२५ वर्षदेखि कागजसँग जोडिएका टीकारामको अनुभव : प्रिन्ट मिडियाले जाेगाएकाे थियाे, लकडाउनपछि खत्तम भाे

२५ वर्षदेखि कागजसँग जोडिएका टीकारामको अनुभव : प्रिन्ट मिडियाले जाेगाएकाे थियाे, लकडाउनपछि खत्तम भाे

देशभर चुनावले गर्दा चहलपहल बढिसक्यो। चाहे गाउँ होस् या शहर सडकमा चुनावी गीतको चिच्चाहट फैलन थालिसक्यो। तर, अनामनगरमा रहेको टीकाराम श्रेष्ठको ‘मध्येपुर नाइन’ प्रेसमा भने चहलपहल देखिँदैन।

पाँच वर्षअघिको चुनाव अगाडि देखिएको चहलपहल र व्यस्तता यसपटक देखिँदैन उनको पसलमा। अहिले प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा मात्र नभएर यसअघि भएको स्थानीय तहको चुनावमा पनि उनको पसलमा सन्नाटा छाएको रहेछ।

चुनावको समयभर चुनावी सामानहरू मात्र छाप्ने गरेको श्रेष्ठको प्रेसले यसपटक भने तुलनात्मक रूपमा दश प्रतिशत पनि चुनावको सामानहरू छापेन। किन?

‘पहिलाको जस्तो ठूलो–ठूलो पोस्टरहरू यसपटक छाप्न नपाउने रहेछ, रंगिनमा पनि धेरै छाप्न परेन, सानो–सानो अपिलहरू अनि एक/दुई वटा घोषणा पत्र मात्र छापेको हो यसपाली,’ उनले भने, ‘अघिल्लो चुनावहरूमा त गजबले व्यापार हुन्थ्यो, यसपाली खै के भएर हो त्यस्तो हुन सकेन।’

यसपटक जति पनि सामानहरू छाप्न आयो, उनको प्रेसले त्यो छापेर पनि भ्याइसक्यो। चुनावको समयमा यसरी छिट्टै काम सकेर बस्नु परेको पहिलो पटक भएको समेत उनले सुनाए।

‘यसपाली चुनावमा हाम्रोमा मात्र होइन अरु प्रेसमा पनि खासै चहलपहल छैन,’ उनले भने।

त्यसबाहेक अरु समय भने उनको प्रेसमा किताब, त्यसको कभर, पत्रपत्रिका, क्यालेन्डर, बिलहरू अनि म्यागेजिनहरू छापिन्छ। कसैले तपाईंको प्रेसमा के–के छापिन्छ भन्दा उनि हतार–हतार जवाफ दिन्छन्, ‘जे होस् कागजको हरेक चिज छापिन्छ।’

विगत २५ वर्षदेखि प्रेसमा काम गर्दै आएका श्रेष्ठले साथीहरूसँग मिलेर आफ्नै प्रेस खोलेको भने ११ वर्ष भयो।

‘हामी तीन जना पहिला छुट्टा–छुट्टै प्रेसमा काम गर्थ्यौं,’ उनले भने, ‘अनि मिलेर आफ्नै किन नगर्ने त? भनेर छलफल गरेर आफ्नै प्रेस खोलेको।’

उनको घर भने थिमीमा हो। विहान सबेरै उठ्ने, अनि दिनभरी प्रेसमा बसेर बेलुका फर्कने उनको दैनिकी हो। टोलका साथीहरू पनि उनको प्रेसमा जोडिएको हुँदा उनलाई केही सहज भने भएको छ रे!

उनको प्रेसमा अहिले कामदार सबै गरेर १० जना जति छन्।

‘मेसिन र कागजले मात्र प्रेस नचल्ने रहेछ’ 
साथीहरू सबै जोडिए सँगै उनीहरूको प्रेस खुल्यो। तर, सबैले अगाडि कामदार भएर काम गर्दै आएकोमा कम्पनीको व्यवस्थापन कसरी गर्ने भन्ने थाहा थिएन।

