वैदेशिक रोजगारीमा महिला : विदेशमा शोषण, फर्केपछि तिरस्कार

वैदेशिक रोजगारीमा महिला : विदेशमा शोषण, फर्केपछि तिरस्कार

काठमाडौं : गत आर्थिक वर्षमा मात्रै ११ हजार ४ सय भन्दा बढी नेपाली महिलाहरू कामका लागि विदेश गएको तथ्याङ्क छ। तर देशको अर्थतन्त्र धान्न विदेशमा गएर पुरुष सरह नै काम गरिरहेका अधिकांश नैपाली महिलाको अवस्था न त विदेशमा रहँदा राम्रो हुन्छ न त स्वदेश फर्किए पछि नै।

विदेशमा विभिन्न शोषणमा परेका उनीहरू नेपाल फर्किएपछि भने समाजबाटै बहिष्कृत हुनुपर्ने अवस्था छ।

कैलालीको घोडाघोडी नगरपालिकाकी मनिका चौधरीको कथा पनि यस्तै छ।

उनी दिनदिनै आफू माथि कुटपिट गर्ने श्रीमानको कुटाई खान नसकेर घरेलु कामदारको रूपमा कुवेत उडेकी थिइन्। जहाँ उनले थोरै तलबमा दैनिक २१ घण्टासम्म काम गर्ने गर्थिन्।

उनी उता काम गर्न गएकै मौका पारेर श्रीमानले भने यता दोश्रो विवाह गरे। यो खबर पाएपछि उनी नेपाल फर्किइन्। तर नेपालमा अवस्था उल्टो भयो।

दोश्रो विवाह गरेका श्रीमानले नै उनलाई विदेशमा परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाए। उनलाई न परिवारले स्विकार्यो, न त समाजले नै।

समाजले वैदेशिक रोजगारीमा गएकी महिला भनेर बहिष्कार गर्दा उनी विचलित भइन्।

अहिले आफ्नो सन्तानको जिम्मेवारी धानेर बसिरहेकी मनिका भन्छिन्, ‘वैदेशिक रोजगारीमा जाने महिलालाई हाम्रो समाजले र घरपरिवारले हेर्ने दृष्टिकोण निकै खराब रहेछ। एक हिसाबले उनीहरू समाजबाट बहिष्कार नै हुनुपर्ने अवस्था छ। देशमा त हामी महिलाहरूलाई काम गरेर खाने वातावरण छैन नै। विदेशमा काम गरेर फर्कियो, समाज र हाम्रो घर परिवारलाई लाग्छ कि हामीले ठूलो पाप गरेर फर्कियौं।’

मनिकाको पीडा यतिमा मात्र सिमित छैन। उनी विदेशमा पनि दलालको फन्दामा परिन्। कमाएको आधा भन्दा बढी पैसा दलालले खाइदिएको उनी बताउँछिन्।

उजुरी दिंदा पनि राज्यले सहज रूपमा काम नगर्दिने भएकाले बरू उनी चुपचाप बस्छु भन्ने अवस्थामा पुगेकी छन्।

उता सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भएकी जुना थापाको कथा पनि उस्तै छ।

 

दैनिक मदिरा सेवन गर्ने श्रीमानको भर थिएन। भैंसीको दुध बेचेर कमाएको पैसाले घर धानेर छोराछोरी पढाउन सक्ने अवस्था भएन। यसपछि उनी घरेलु काम कै लागि दुबई गइन्।

जुना विदेश गएपछि श्रीमानले उनलाई पोइल गएको आरोप लगाए। समाजले पनि उनी विदेश गएर अर्कैसँग विहे गरेर बसेको कुरालाई स्वीकार गरिदियो।

जुना भावुक हुँदै भन्छिन्, ‘म छोराछोरीको भविष्यका लागि विदेश गएकी थिएँ। फर्किएर आउँदा श्रीमानले पोइल गएको हल्ला फैलाएका रहेछन्। जसले गर्दा म आफ्नै घरमा पनि बस्न सक्ने अवस्था भएन। दलालबाट ठगिए पनि मसँग फेरि विदेश जानु बाहेक अर्को विकल्प भएन।’

