निर्मला कुर्मी हत्या प्रकरण : ‘पूर्व सभासद् बादशाहलाई पक्राउ नगरेसम्म आन्दोलन राेकिँदैन’

निर्मला कुर्मी हत्या प्रकरण : ‘पूर्व सभासद् बादशाहलाई पक्राउ नगरेसम्म आन्दोलन राेकिँदैन’

काठमाडाैंः गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी हत्या प्रकरणका विषयमा थप अनुसन्धान गरी सत्यतथ्य प्रतिवेदन पेस गर्न प्रहरीलाई निर्देशन दिइसकेका छन्। तर निर्मला कुर्मीकाे न्यायकाे लागि आन्दोलन गरिरहेकी मुख्य अभियान्ता रूवी खानले भने पीडकलाई सजाए नभएसम्म आफूहरू विश्वस्त हुन नसक्ने बताएकी छन्।

उनी भन्छिन्, ‘तीन पटक सरकार फेरियो। सबैले आश्वासन मात्र दिन्छन्। हामी गर्छौं भन्छन्। तर कसैले केही गरेको देखिदैन। हाम्रो माग सरकारले उक्त मुद्दा अदालतसम्म पुर्यायोस् भन्ने हो। प्रमाण पुगेन भन्दैमा पीडितको मुद्दालाई ढाकछोप गर्न पाइँदैन। रवि लामिछानेले दुई पटक फोन गरिसक्नु भयो। तर हामी न्याय नपाउन्जेल आन्दोलन गर्न छोड्दैनौं।’ 

केही समयदेखि माइतीघरमा चरणवद्ध रूपमा आन्दोलन गरिरहेका यस टोलीले सरकारले आश्वासन दिएको भरमा आफूहरूले आन्दोलन गर्न नछाड्ने बताएका छन्।

गृह मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफलमा मन्त्री लामिछानेले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई उक्त निर्देशन दिएको उनको सचिवालयले जनाएको थियो।

सचिवालयका अनुसार प्रहरी अनुसन्धानको अहिलेसम्मको रिपोर्टबारे जानकारी लिएसँगै गृहमन्त्री लामिछानेले निर्मला कुर्मीको न्यायका लागि अनसनरत महिला अधिकारकर्मी रूवी खानलाई टेलिफोन गरी धर्ना स्थगन गरेर अनुसन्धान सहज बनाइदिन पनि आग्रह गरेका छन्।

को हुन् निर्मला कुर्मी?

नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुरकी निर्मला कुर्मी सम्पन्न घरकी एकल महिला हुन्। मधुमेहबाट ग्रसित निर्मलाका श्रीमान् महलु कुर्मीकाे २०६२ सालमा निधन भएकाे थियाे। यसपछि उनको ४ बिघा १० कट्ठा जग्गामा भू–माफियाको नजर परेको थियो। 

श्रीमानको मृत्यु भएपछि उनी आफ्ना छोराहरूलाई सम्हालेर परिवार चलाइरहेकी थिइन्। यस्तैमा, २०६६ मंसिरमा १० दिनको फरकमा उनका दुवै छोरा राम सागर र सुरेशको पनि रहस्यमय तरिकाले मृत्यु भएको थियो। 

जग्गा जमिन प्रशस्त भएको कारण उनको सम्पत्तिको लोभमा बादशाह कुर्मी नामका एक व्यक्तिले आँखा लगाएकाे  बताइएकाे छ। बादशाहले भू–माफियाको संलग्नतामा निर्मलामाथि विभिन्न किसिमका यातना दिएको नेपाल महिला मञ्च बाँकेकी केन्द्रीय सदस्य सकिना तेली बताउँछिन्।

