इन्टरनेटकाे प्रभावले घट्दैछ किताब पढ्ने बानी, साहित्यिक पुस्तकको बजार पनि खस्कँदो

इन्टरनेटकाे प्रभावले घट्दैछ किताब पढ्ने बानी, साहित्यिक पुस्तकको बजार पनि खस्कँदो

काठमाडाैंः परापूर्वकाल देखि नै पुस्तकको महत्व कति छ भनेर कसैबाट छिपेको छैन। पुस्तकले ज्ञान मात्रै दिँदैनन, मनोरञ्जन पनि दिन्छ। इतिहास मात्रै सिकाउँदैन, भविष्यका बारेमा पनि जागरुक गराउँछ।

वर्तमान अनुसन्धानले त यहाँसम्म देखाएकाे छ कि पुस्तकले मानसिक सन्तुनलन कायम राख्न पनि सहयोग पुर्याउँछ। पुस्तकका सहायताले मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग गर्नेहरुलाई बिब्लियोथेरापिस्ट भनिन्छ।

बिब्लियोथेरापिस्टहरु भन्छन्, ‘उचित कथा पढ्न पाइयो भने त्यसले हामीलाई फुर्तिलो बन्न सघाउँछ। पुस्तकले नै हामीलाई संसारलाई हेर्ने दृष्टिकोण पनि दिन्छ। चलचित्र हेर्नु अथवा मोबाइलमा टिकटक हेर्नु अथवा टीभीमा सिरियल हेर्नु भन्दा पुस्तक पढ्नुले दिमागलाई चलायमान बनाउँछ। किनभने स्क्रीनमा दृश्यहरु हेर्दा दिमागले कल्पना गरिरहनु पर्दैन। तर पुस्तक पढ्दा पुस्तकमा लेखिएका कुराहरुलाई दृश्य रुपमा आफैंले कल्पना गर्नुपर्छ। त्यसैले पुस्तक पढ्ने काम मानसिक स्वास्थ्यका लागि सबैभन्दा उपयुक्त उपचार हो।’ 

सबै पुस्तक उस्तै हुँदैनन्। कुनै-कुनै पुस्तकहरु पाठकका लागि हानिकारक पनि हुन्छन्।

साम्प्रदायिक भावना जगाउने पुस्तकहरु, अश्लील साहित्यले भरिएका पुस्तकहरु, गलत तथ्यांक सिकाउने पुस्तकहरु र इतिहासलाई गलत ढंगले व्याख्या गरेका पुस्तकहरु हानिकारक पुस्तकको श्रेणीमा पर्छन्। तर तिनको संख्या ठूलो छैन।

समग्रमा पुस्तकहरुको सन्देश सकारात्मक नै हुन्छ। तर कुन उपयोगी हो र कुन उपयोगी होइन भन्ने निर्णय भने पाठकले गर्न सक्नुपर्छ।

पुस्तकको महत्त्वका बारेमा प्रकाश पार्दै ग्रीक दार्शनिक हेराक्लिट्स भन्छन्, ‘उपयोगी पुस्तक पढ्नु भनेको सफा पानी भएको नदीमा नुहाउनु जस्तै हो।’ 

जसरी नुहाउँदा स्फूर्ति मिल्छ उसरी नै पुस्तक पढ्दा पनि हामीलाई नयाँ स्फूर्ति र ज्ञान मिल्छ। तर बजारमा प्रेम र यौनको सम्मिश्रण भएका पुस्तकहरुको माग बढ्ता छ। जसलाई राम्रो संकेत मान्न सकिन्न।

यहाँ त पाठकलाई आत्मविश्वास जगाउने र मानसिक तृप्ति दिने खालका पुस्तकहरु चाहिएका छन्। रुढिवादले ग्रस्त भएको यो समाजमा रुढिवादबाट मुक्ति दिलाउने खालका पुस्तकहरुको अभाव छ।

सम्पूर्ण पुस्तक भण्डार, नारायणघाटका लेखराम सापकोटा भन्छन्, ‘यहाँ अग्निदहन जस्ता सामाजिक रुढिवादका विरुद्ध लेखिएका पुस्तकको तुलनामा केटाकेटीका प्रेम कहानीमा लेखिएका पुस्तक बढ्ता बिक्छन्।’ 

