जनैपूर्णिमाको समाजशास्त्रीय महत्व

जनैपूर्णिमाको समाजशास्त्रीय महत्व

साउनलाई पर्व सुरु हुने महिनाको रुपमा चिनिन्छ। नेपाली समाजमा जात्रा, चाड-पर्वहरु यसै महिनादेखि सुरु हुन्छन्। जस्तै: नागपञ्चमी, जनैपूर्णिमा, गाईजात्रा, दशैं, तिहार इत्यादि। यसै सन्दर्भमा यहाँ जनैपूर्णिमाको विषयमा केही चर्चा गरिन्छ।

नेपाली समाज कृषि प्रधान मुलुक हो। हरेक चाडपर्व, जात्राहरु खेतीपातीको काम सकेर  खाली समयमा मनाइन्छ। पूर्वजहरुले बनाएका कतिपय चलनहरु वैज्ञानिक र तर्कपूर्ण रहेका छन्। केही पुराना परम्पराहरुले समाजलाई खोक्रो बनाए पनि जनैपूर्णिमा जस्ता पर्वले समाजमा मेलमिलाप, एकता, सदभाव र सदाचार कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। 

यस्तै चाडपर्वहरुमध्ये जनैपूर्णिमा वा रक्षाबन्धन पनि हो। क्षेत्री, बाहुन समुदायका पुरुष सदस्यले यसै दिन जनै फेर्ने हुनाले यसलाई जनैपुर्णिमा भनिन्छ। साथै यसै दिन ब्राह्मणहरुद्वारा हातमा पवित्र डोरो बाँध्ने गरिन्छ। यस पवित्र डोरोले रोग,भय इत्यादीबाट रक्षा गर्छ भन्ने जनविश्वास रहेको छ।

जनैपूर्णिमाकै दिन विभिन्न गेडागुडी मिसाएर बनाएको “क्वाँटी ” खाइन्छ । नेपाल भाषामा “क्वा” को अर्थ तातो र “टी” को अर्थ झोल भन्ने हुन्छ। त्यसैले  कसै-कसैले यसलाई क्वाँटी पूर्णिमा पनि भन्छन्।

क्वाँटी ९ प्रकारका गेडागुडी मिलाएर तयार पारिन्छ। यो एक स्वस्थकर खानाको रुपमा परिचित छ। यसमा शरीरलाई अत्यावश्यक विभिन्न प्रकारका तत्वहरु प्रशस्त मात्रामा पाइन्छ। असारको पानीमा भिजेर काम गर्दाको थकाई र सर्दीलाई क्वाँटीले ठिक पार्छ भनी बुढापाकाहरु बताउँछन्।  क्वाटीले रुघाखोकीबाट पनि बचाउँछ। 

यसै दिन देशका विभिन्न मन्दिर तथा कुण्डहरुमा मेला लाग्छ। विशेष गरी रसुवाको गोसाइकुण्ड, पाटनको कुम्भेश्वर, दोलखाको चरिकोट आदि मन्दिरहरुमा मेला लाग्ने गर्छ।  हिन्दुधर्मालम्वीहरु बिहानै तलाउ कुण्ड,पोखरी, नदीमा गएर नुहाएर चोखो लुगा लगाई  पूजापाठ गर्ने गर्छन्। जनै फेर्ने, डोरो बाँध्ने जस्ता कार्यहरु यसै दिन गरिन्छ। 

रक्षाबन्धनको अर्थ “रक्षार्थ बन्धनम्” वा सुरक्षाको लागि बाँधिने पवित्र धागो भन्ने बुझिन्छ। यस्तो धागो ब्राह्मणहरुले विभिन्न मन्त्रद्वारा अभिमन्त्रित गरिएको हुन्छ र डोरो बाँध्ने क्रममा पनि विभिन्न मन्त्र पढ्दै दाहिने हातमा बाँधिन्छ।

यस दिन  धागो बाँध्नाले मानिसलाई वर्षभरि दुर्घटना,जोखिमहरुबाट बचाउँछ भनिन्छ। यस परम्पराको सुरुवात महर्षी दुर्बासाले गरेको शास्त्रीय मान्यता छ। दुर्बासाले पहिले श्रावणकी अधिष्ठात्री देवीद्वारा ग्रहदृष्टि निवारणका लागि रक्षाबन्धन सुरु गरेका थिए। हाल आएर विभिन्न जातजातिका मानिसले आफनो रक्षाको लागि डोरो बाँध्ने गर्छन्। 

रक्षाबन्धनको दिन रातो, पहेलो विभिन्न रङका डोरो बाँध्ने गरिन्छ। गाउँघरतिर आफ्नो कमाएको पण्डितहरुले जजमानका घरघरमा गएर पवित्र धागो बाँध्ने र जनै फेर्ने कार्य गर्छन् तर शहरी समाजमा विभिन्न मन्दिरका वरपर बसेर ब्राह्मणहरुले यी विधि कार्य गर्ने गर्छन्। 

रक्षाबन्धन पर्वसँग बलि राजाको कथा पनि जोडिएका छ। बलि राजा धेरै शक्तिशाली थिए जसले गर्दा उनले देवताहरुलाई पनि दुःख दिन थाले। बलि राजाको बदमासीलाई नियन्त्रण गर्न भगवान विष्णुले वामन रुप धारण गरी भिक्षु भई बलि भए ठाउँमा जान्छन् र उनीसँग पाइला जमिन माग्छन्।

