उकेरा टप फाइभ : डाँडाका टुप्पामा बनेका विमानस्थलदेखी यू-१९ विश्वकप छनोटमा नेपालको लगातार चौथो जितसम्म

उकेरा टप फाइभ : डाँडाका टुप्पामा बनेका विमानस्थलदेखी यू-१९ विश्वकप छनोटमा नेपालको लगातार चौथो जितसम्म

काठमाडौं : आज नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। भृकुटीमण्डपमा रहेको फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनलाई विशेष अदालतले दोषी ठहर्याएको हो।

उता प्रधानमन्त्री पुष्पकमल दहालले विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारका दुवै काम राष्ट्रपति निर्वाचनपछि मात्रै गर्ने भएका छन्। त्यसैगरी आजै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन्।

आजका टप फाइभ

रित्तिदै पहाडी गाउँ, डाँडाका टुप्पा-टुप्पामा विमानस्थल

उकेराले आजको दिनको सुरुवात रित्तिरहेका पहाडी गाउँका डाँडाका टुप्पा-टुप्पामा बनेका विमानस्थलको कथाबाट गरेको थियो। 

पहाडी जिल्लामा मानिसहरूको बसाई घट्दासमेत विमानस्थल मात्र थप्दै जानुले पहाडमा विमानस्थलको औचित्य र आवश्यकताको पुष्टि गर्नुपर्ने बेला भएको छ।

सन्दीपलाई टिममा समावेश गर्न आईसीसीसँग क्यानले माग्यो अनुमति, आईसीसीले सोध्यो- किन?

उता नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई टिममा समावेश गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग अनुमति मागेको छ। यसको जवाफ भने आईसीसीले दिइसकेको छैन।

नाबालिग बलात्कार आरोप लागेका उनीमाथि उच्च अदालतले लगाएको विदेश जान नपाउने आदेश बदर गर्दै सोमबार सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको थियो।

नेपाल १० विकेटले विजयी, युएईलाई जिते विश्वकप खेल्ने

आजै  नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा मलेसियालाई १० विकेटले पराजित गरेको थियो। लगातार चौथो जितसँगै नेपाल आगामी वर्ष श्रीलंकामा हुने १९ वर्षमुनिको क्रिकेट विश्वकप खेल्न अब एक जितमात्र टाढा रहेको छ।

प्रदेश सरकारको गौरवको आयोजना, कर्णाली प्रदेश रंगशाला निर्माणमा सरकार नै बाधक !

आजै उकेरामा कर्णाली प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको कर्णाली प्रदेश रंगशाला निर्माणमा हाल कर्णाली प्रदेश सरकारकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयल कसरी बाधक बनिरहेको छ भनेर अर्को स्टोरी आएको थियो।

चौथो अंग : नेपाली मिडियाले सीमान्तकृत समुदायको आँशु मात्रै देख्छ र आफ्नो अखबारमा टाँसेर बेच्छ

उकेराले नियमित कोलम ‘चौथो अंग’मा आज पत्रकार राजु स्याङ्तानको अनुभव साटेको थियो। जसमा उनले नेपाली मिडियामा जहानियाँ राणा शासन कायमै रहेको बताएका थिए।

उनका अनुसार पुरानो सत्ताले सीमान्तकृत वर्गमाथि थोपरेको गलत भाष्यलाई अहिलेको मिडियाले मलजल गरिरहेको छ। सीमित जातको पुरुषले चलाएको मिडियाले उही जातको पुरुषले चलाएको सत्ता र सत्ताको लागि भएको खिचातानी बाहेक अन्य कुरा केही लेखिंदैन।

१६ फागुन, २०७९, २१:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।