‘साहित्यिक पुस्तकको बजारले विस्तारै गति लिँदैछ। अहिले जीवनीका पुस्तकले पनि बजार लिएका छन्। यस्तो लाग्छ कि पाठकहरु नौलो स्वाद खोजिरहेका छन्,’ उनी थप्छन्।

कुनै पनि समाजको सभ्यता बुझ्नु छ भने त्यो समाजमा चलेका पुस्तक पढ्नुपर्छ। पुस्तकले इतिहास मात्रै बोल्दैन सामाजिक रहनसहन र त्यो समाजको मानवीय स्वभावका बारेमा पनि बोल्छ।

तर अहिलेको समाजमा पुस्तकप्रतिको क्रेज विस्तारै घट्दै गएको छ। पाठकको पुस्तक पढ्ने समयलाई वर्तमानमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक आदिले खाइदिएका छन्। अनलाइन पत्रिकाहरुले पनि आगोमा घ्यू थप्ने काम गरेका छन्।

पोखरा हिमालयन रिडर्स कर्नरका संचालक विजय भण्डारी भन्छन्, ‘पोखरा साहित्यको उद्गमस्थल हो। यहाँ समय-समयमा हुने लिटरेचर फेस्टिबलले पुस्तक बजारलाई तताउने गरेको छ। तर पनि पुस्तक बजार केही वर्ष अगाडिको जस्तो छैन। विशेष गरेर बिक्ने भनेका उपन्यासहरु हुन्। त्यसपछि बिब्लियोग्राफीका पुस्तकहरु बिक्न थालेका छन्। प्रायः पाठकहरु पुरस्कृत भएका कृति किन्न रुचाउँछन्।’ 

उता बुक रिडर्स होम बुटवलका महेश घिमिरे भन्छन्, ‘पुस्तक बजारले खासै प्रगति गरेको छैन। पुस्तक बेचेर मात्रै जीवनयापन गर्न नसकिने अवस्था आएको छ। मेरो त आफ्नै साहित्यिक सर्कल भएका कारणले जेनतेन चलिरहेको छ। पुस्तक व्यापारमा कमी आउनुका पछाडिको मुख्य समस्या भनेको इन्टर्नेट हो जस्तो लाग्छ।’ 

पुस्तक पढ्न रुचाउने अस्मिता भण्डारी भन्छिन्, ‘म पुस्तक पढ्न रुचाउँछु। पहिलेपहिले त निकै पुस्तक पढ्थें। तर अचेल भने पुस्तक पढ्दै जाँदा मनलाई मोबाइलमा आएको नोटिफिकेशन तथा घण्टीले डाइभर्ट गर्छ। अनि समय मोबाइलमै बित्छ। एकै दिनमा पढ्न सकिने एउटा सानो पुस्तक पढिसक्न पनि हप्ता दिन लाग्छ।’ 

अस्मिता जस्ता पाठकहरु यो समाजमा धेरै छन्। सबैलाई उही समस्या छ। पढ्ने समय जति इन्टर्नेटले खाइदिन्छ। यदि यो समस्या यसरी नै बढ्दै जाने हो भने पुस्तक जति नै राम्रा भए पनि तिनलाई बजार लिन गाह्रो हुन्छ। 

पुस्तकका बारेमा बुझ्दै जाँदा सुनवर्षी पुस्तक पसलका संचालक तारानिधि रेग्मी अत्यन्त भावुक बन्दै भन्छन्, ‘अहिलेको पुस्तक बजार ध्वस्त नै भएको छ। दुई वर्ष अगाडिदेखि कोरोनाका कारण क्षतिग्रस्त भएको पुस्तक बजारले थोरै भने पनि टाउको उठाउँछ कि भन्ने आश थियो। त्यो पनि मरेर गयो। पुस्तक लेख्ने सोचमा हुनुहुन्छ भने अगाडि नसर्नु भए हुन्छ। अलिकति चलेका भनेका साहित्यिक कृतिहरु हुन्। तर इन्टरनेटको प्रभावले त्यसलाई पनि धराशायी बनाएको छ। उधारो बजार आजको मुख्य समस्या हो। यहाँ मानसिक आत्मदाहले जलिरहेका धेरै प्रकाशहरु छन्।’ 

१६ माघ, २०७९, १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।