मधेश प्रदेशमा मुख्यमन्त्रीको विश्वासको मत लिने बैठक अनिश्चित, सत्ता गठबन्धनभित्रै ‘फ्लोर क्रस’को डर
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अन्योलमा परेको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दलहरूभित्रको आन्तरिक असन्तुष्टि र ‘फ्लोर क्रस’को जोखिमका कारण ढिलाइ भएको हो।
सत्ता गठबन्धनको प्रमुख घटक जसपा नेपालले हालसम्म विश्वासको मत दिने वा नदिने भन्नेबारे आधिकारिक निर्णय गरिसकेको छैन।
तत्कालीन लोसपाबाट निर्वाचित (हाल जसपा नेपाल) केही सांसदले ‘फ्लोर क्रस’ गर्नसक्ने सूचना आएपछि गठबन्धनभित्र छलफल चलिरहेको छ।
यसका साथै, मुख्यमन्त्री यादवलाई आफ्नै दल नेपाली कांग्रेसको शेखर कोइराला समूहबाट समेत ‘फ्लोर क्रस’ हुन सक्ने जोखिम रहेको बताइएको छ।
११ बजे बस्न नसकेको बैठक दिउँसो १:१० बजेका लागि सारिए पनि अहिलेसम्म सुरू हुन सकेको छैन। हाल प्रदेशसभामा कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ।
गत वैशाख २२ गते जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले ३० दिनभित्र विश्वासको मत लिन लागेका हुन्।
वैशाख २८ गतेको मन्त्रिपरिषद् बैठकले आज विश्वासको मत लिने निर्णय गरेको थियो।
१०२ सदस्यीय मधेश प्रदेशसभामा सरकार टिकाउन मुख्यमन्त्रीलाई कम्तीमा ५२ सांसदको समर्थन आवश्यक पर्छ।
हाल सरकारलाई कांग्रेसका २२, जसपा नेपालका २६ र नेपाल कम्युनिस्ट पार्टीका १५ गरी ६३ जना सांसदको समर्थन रहेको दाबी गरिएको छ।
जेठ १, २०८३ शुक्रबार १४:१३:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।