संसदीय दलका नेता सन्तोष पाण्डेले नयाँ समीकरणअनुसार जाने बताउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा बैठकमा दिने बताए।

संघीय सरकारमा सरकारबाट बाहिरिएको राप्रपाले भने सरकारलाई दिएको विश्वासको मत बारे अझै निर्णय गरिसकेको छैन।

८७ सदस्यीय प्रदेशसभामा एमाले नेता लीला गिरी ७ दलका ५६ र दुई स्वतन्त्र सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्री बनेका थिए। तर, दुई महिना पूरा नहुँदै मुख्यमन्त्री गिरी संकटमा परेका हुन्।

प्रदेशमा पहिलो दल रहेको एमालेसँग २९ तथा माओवादीसँग १० सांसद् छन्। यसैगरी सरकारलाई साथ दिएको राप्रपाका ४, जनमतका ३ र जसपाका ३ सांसद् छन्।

त्यस्तै जसपाले पनि सरकारबाट बाहिरिने विषयमा अझै कुनै निर्णय नभएको जनाएको छ। जसपा प्रदेश अध्यक्ष अशोक यादवले फागुन २५ पछि मात्र सरकारका बारेमा निर्णय लिने बताए। जसपाका भण्डारीलाल अहिले प्रदेश सरकारका मन्त्रीसमेत छन्।

त्यस्तै जनमतले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे अझै निर्णय भइनसकेको बताएको छ। जनमतका सांसद् तथा सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले २५ गते अगाडि कुनै निर्णय लिने विषयमा पार्टीमा छलफल नभएको बताए।

माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले नयाँ गठबन्धनअनुसार दलहरूसँग औपचारिक तथा अनौपचारिक संवाद भइरहेको बताए।

१७ फागुन, २०७९, ०९:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।