सरकारसँग मेडिकल कलेजहरूले गरे बढी शुल्क नलिने सहमति 

सरकारसँग मेडिकल कलेजहरूले गरे बढी शुल्क नलिने सहमति 

कलेजहरूले राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षामा निर्धारित गरेको भन्दा बढी शुल्क लिन नपाउने सहमित जनाएका हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज राष्ट्रिय चिकित्सा शिक्षा आयोगका पदाधिकारी, त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, काठमाडौँ मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवं विद्यार्थीबीच भएको छलफलमा आयोगले तोकेकोभन्दा बढी शुल्क नलिने सहमति मेडिकल कलेजहरूले जनाएका छन्। 

केही कलेजले आयोगले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थी सङ्गठन आन्दोलित भएका छन्। सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम नै एमबिबिएसको शुल्क मेडिकल कलेजले लिने छन्। 

विद्यार्थीले सहज र अनुकूल वातावरणमा सिक्ने अवसर सुनिश्चित गर्ने दायित्वलाई मनन गरी विद्यार्थीको छात्रावाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा अभिभावक एवं विद्यार्थीबीच आपसी छलफल गरी सहमतिमा निरूपण गर्ने र यस कार्यमा सम्बन्धित विश्वविद्यालयले सहजीकरण गर्ने  पनि सहमति भएको शिक्षा मन्त्रालयले जनाएको छ। 

आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी  चिकित्सा शिक्षा ऐन, २०७५ बमोजिम एमबिबिएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कूल शुल्कअन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाउनुपर्ने शीर्षकगत रकम निर्धारण गर्न आयोगले तत्काल कार्यारम्भ गर्ने सहमति पनि भएको छ।

३० पुस, २०७८, २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।