शिक्षकले घुस खाएको छ मिनेटको सिन काटेपछि बल्ल चल्यो ‘कौसीद’, दुई शोको पैसा फिर्ता

शिक्षकले घुस खाएको छ मिनेटको सिन काटेपछि बल्ल चल्यो ‘कौसीद’, दुई शोको पैसा फिर्ता

काठमाडौं : फिल्म ‘कौसीद’मा शिक्षकले घुस खाएको दृश्य राखिएकोमा सेन्सर बोर्डले आपत्ति जनाएपछि शुक्रबार बिहानी र दिउँसोको शो प्रभावित बन्यो।

‘शिक्षकले घुस खाएपछि जीवन सुध्रन्छ’ भन्ने विषयलाई बढावा दिएको भन्दै बोर्डले आपत्ति जनाएपछि प्रदर्शन रोकियो। बिहानी र दिउँसोको शो प्रभावित भए पनि उक्त दृश्य हटाएपछि दिउँसो साढे २ बजेबाट फिल्म प्रदर्शनमा आयो।

अन्तिम दृश्यमा बोर्डले पुनः छायांकन गर्न आग्रह गरेपछि उक्त दृश्य हटाएर फिल्म प्रदर्शनमा ल्याइएको फिल्मका निर्माता केदार भुसालले जानकारी दिए।

उनले उकेरासँग भने, ‘क्लाइमेक्समा एउटा दृश्य थियो घुस खाएको। त्यसले घुस प्रवृत्तिलाई प्रोत्साहन गर्यो भनेर सेन्सर बोर्डले समस्याका रूपमा लिनुभएको थियो। उहाँहरूले यो दृश्य हटाएर रि–सुट गर्न भन्नुभयो। फेरि सुट गर्ने वातावरण नभएकाले दृश्य हटाइयो।’

उनका अनुसार ६ मिनेट लामो क्लाइमेक्सको दृश्य काटेर चलचित्र जाँच समितिले फिल्म ‘कौसीद’लाई प्रदर्शन अनुमति दिएको हो। घुस खाएको दृश्य हटाएपछि फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको छ।

तीन दिनदेखि सेन्सर बोर्ड र फिल्म निर्माण टीमबीच यो दृश्य हटाउने र नहटाउने भन्ने विषयमा छलफल चलिरहेको थियो। सेन्सर बोर्डले फिल्म नै रोकेपछि बाध्य भएर उक्त दृश्य हटाइएको हो।

सेन्सर बोर्डका अध्यक्ष नेत्रप्रसाद सुवेदीले फिल्मको क्लाइमेक्स सच्चिएपछि फिल्म प्रदर्शनमा आइसकेको जानकारी दिए।

फिल्मको बिहानी र दिउँसोको शो प्रभावित बनेपछि हलवालाले पूर्वप्रकाशित शोको टिकट शुल्क दर्शकलाई फिर्ता दिएको छ।

कुमार भाष्कर निर्देशित फिल्ममा ऋचा शर्मा र भोलाराज सापकोटाको शीर्ष भूमिका छ। हलमा यो फिल्मसहित प्रकाश सपुत अभिनित फिल्म ‘परदेशी २’ र ‘बासेन्जी’ प्रदर्शनमा छन्।

२६ असोज, २०८०, १७:४८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।