बागमती मुख्यमन्त्री पाण्डेको पद धरापमा, कांग्रेस माओवादीले हस्ताक्षर जुटाउन थाले

बागमती मुख्यमन्त्री पाण्डेको पद धरापमा, कांग्रेस माओवादीले हस्ताक्षर जुटाउन थाले

काठमाडौँ :  एमालेकी अष्टलक्ष्मी शाक्यलाई हटाएर एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन सत्ताधारी पाँच दलबिच सहमतीहुँदा नै ६ महिनापछि कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री हुने सहमति गरिएको थियो।

समय कट्यो। तर एकीकृत समाजवादी सत्ता छाड्न राजी भएन। यसबारे केन्द्रबाटै निर्णय आउनुपर्ने भन्दै उनी सहमतिबाट पछि हटे। बजेट पनि ल्याए। बजेट ल्याएपछि पनि सरकारको नेतृत्व नछाड्ने देखिएपछि अब भने कांग्रेस र माओवादी केन्द्र उनलाई राजीनामा दिन बाध्य बनाउने रणनीतिमा लागेका छन्।

सम्झौतामा कांग्रेसबाट बानियाँ, समाजवादीबाट पाण्डे र माओवादीबाट शालिकराम जम्कट्टेलले हस्ताक्षर गरेका थिए। तर यसको पालना नहुने देखिएपछि कांग्रेस र माओवादीले बजेट पास भए लगत्तै मुख्यमन्त्री बदल्ने तयारी गर्दै हस्ताक्षर सङ्कलन सुरु गरेका छन्।

प्रारम्भमै कांग्रेसले मुख्यमन्त्री दाबी गरेको थियो। पछि बाँकी अवधि आधा-आधा चलाउने सहमति भएपछि कांग्रेस राजी भएको थियो। २०७८ साल कात्तिक ११ मा एकीकृत समाजवादीका पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

कर्णालीमा पनि यस्तै सहमति भएको थियो। तर मुख्यमन्त्रीले केन्द्रमा देखाएर राजीनामा दिन अस्वीकार गरेपछि हस्ताक्षर सङ्कलन सुरु भए लगत्तै उनले राजीनामा दिएका थिए।

१६ असार, २०७९, १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।