उनले भनिन्, ‘निर्मलाको घटनालाई लिएर सम्बन्धित निकायमा पटक-पटक हारगुहार गर्दा पनि कुनै पहल भएन। उनलाई अपहरण गर्दै पटक-पटक बलात्कार गरिन्थ्यो। यातना दिइन्थ्यो। एकपटक त उनलाई हामीले बादशाह कुर्मीको घरबाट उद्धार पनि गरेका थियौं। तर बादशाहको आक्रमण रोकिएन। उनले जिउ ज्यानको सुरक्षाको निम्ति पनि प्रहरीमा पुनः जाहेरी लेखाएकी थिइन्। तर प्रहरीमार्फत् पनि कुनै सुनुवाइ भएन। त्यसपछि निर्मलाको पुनः अपहरण भयो र उनको हत्या भयो।’ 

को हुन् बादशाह कुर्मी?

कांग्रेसका जिल्लास्तरीय नेता एवं २०६४ को संविधानसभा सभासद् समेत रहेका बादशाह कुर्मी बेपत्ता गरिएको भनिएकी निर्मला कुर्मीका छिमेकी हुन्। उनी नेपालगञ्ज नगरपालिकासँग जोडिएको साबिक परस्पुर गाविसका दुईपटक निर्वाचित भइसकेका अध्यक्ष पनि हुन्।

बादशाह सभासद् रहेकै बेला उनले २०६६ सालमै पुत्र वियोगमा रहेकी निर्मलाको जग्गाको लालपुर्जा जबर्जस्ती खोसेर आफूसँग राखेका थिए। यही आधारमा निर्मलाको सम्पत्ति नामसारी गराउन देखि उनलाई बेपत्ता बनाएको आरोपसम्म बादशाहलाई लागेकाेे छ।

बाँकेका एमाले नेता आईपी खरेलका अनुसार मानवअधिकारकर्मी, स्थानीय र बुद्धिजीविहरूको तीव्र दबाबपछि बादशाहले निर्मलाको जग्गाको लालपूर्जा, नागरिकता आदि बाँके जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए।

अधिकारकर्मी खान पूर्व सभासद् बादशाहको योजनामा निर्मलाको जग्गा हडप्ने काम भएको बताउँछिन्।

‘निर्मलालाई अपहरण गरेर जानकी गाउँपालिकाको मानपुरमा रहेको रमेश थापाको प्लाइउड उद्योगमा बन्धक बनाएर राखिएको थियो। त्यसपछि तमसुक बनाएर मालपोतका हाकिमहरू समेतको मिलेमतोमा जग्गा नामसारी भएको हो। यो सबैमा बादशाहको ठूलो हात छ। तर हामी आन्दोलनरत रहदाँ पनि ऊ निस्फ्रिक्री हिंडिरहेको छ,’ उनले भनिन्।

बादशाहलाई प्रहरी र सरकारले नै संरक्षण दिएको भन्दै १५ जना महिलाहरूले अहिले माइतीघरमा आन्दोलन जारी राखेका छन्। गृहको छानविन प्रतिवेदन कार्यान्वयन र बादशाहलाई पक्राउ गर्न माग गर्दै उनीहरू मंसिर ९ गते हिंडेरै काठमाडौं आए थिए। त्यसयता उनीहरूले माइतीघरमा निरन्तर धर्ना दिइरहेका छन्।

यस घटनाको मुख्य आरोपी बादशाह पक्राउ नपरेसम्म आफूहरू माइतीघरमा धर्ना दिइरहने रूवी खान बताउँछिन्।

उनी भन्छिन्, ‘निर्मला कुर्मीलाई कुटपिट गर्ने, उनको जग्गा हडप्ने, उनलाई अपहरण गर्ने र उनको हत्यामा संलग्न बादशाह कुर्मी हुन् भनेर सरकारी प्रतिवेदनमा नै उल्लेख छ। बादशाहलाई पक्राउ नगरेसम्म हामी आन्दोलन गरिरहने छौं। कसैको आश्वासनमा विश्वस्त हुने अवस्था छैन।’

२५ पुस, २०७९, १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।