फेसबुकको सुसाइड नोट र पार्टनरको अविश्वासिलो बयानमा रुमल्लियो गायिका दिलमाया मृत्यु प्रकरण

फेसबुकको सुसाइड नोट र पार्टनरको अविश्वासिलो बयानमा रुमल्लियो गायिका दिलमाया मृत्यु प्रकरण

काठमाडौँ : सामाजिक सञ्जाल फेसबुकमा विरहको लामो सन्देश लेखेको भोलिपल्ट आफ्नै कोठामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्युको कारण आत्महत्या हो या हत्या?

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अहिले यही प्रश्नको उत्तरको खोजीमा जुटेका छन्। शनिवार बिहान आफ्नै डेरामा मृत भेटिएकी थिइन् उनी। तर प्रहरीले घटनास्थलमा उनले पासो लगाउन प्रयोग गरिएको न डोरी नै फेला पार्यो न त सल।

अनुसन्धानमा प्रहरीले आत्महत्याका लागि प्रयोग गरिएको भनिएको सल ‘महाराजगन्ज र धुम्बाराहीको बिचतिरको नालीमा फेला परेको छ। तर उनको मोबाइल अझै फेला परेको छैन। आत्महत्या गरेको दिन कोठामा सँगै भएको भनिएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनी गायिकासँग लिभिङ टुगेदरमा बस्ने गरेको खुल्यो।

उनले अनुसन्धानमा घटनाको रात आफू उनकै कोठामा रहेको मात्र स्विकारेनन् त्यो सल पनि आफैँले लगेर फालेकोसम्म स्विकारे। त्यो दिन आफूले रक्सी खाएकाले निदाएको र बिहान ब्युँझँदा गायिका पासो लागेको अवस्थामा मृत देखेपछि डराएर सल बोकेर लगेर फालेको दाबी गरेका छन्।

तर प्रहरीले उनको दाबी पत्याइसकेको छैन। त्यसैले उनलाई प्रहरीले बालाजु वृत्तको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

'म थाकेँ, धेरै थाकेँ, अब म बाच्न सक्दिनँ'

दिलमायाको फेसबुक अकाउन्टमा लेखिएको सन्देश सुसाइड नोट प्रकृतिको नै छ जसमा उनले अब आफू थाकेको र बाँच्न नचाहेको भन्दै आफ्नो पोस्टमार्टम समेत नगर्न भनिएको छ।

'म आफ्नो इच्छाले यो कदम उचालेकी छु।  कसैलाई दोष छैन। कसैले खोजीनिती पनि नगर्नु र मलाई पोस्टमार्टम पनि नगर्नु। मसित पैसा छैन। मसित थोरै सुन छ। त्यो सुन बेचेर पैसा मेरो छोरालाई दिनु।'

उनको पोस्टमा लेखिएको छ। पोस्टमा छोराबारे धेरै चिन्ता उल्लेख छ।

'छोरा, तिमीलाई धेरै पढाउने र असल मान्छे बनाउने मन थियो। तर  सकिनँ। तिमी जसरी भए पनि  ठुलो मान्छे बन्नु है' पोस्टमा लेखिएको छ।

पोस्टमा लेखिएका पारिवारिक विषय हेर्दा उनले नै लेखेको जस्तो देखिए पनि अहिलेसम्म दिलमायाको मोबाइल हराउनुले भने प्रहरीले सो स्टाटसमाथि नै शङ्का गरेको छ। घटना प्रकृतिले आत्महत्या गरेको भए फेसबुकमा नोट लेखेर आत्महत्या गरेकी हुन्। कोठामा श्रेष्ठबाहेक अरू कोही छैन। तर उनको साथमा मोबाइल छैन।

प्रहरी केरकारमा उनले मोबाइलबारे जानकारी नभएको दाबी गरिरहेका छन्। जबकि उनी झुन्डिन प्रयोग गरेको भनिएको सल उनले बाहिर लगेर फालेको स्वीकार मात्र गरेनन् उनैले देखाएको लोकेसनमा सल समेत फेला परेको छ। मोबाइल कोठामा नभेटिएकाले प्रहरीले उनले लुकाएको शङ्का गरेको छ। तर त्यसबारे उनले मुख खोलिसकेका छैनन्।

प्रहरी घटनास्थलमा पुग्दा शव झुन्डिएको अवस्थामा नभई खाटमा सुतिरहेको अवस्थामा रहेको थियो भने उनको घाँटीमा सल पनि थिएन। यसले समेत घटनालाई रहस्यमय देखाएको छ।

'अहिले उनले जे भनिरहेका छन् त्यो पत्यारलाग्दो छैन तर पोस्टमार्टम रिपोर्ट नआई यसै हो भन्न सक्ने अवस्था छैन,' अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले भने' घटनाको रात सँगै हुनु, मोबाइल हराउनु अनि सुसाइड गरेको भनिएको सल लगेर फाल्नुले शङ्का छ। तर अहिले नै के हो भनेर भन्ने अवस्थामा अनुसन्धान पुगेको छैन।'

प्रहरीलाई के भने श्रेष्ठले ?

सामान्य सुनको काम गर्ने श्रेष्ठ विवाहित हुन्। तर केही समयदेखि उनको सम्बन्ध गायिकासँग रहेको देखिन्छ। कतिले लिभिङ टुगेदरमा रहेको त कतिले विवाह नै गरिसकेकोसम्म भने पनि ती सबै पुष्ट हुन सकेको छैन।

घटनाको रात श्रेष्ठ दिलमायाकै कोठामा बसेकाले र स्थानीयले उनी दिलमायाको कोठामा आइरहने बताएकाले दुबैबिच घनिष्ठ सम्बन्ध रहेको भने पुष्टि हुन्छ। प्रहरी बयानमा उनले पनि यो स्वीकार गरेका छन्।

श्रेष्ठको प्रारम्भिक बयानमा उनले घटनाको बेलुका आफू मासु र रक्सी बोकेर दिलमायाको कोठामा गएको, दिलमायाले मासु पकाएर दिएपछि आफूले रक्सी खाएको र उनले स्प्राइट खाएको दाबी गरेका छन्। रक्सी खाने क्रममा धेरै खाएपछि आफू त्यही सुतेको र बिहान साँढे तीन बजेतिर ब्युँझँदा गायिकाको शव झुन्डिएको अवस्थामा देखेपछि सल खोलेर खाटमा सुताएको तर उनको शरीर चिसो भएपछि आत्तिएर सल बोकेर लगेर फालेको बयान दिएका छन् उनले।

मृतकको घाँटीमा कस्सिएको डाम समेत भए पनि त्यो कुनै व्यक्तिले कसेर हत्या गरेको हो या आत्महत्या गर्दाको डाम हो भन्ने पोस्टमार्टमबाट मात्रै खुल्ने भएकाले प्रहरी अहिले उनको पोस्टमार्टम रिपोर्ट कुरेर बसेको छ।

१२ असार, २०७९, २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।