‘अहिले म तीन पटकको लामो विदेश बसाइ पछि छोराछोरी पालेर बसिरहेकी छु। विदेश जाँदा आर्थिक हिसाबले सक्षम भएपनि समाजबाट भने धेरै हेपाई सहनु पर्ने अवस्था छ,’ उनले थपिन्।

विदेशमा छँदा शोषण

वैदेशिक रोजगारमा जाने पुरूषको तुलनामा महिला कामदारहरू कम छन्। तर पुरूषहरू भन्दा उनीहरू बढी जोखिममा छन्।

विनास्वीकृती र लुकिछिपी रोजगारीका लागि विदेश जाने महिला कामदारहरु बढी शोषणमा परेका छन्। भारतको बाटो भएर रोजगारका लागि अन्य मुलुक जानेहरु अझ धेरै जोखिममा परिरहेको पाइएको छ।

श्रम तथा रोजगार मन्त्रालयका अनुसार वैदेशिक रोजगारमा जाने महिलामध्ये ७० प्रतिशतभन्दा बढी समस्या कुनै रेकर्ड नभएका महिला कामदारको देखिएको छ। जसमा सबैभन्दा धेरै भारत हुँदै लुकेर विदेश जाने महिलाहरू छन्।

कतिपय दलालहरूले प्रेम र विवाहको समेत लोभ देखाएर महिलामाथि शोषण गर्ने गरेको तथ्याङ्क छ।

त्यस्तै, घरेलु कामदारको रुपमा विदेशीका घरमा पुग्दा उनीहरू माथि विभिन्न प्रकारको शोषण हुने गर्छ। कतिपय नेपाली महिला कामदारहरू रोजगारी पछि नेपाल फर्कंदा अनिच्छित गर्भ वा बच्चासमेत लिएर आउन बाध्य छन्।

यस्तै एउटा कथा छ नुवाकोट घर भएकी कल्पना गुरुङको। उनी आत्मनिर्भर हुने आशामा २१ वर्षकै उमेरमा कतार उडेकी थिइन्। कतारमा उनले लगभग ६ वर्ष काम गरिन्। पैसा पनि कमाइन्।

तर उमेरसँगै विहे गर्नु पर्ने दवाब घर परिवारबाट आउन थालेपछि उनी नेपाल फर्किइन्। नेपाल आएर विहे पनि गरिन्।

श्रीमानले बच्चा जन्माउने योजना बनाए। तर कल्पनाको गर्व रहन सकेन। त्यसपछि उनलाई श्रीमानसँगै परिवारले पनि हेला गर्न थाल्यो।

विदेश गएकै कारण बच्चा जन्माउन नसकेको आरोप उनलाई लाग्यो। बच्चा पाउन सक्ने आशामा धेरै हस्पिटल पुगिन्। झारफुकमा पनि विश्वास गरेर आफूले धेरै पैसा खर्च गरेको उनी बताउँछिन्।

उनी भन्छिन्, ‘विदेश गएकै कारणले मैले आफ्नो घरबाट धेरै नै अपहेलना सहनुपर्यो। बच्चा जन्माउन नसक्दा अनेक आरोपको सिकार हुनुपर्यो। यसैकारणले मैले श्रीमानलाई पनि छाडिदिएँ। जतिसुकै पीडा भएपनि अब फेरि विदेश नै जाने सोचमा छु।’

वैदेशिक रोजगारमा जाने महिलाको सङ्ख्या उच्च

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा ११ हजार ४ सय भन्दा बढी महिला विदेश गएका छन्। सबैभन्दा बढी महिला दुबई, कतार, कुवेत र मलेसिया गएको विभागका सुचना अधिकारी कृष्ण प्रसाद भुषाल बताउँछन्।

विभागका अनुसार अहिलेसम्म विदेश गएका महिलामध्ये ५७ हजार २५७ जना कुनै सीपविना नै कामका लागि त्यहाँ पुगेका थिए। जसअनुसार अदक्ष रूपमा विदेश जाने महिलाको संख्या ५८.८४ प्रतिशत रहेको छ।

कामका लागि विदेश जाने महिलाहरूमा राजधानी काठमाडौं र यसका वरपरका जिल्लाका धेरै छन्। काठमाडौं र वरिपरिका ६ जिल्लाबाट मात्रै ५१ प्रतिशत महिला वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्क छ।

१ फागुन, २०७९, १६:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।