‘धेरै मिहेनत गर्नुपर्यो। एकै चोटी त गर्न सकिएन। सबै बिस्तारै भयो। आज एउटा सामान ल्यायो अनि काम गर्यो। पैला त पैसाकै जोहो गर्न गाह्रो भयो,’ प्रेस खुलेको समय स्मरण गर्दै उनी भन्छन्, ‘मेसिन पनि अरुको किनेर गरेको। अगाडि देखि नै सबै तयारी नै भएन। त्यतिबेला मेसिन आयो अब प्रेस चल्यो भन्ने सोच थियो, तर त्यो होइन रहेछ।’

कटिङ्ग र पेस्टिङ्ग गर्ने जम्मा दुई वटा मेसिन राखेर खोलेको प्रेसमा अहिले सात वटा मेसिन छ। धेरै मिहेनत गर्नुपर्दा त प्रेस नै छोडौं कि क्या हो! भन्ने पनि लाग्दो रहेछ उनलाई।

‘तर, प्रेस खोलिसकेपछि गर्नैपर्छ भनेर गरियो। बाध्यताले पनि गर्नैपर्यो,’ उनले थपे, ‘पछि बिस्तारै प्रेसमा कामहरू आउन थाल्यो, सबैभन्दा पहिला ‘अपाङ्ग आवाज’ भन्ने म्यागेजिन छापियो, बिस्तारै अर्डर आएसँगै सामानहरू किन्न बजार पुगिहाल्नु परेन।’

उनका अनुसार सबैभन्दा राम्रो कागज भनेको ‘आर्ट पेपर’ र ‘म्याट पेपर’ हो। सबैभन्दा महँगो चाहिँ तीन सय ग्राम आर्ट पेपर भन्ने हुन्छ। त्यसको तौल अनुसार र क्वालिटी अनुसारको मूल्य पनि फरक हुन्छ।

मूल्यवृद्धि बढेकाले अहिले कागजको भाउ किलोको २५० रुपैयाँसम्म छ। बजारमा कागजको कमी भएर पनि महँगो भएको उनले बताए। यस्ताे हुँदा कुनै ग्राहकले कागज आफैँ ल्याउने गर्छन्। त्यसो भएमा प्रेसको मात्र चार्ज लिन्छन् टीकाराम।

प्रेसमा सबैभन्दा धेरै छपाइ हुने समय भनेको नयाँ वर्षको क्यालेन्डर आउने समयमा हो। त्यसपछिको बाँकी समय भने धेरै काम हुँदैन। अहिले प्रेसमा छपाइ पनि कम हुँदै गएको उनी सुनाउँछन्।

‘काम थोरै छ तर रोकिएको छैन, जबसम्म रोकिँदैन तबसम्म आफू पनि खटेर गर्ने हो,’ लगानीअनुसार आम्दानी गर्न गाह्रो भएको उनले सुनाए, ‘राम्रोसँग काम भयो भने दिनमा २५ हजारसम्म आम्दानी हुन्छ, नत्र १०/१२ हजारसम्म हुन्छ, कहिले त्यो पनि हुँदैन।’

‘प्रिन्ट मिडियामा कमी आउँदा प्रेसको काम घट्यो’

पछिल्लो समय प्रिन्ट मिडियाहरू अनलाइनमा जान थाले। उनको प्रेसमा लकडाउन अघिसम्म ३५/४० वटासम्म पत्रपत्रिका र म्यागेजिन छापिन्थ्यो। तर, अहिले आठवटा पत्रिका र चारवटा म्यागेजिन छापिन्छ।

‘अहिले साप्ताहिक पत्रिकाहरू हो अलि–अलि छापिने, पहिला त दैनिक पनि थियो,’ उनले भने, ‘नत्र त दैनिक पत्रिका छापेर हामीलाई पुग्थ्यो, त्यहि भएर मिडियाहरू फेरि प्रिन्टमै आइदियो हुन्थ्यो जस्तो लाग्छ।’

भक्तपुरमा जन्मिएका मानन्धर सानैदेखि खेतीपातीको माहोलमा हुर्किए। उनले पनि खेतीपातीको काम गरे। एसएलसीसम्म पढेका उनले त्यसपछि जागिरलाई प्राथमिकता दिए। 

उनले सुनाए, ‘एसएलसीपछि पनि केहि समय त खेतीपाती नै गरे। अनि जागिर गर्नुपर्छ भन्ने भयो। त्यतिखेर जागिर खानु भनेको त ठूलो कुरा थियो नि!’

