संसदमा प्रचण्डको प्रश्न : हाम्रो बन्दूकले ढोका नखोलेको भए कसरी मन्त्री बन्नुहुन्थ्यो?

संसदमा प्रचण्डको प्रश्न : हाम्रो बन्दूकले ढोका नखोलेको भए कसरी मन्त्री बन्नुहुन्थ्यो?

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान संसदमा देखिएको समावेशी प्रतिनिधित्व जनयुद्ध र बलिदानकै प्रतिफल भएको दाबी गरेका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले उत्पीडित वर्ग र समुदायको उपस्थितिलाई 'रगतले लेखिएको कथा'को संज्ञा दिए।

प्रचण्डले आफ्नो पार्टीले संसदीय निर्वाचनमा प्राप्त गर्ने परिणामभन्दा संसदको समावेशी र समानुपातिक चरित्र आफ्ना लागि महत्वपूर्ण रहेको बताए। महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम र थारु समुदायको 'इन्द्रधनुषी' उपस्थितिले आफूलाई गर्व महसुस गराउने उनको भनाइ थियो।

"यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ, क्रान्तिले लेखिएको छ। पिठ्यूँमा दुधे बालक र काँधमा बन्दूक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ", उनले भने, "सामन्तवादविरुद्ध हामीले उठाएको बन्दूकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका प्रतिनिधिहरू?"

उनले संसदमा जोसुकै पार्टीका प्रतिनिधि भए पनि समावेशी प्रतिनिधित्व देख्दा आफू स्वयं प्रवेश गरेजस्तो अनुभूति हुने बताए।

प्रचण्डले पछिल्लो समय राजनीतिमा स्थापित गर्न खोजिएको 'पुराना पार्टी र नेता सबै खराब हुन्' भन्ने भाष्यको समेत कडा प्रतिवाद गरे। उनले 'पुराना' र 'नयाँ' बीचको विभाजनलाई दार्शनिक र राजनीतिक दृष्टिले गलत रहेको तर्क गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आफूले प्रधानमन्त्री र विपक्षी नेताका रूपमा 'दह्रो सहकार्य' गरेको स्मरण गर्दै उनले सबै पुराना शक्ति उस्तै नभएको जिकिर गरे।

उनले ललिता निवास जग्गा फिर्ता, भुटानी शरणार्थी प्रकरणको अनुसन्धान र माफियाविरुद्धको कारबाही आफ्नै नेतृत्वमा भएको पनि दाबी गरे।

उनले पुराना र नयाँको भाष्यले समाज र राजनीतिमा विभाजन मात्र ल्याउने भन्दै उनले अबको बहस 'सही र गलत' बीच हुनुपर्नेमा जोड दिए।

प्रचण्डले दुईतिहाइको सरकार हुँदा आफूहरूले सानो संख्यामा रहेर पनि विकृति र बेथिति विरुद्ध लडेको उल्लेख गर्दै 'पुराना' भनिएका शक्तिभित्रैबाट रुपान्तरण र सुशासनको जग बसेको दाबी समेत गरे।

वैशाख २९, २०८३ मंगलबार १५:१९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।