एकीकृत समाजवादी परिषद् सदस्यहरुले एमालेलाई गाली नगरौँ भनिरहे, नेपाल र खनालले गाली गरिरहे

एकीकृत समाजवादी परिषद् सदस्यहरुले एमालेलाई गाली नगरौँ भनिरहे, नेपाल र खनालले गाली गरिरहे

काठमाडौँ : एकीकृत साजवादीका अध्यक्ष माधव कुमार नेपालले पेस गरेको राजनीतिक र साङ्गठनिक प्रतिवेदनबारे सामूहिक छलफलपछि बागमती प्रदेशको सुझाव पेस गर्दै सूर्यचन्द्र न्यौपानेले भने,‘अरूलाई गाली गरेर समय खेर नफालौँ।’ तर नेताहरूले टेरेनन् उनको सुझाव। एमालेका नेताहरूलाई गाली गरिनै रहे।

प्रतिवेदनमाथि छलफल गर्न ११ वटा समितिले गठबन्धनमा जोड दिए पनि गठबन्धनलाई आफू अनुकूल नतिजा ल्याउन उपयोग गर्नुपर्ने सुझाव दिएका थिए। यसमा अन्य दलका नेताहरूलाई गाली गरेर बस्नुभन्दा सङ्गठन केन्द्रित हुन समेत भेलामा सहभागीहरूले सुझाव दिए नेताहरूलाई।

‘पटक पटक अवसर पाएकालाई भन्दा नयाँ उम्मेदवारलाई मौका दिनुपर्छ भन्ने सुझाव आएको छ,’ केन्द्रीय सदस्य समेत रहेका न्यौपानेले सुझाव दिए।

केन्द्रीय परिषद्को बैठकका उद्घाटनमा अध्यक्ष नेपालले तत्कालीन समयमा एमाले अध्यक्ष ओलीको कारण पार्टी विभाजन भएको बताउँदै संविधानलाई कुल्चिने काम भएको आरोप लगाएका थिए।

‘विदेशीसँगको सहमतिमा पार्टीलाई कुनै जानकारी दिइएन,’ उनले भने, ‘केपी ओली अल्पमतमा पर्ने भएपछि एकलौटी रूपमा विभाजन गरियो,’ उनले भनेका थिए।

अरूलाई गाली गरेर पार्टी उँभो नलाग्ने केन्द्रीय सदस्यको ब्रिफिङ भए पनि शीर्ष नेता भने पुरानै शैलीमा देखिए। पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिलेको एमाले नवौँ महाधिवेशन अघिको पार्टी नरहेको भन्दै उनले केपी ओलीका कारण तत्कालीन नेकपा सिङ्गो पार्टीले पीडा खेप्नुपरेको बताए।

‘केपी ओलीकै कारण धेरै कुरा अघि बढ्न सकेनन्। ओलीकै कारण सिङ्गो पार्टी पङ्क्तिले पिडा लियो’ उनले भने, केपी ओली गुटले देश गलत दिशामा लगिरहेको छ। खाँदाखाँद एकीकृत पार्टी पनि फुट्यो, ’ उनले भने।

ओलीको आलोचना गरेर खनालले पार्टी समाजवादको यात्रामा रहेको पनि भन्न भ्याए। ‘क्रान्तिकारी पार्टीको रूपमा हामी यो पार्टीलाई अघि बढाउन पर्छ। अहङ्कारवाद लगायतका तमाम चिजले समस्या भएको छ। वैज्ञानिक समाजवादका लागि हामीले सोच्नुपर्छ,’ उनले भने, ‘ हाम्रा स्वतन्त्र नीति, आत्मसात् गर्ने यात्रा आवश्यक पर्छ। संयुक्त मोर्चाबाट मात्र पार्टी बन्दैन। हामी समाजवादी क्रान्ति र रूपान्तरण को यात्रामा छौँ।’ 

११ वटै समितिहरूको सुझावमा गठबन्धन–गठबन्धन भनेर भुक्याएर गाह्रो बनाएको समेत उल्लेख छ। ‘हामी एक्लै भए पनि भिड्नुपर्छ भन्ने छ, गज्जबै छ मान्छेहरूको पनि’ बैठकपछि एक पदाधिकारीले उकेरासँग भने, ‘हारिन्छ कि गरिन्छ। जसरी हुन्छ पार्टी बनाएरै छाड्ने हो भन्ने छ।’

सके जितौँला होइन भने देशभर उम्मेदवार उठाउनुपर्छ भन्ने कार्यकर्ताको सुझाव पाएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए। गठबन्धनको विकल्प पनि छैन तर, आफ्नो दलमा बढी विश्वास गर्ने भन्ने सुझाव दिएका थिए।

‘सचिवालयदेखि पोलिटब्युरो सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्र छानेर अहिलेदेखि तयारी गर्नुपर्छ भन्ने थियो, एक पोलिटब्युरो सदस्यले उकेरासँग भने, ‘स्थानीय निर्वाचनमा ढिला हुँदा तयारी गर्न पाएनौँ, सङ्घ र प्रदेशमा त्यो नहोस् भन्ने प्रेसर नेतृत्वलाई आयो।’

भेलाले आफ्नो शक्ति बढाउनुपर्ने, अहिलेदेखि आफ्नो क्षेत्र छानेर चुनावी तयारी गर्नुपर्ने र स्थानीय निर्वाचनमा राम्रो परिणाम आउन सक्थ्यो तर तयारी पुगेन भन्ने निष्कर्ष निकालेको छ। अधिकांश सुझाव युवालाई अघि बढाउनुपर्छ भन्ने आएको छ।

‘आजबाट हामी सम्पूर्ण रूपमा निर्वाचनमा होमियौँ, देशका सबै भागमा सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार सशक्त ढङ्गले उठाउने भन्ने साझा निर्णय भयो,’ प्रवक्ता खतिवडाले भने।

१४ असार, २०७९, २२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।