रोहिणी बस दुर्घटना : भीम अस्पतालमा मृतकका आफन्तको रुवाबासी (तस्बिरहरु)

रोहिणी बस दुर्घटना : भीम अस्पतालमा मृतकका आफन्तको रुवाबासी (तस्बिरहरु)

बुटवल : रुपन्देहीको भैरहवा-परासी हुलाकी सडकखण्ड अन्तर्गत रोहिणीमा भएको दुर्घटनामा परी ९ जनाको मृत्यु भयो। मृतकको शव भैरहवाको भीम अस्पतालमा ल्याइएको छ।

अस्पतालमा मृतकका परिवार, आफन्त र उनीहरुलाई सान्त्वना दिन जनप्रतिनिधिहरु पनि पुगेका छन्। भीम अस्पतालको पोष्टमार्टम क्षेत्रमा परिवार र आफन्तको रुवाबासी चलेको छ।

पोष्टमार्टम भवनको एक कुनामा एक बालक र एक महिला भक्कानिएर रोइरहेका छन्। सँगै रहेका आफन्तहरु पनि सुँक्क-सुँक्क गरिरहेका छन्। महिलाले ती बालकलाई अँगालो हालेर रोइरहेको दृश्य निकै कारुणिक देखिछ।

अस्पताल परिसरमा यो दृश्य देख्ने जो कोही पनि भावविह्वल भएका थिए। ती बालक थिए, आरभ बस्याल। अनि महिला थिइन् मृतक तुल्सीकी बहिनी। तिलोत्तमा वडा नं. ८ की तुल्सी बस्यालका छोरा र बहिनी अस्पतालमा निकैबेर रोइरहे। मृतक तुल्सीका श्रीमान् दिपेश बस्याल पनि अस्पतालमा भावविह्वल अवस्थामा थिए।

मृतक कृष्णप्रसाद बस्यालको परिवार र आफन्त पनि भावविह्वल अवस्थामा अस्पताल परिसरमा थिए। अस्पतालमा मृतकहरुका परिवारलाई सान्त्वना दिन तिलोत्तमामा नगरप्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, उपप्रमुख उमा अधिकारी, बुटवल उपमहानगरपालिकाका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री लगायतका जनप्रतिनिधि पुगेका थिए। उनीहरु घाइतेको उपचार भइरहेको भैरहवा मेडिकल कलेजमा पनि पुगेर शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

मृतकमध्ये बुटवल- ११, कालिकानगरका कृष्णप्रसाद बस्याल र तिलोत्तमा- ८ कि तुल्सी बस्यालको शव पोष्टमार्टमपछि परिवारले बुझेका छन्। कालिकानगरका बस्याल हार्डवेयर व्यवसायी हुन्। 

पश्चिम नेपाल प्रालिको लु२ख ३८४१ नम्बरको उक्त यात्रु बाहक बस दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्। मृतक ९ मध्ये ६ जनाको पहिचान खुलेको छ।

दुर्घटनामा परी मृत्युहुनेहरुमा रुपन्देही ओमसतिया- ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा- ८ की ३७ वर्षीया तुल्सी बस्याल, तिलोत्तमा- २, योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, बुटवल- ११, कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रौतहट, चन्द्रनिगाहपुरका २० वर्षीय दिनेश दास र भारत जनकपुरका ४० वर्षीय अरविन्द्र शर्मा रहेको प्रहरीले जनाएको छ।

९ जना मृतकमध्ये अझै ३ जनाको सनाखत हुन सकेको छैन। ३ जना ३० देखि ४५ वर्ष उमेरका पुरुष हुन्।

२२ जेठ, २०७९, १५:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।