पछि छिमेककै केही दाइहरूले प्रेसमा काम गर्ने हुँदा उनी पनि त्यसमा जोडिए। २१ वर्षको हुँदा ‘पारु प्रेस’का जागिरे भए उनी। तलब थियो मासिक १५ सय रूपैयाँ। मा जागिर खाए।

‘सुरुमा त नेगेटिभ, पोजेटिभ बनाउने, पेस्टिङ्ग गर्ने काम गरेँ, त्यो पनि हातैले,’ उनले सम्झिँदै भने, ‘मैले प्लेटहरू पनि बनाउनुपर्थ्यो, त्यो बेलामा प्रेसमा काम गर्ने भनेपछि छुट्टै इज्जत थियो, अहिले त खासै छैन।’

उनले त्यहाँ १६ वर्ष काम गरे। त्यहिबीचमा कान्तिपुर दैनिकमा पनि दश वर्षजति काम गरे। दिउँसो पारु प्रेस र बेलुका कान्तिपुरमा उनको काम हुन्थ्यो। पछि आफ्नै प्रेस खोल्ने भएपछि दुवै जागिर छाडे उनले।

बच्नसक्ने अवस्थामा प्रेस
आफ्नो र अरुको काम गर्दा फरक त हुने नै भयो। उनलाई अरुको काम गर्नेभन्दा पनि आफ्नो काम गर्न गाह्रो लाग्यो रे।

‘आफूले खोलेपछि जिम्मेवारी पनि बढि हुने रहेछ, अरुको काम गर्दा त बरु एउटै काममा मात्र ध्यान दिँदा हुन्थ्यो,’ उनले भने, ‘बजार विस्तार कसरी गर्ने?, भाडा कसरी तिर्ने? तलब कसरी खुवाउने सबैमा ध्यान दिनुपर्ने भयो नि!’

प्रेसमा दक्ष जनशक्ति अभाव हुँदा काम गर्न गाह्रो भएको उनको अनुभव छ। अदक्ष जनशक्ति पनि काम गर्न आएको केही दिनमा गइहाल्ने भएकाले समस्या भोग्नुपरेको उनको गुनासो छ। मेसिन, कम्प्युटर जस्ता प्रविधिहरूका कारण पछिल्लो समय प्रेसमा मानिसको आकर्षण कम भएको उनको ठम्याइ छ।

यद्यपि, लकडाउनको बेलामा अन्य क्षेत्रमा असर गरे पनि प्रेसमा असर नगरेको उनले सुनाए। कागज सस्तोमा पाउँदा अन्य बेलाभन्दा त्योबेला काम गर्न धेरै सहज भएको उनी सुनाउँछन्।

‘कागज पनि सस्तो थ्यो, सबै म्यानेज हुन्थ्यो, लकडाउनको समयमा त केहि असर गरेन,’ उनले भने, ‘गाह्रो त लकडाउन पछि पो भयो त !’

लकडाउनपछि धेरै पत्रिका बन्द हुँदा आफ्नो व्यापारमा प्रत्यक्ष असर परेको उनको अनुभव छ। त्यो बेलादेखिको समस्या अहिले पनि उस्तै भएको उनी बताउँछन्।

जीन्दगीको आधाभन्दा बढि समय प्रेसमै जोडिएका उनी सक्ने बेलासम्म यसैलाई निरन्तरता दिने सोचमा छन्। अहिले कमाउनेभन्दा पनि बचाउने सोचमा लागेकाले केही कर्मचारी कटौती पनि गरेका छन् उनले। पहिला १७ जना कामदार रहेकोमा अहिले सात जनाले धानिरहेका छन् प्रेस।

‘हेरौं के हुन्छ ? एक दुई वर्ष सहेर काम गरौँ न ! गाह्रो त गाह्रो नै हुन्छ,’ उनले भने, ‘कम्पनी चलाउनका लागि मात्र भए पनि काम गर्नुपर्छ, बचायो भने बच्ने अवस्थामा भएर छाड्न माया लागेको छ।’

१६ जनाको परिवारमा बस्दै आएका उनी दाजुभाइमध्ये साइँला हुन्।

२८ कात्तिक, २०७९, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।