बलि राजाले घमण्डका साथ जाबो तीन पाइला त हो नि भनी दिन्छु भनेर वाचा गरे। भगवान विष्णुले यसै क्रममा छल गरी बलि राजालाई रक्षासूत्रको बन्धनबाट  बचनवद्ध गरे। विष्णुको एक पाइलाले पृथ्वी र अर्को पाइलाले आकाश ढाक्यो। तब विष्णु तेस्रो पाइला जमिन मागे तब बलि राजा बचनबद्ध भएको हुनाले उनले आफ्नै शीरमा  राख्न लगाए।

भगवान विष्णुको पाउ बलि राजाको शीरमा परेपछि उनी पातालमा पुगे। यसरी विष्णुले देवताहरुको रक्षा गर्नुभएको थियो। यसरी रक्षाबन्धनको सुरुवात भएको मानिन्छ। त्यसैले रक्षाबन्धनमा डोरो बाँध्ने बेलामा निम्न मन्त्र पढिन्छ। 
येन बद्धो बलि राजा दानवेन्द्रो महाबलः।
तेन त्वं प्रतिबध्नामि रक्षे मा चल मा चल।।

नेवारी परम्परामा यसै दिन भ्यागुतालाई पूजा गरी खेतमा खाना खुवाउन लगिन्छ। जसलाई नेवार समुदायले “व्याँजा  नकेगु”  भन्छन्। भ्यागुताले कराउँदा इन्द्रले पानी पार्ने र खेतीपाती राम्रो हुने हुनाले किसान समुदायले जनैपूर्णिमामा आफूले मात्र नखाई  भ्यागुतालाई पनि खाना खुवाउने गर्छन्। त्यसैले खेती किसानी गर्ने मानिसहरुको लागि यो महत्वपूर्ण पर्वको रुपमा मानिन्छ। आफू पनि बाचौँ अरुलाई पनि बचाउँ भन्ने मान्यता  नेपाली परम्परा, धर्म,  संस्कृति र रितिथितिमा आज पनि जीवन्त रहेको छ।

जनै पूर्णिमाको भोलिपल्ट आफ्ना मरेका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइन्छ। गाईजात्रा पर्वको सुरुवात प्रताप मल्लले गरेका थिए। उनले आफना छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि शोकमा डुबेकी रानीलाई सम्झाउन “तिम्रो मात्र छोरा मरेको होइन अरु मानिसका पनि आफन्त मरेका छन्, जन्मनु र मर्नु भनेको एउटा प्रकृतिको नियम नै हो  शोक नगर भनी” देखाउन गाईजात्रा पर्वको सुरुवात गरेका थिए।

राजाले  वर्षभरि मरेका व्यक्तिहरुको नाउँमा गाई बनाई निकाली शहर घुमाउने आदेश दिए। रानीलाई खुसी पार्न गाईको अगाडि पछाडि विभिन्न किसिमका हाँस्य व्यंग्य प्रहसन गरी निकालेको गाईजात्रा हेरेपछि रानीको चित बुझ्यो। त्यसपछि हरेक वर्ष यो पर्व मनाउने परम्परा कायम रह्यो।

यो पर्वलाई हाँस्यव्यंग्य र श्रद्धन्जलीको पर्वको रुपमा मनाइन्छ। यस पर्वमा बाँसका गाई बनाई यसलाई सजाएर मृतकको फोटो राखेर शहर परिक्रमा गर्ने चलन छ। कसैकसैले गाईलाई नै विभिन्न आभुषण लगाइदिएर  शहर घुमाउने गर्छन्। कसैकसैले साना बाल बालिकालाई शिव-पार्वती बनाई विभिन्न बस्त्र, गरगहना लगाई चमर हम्कँदै नगर परिक्रमा गर्ने गरेको पनि देखिन्छ।

हाल यसमा पनि आधुनिकताले छोप्दै आएको देख्न सकिन्छ। आर्थिक रुपमा सम्पन्नहरुले माटोको साँढे बनाई त्यसलाई सुनौलो रङमा सजाएर फूलमाला लगाई भजन-कीर्तन गर्दै  शहर घुमाउने गर्छन्। यसरी गाईजात्रामा पनि विस्तारै विकृतिले जरा गाड्दै गएको देख्न  सकिन्छ। हाल आएर गाईजात्रामा समेत व्याण्ड बाजा प्रयोग गरेको देखिन्छ।

गाईजात्रा विशेषगरी काठमाडौं, भक्तपुर, ललितपुरमा मनाइन्छ। यसमध्ये पनि भक्तपुरको गाईजात्राको विशेष महत्व रहँदै आएको छ। यहाँका गाईजात्रामा बाँसको गाई बनाई त्यसलाई विभिन्न किसिमको वस्त्र आभुषण पहिराएर सजिसजाउ गरी धिमे बाजा बजाउँदै नाच सहित शहर घुमाउने गरिन्छ, जुन निकै आकर्षक हुने गरेको छ।

यसै पर्वमा समाजमा बढेको विकृति र विसंगतिको विरुद्ध विभिन्न आकर्षक झाँकी र हाँस्यव्यग्यको पनि प्रहसन गरिन्छ। यहाँको गाईजात्रा हेर्न टाढाटाढाबाट मानिसहरु आउने गर्छन्। 

उपत्यका बाहिरका विभिन्न शहरहरु जस्तैः पोखरा, पाल्पा, धरानतिर  पनि गाईजात्रा पर्व मनाइन्छ। धार्मिक रुपमा अत्यन्तै महत्वपूर्ण मानी आएको यस पर्वले आधुनिकताको नाउँमा समाजमा बढेको विकृति विसंगतिप्रति सचेत गराई समाजलाई सही मार्गतिर डोर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। 

(गाइसी ख्वप कलेजमा समाजशास्त्र विषयकी उपप्राध्यापक हुन्।)

२७ साउन, २०७९, २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।