नेतृत्वमा युवाको बहस तर महाधिवेशनमा पाका बढी : भविष्य नदेखेकाले अब युवा नआउने विश्लेषकको मत

नेतृत्वमा युवाको बहस तर महाधिवेशनमा पाका बढी : भविष्य नदेखेकाले अब युवा नआउने विश्लेषकको मत

काठमाडौँ : एकता महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा बुधवार भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन शत्र पुरै प्रौढहरूले भरिएको थियो। कार्यक्रमस्थलमा स्वयंसेवकको रूपमा खटिएका केही बाहेक अधिकांश पार्टी नेता र कार्यकर्ताहरू प्रौढ उमेरका थिए।

भर्खरै १० औँ महाधिवेशन सकेको एमालेको अधिवेशनमा टन्नै युवा पुस्ता देखिएको थियो। महाधिवेशनको तयारीमा रहेको नेपाली काँग्रेसमा केन्द्रीय प्रतिनिधिमा १९ वर्षकासम्म आएका छन्। राष्ट्रिय सम्मेलनका लागि जिल्ला र पालिकामा नेतृत्व चयन गरिरहेको माओवादी केन्द्रमा पनि युवा नेतृत्व देखिन्छ।

अब राप्रपाको नेतृत्व युवा पुस्तामा सार्नुपर्ने राजेन्द्र लिङदेन पक्षको माग छ। उनी यही नारा लिएर पार्टी अध्यक्षको उम्मेदवार बन्दै छन्। तर महाधिवेशन स्थलमा अधिकांश सहभागीहरू ४० माथिका देखिन्थे। पुरुष मात्रै हैन महिला सहभागी पनि अधिकांश ४० काटेका अनुहार नै बढी थिए। महाधिवेशनमा युवाहरूको सङ्ख्या न्यून देखिन्थ्यो।

मञ्चका अधिकांश अनुहारहरू बुढ्यौलीले छोपिसकेका र छोप्दै गरेकाहरू नै थिए। राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईँ राप्रपालाई जीवन्तता नभएको पार्टीका रूपमा विश्लेषण गर्छन्।

राजनीतिक दलमा युवाको सहभागिता कमजोर हुँदा त्यो दलको जीवन्तता नै कमजोर हुँदै जाने  उनको विश्लेषण छ। उनले ‘ग्रेसम्स ल’को उदाहरण दिए। डा. चापागाईँ ‘ग्रेसम्स ल’ को सिद्धान्त अनुसार खराब नोट(पैसा)ले असल नोटको प्रयोगलाई रोक्ने प्रसङ्ग सुनाए। 

उनले बजारमा सामान किन्न जाँदा सबैभन्दा पहिला पुराना नोटको प्रयोग गरिने र नयाँ नोट जोगाउने विश्लेषण गरे।  विश्लेषक चापागाईँले भने,‘सामान किन्दा नयाँ नोट जोगाउँछौँ। पुराना नोट खर्च गर्छौँ।’ तर, नयाँ नोट जोगाएर राख्दा नयाँ नोटको जीवन्तता कै  मृत्यु हुने उनको विश्लेषण गरे। उनले भने,‘नयाँ पैसा गोजिमा राख्नु भनेको क्रय शक्ति मार्नु हो।’

उनले पुरानो नोटले नयाँ नोटको प्रयोगलाई रोकेजस्तै राजनीतिमा पनि पुराना नेताले युवालाई नेतृत्त्वमा आउनबाट रोक्ने बताए।

‘राजनीतिमा पनि पुराना मान्छे बिकाऊ हुन्छन्,’उनले भने,‘नयाँ मान्छेलाई थन्क्याइन्छ। 'ग्रेसम्स ल' को हाबी नेपालका राजनीतिक पार्टीमा भएको छ।’

नेपालका राजनीतिक दलमा पनि पुराना नोट खर्च गरेजस्तै पाका व्यक्ति राजनीतिमा हाबी हुनु युवालाई डब्बामा राखे सरह नै हुने उनको विश्लेषण छ।

रत्न राज्य लक्ष्मी क्याम्पस, राजनीतिक शास्त्र विभागका विभागीय प्रमुख तथा राजनीतिक विश्लेषक महेश भट्टराई दलमा युवाको सहभागिता कम हुनुले त्यो पार्टीको भविष्य अन्धकार हुँदै जाने सङ्केत गर्ने विश्लेषण गर्छन्।

उनले पार्टी जीवन्त हुने भएकाले पार्टीमा वास्तविक र वैज्ञानिकता र राजनीतिक विषय हुने बताए। उनले पार्टीमा दार्शनिक विषय र भविष्य समेत जोडिने बताए। विश्लेषक भट्टराईले राप्रपामा भविष्य नदेखिएकाले युवाहरूको आकषर्ण नभएको तर्क गरे। उनले भने,‘जहाँ भविष्य छैन त्यहाँ युवाहरूको आकर्षण र सहभागिता हुँदैन।’

राप्रपालाई नेपालीले ‘टेस्ट’ गरिसकेका हुनाले टेस्ट गरिसकेको कुरा फेरी नयाँ ढङ्गले आउने तथा प्रतिस्पर्धी हुन नसक्ने सोचले युवाहरूको सहभागिता कम भएको उनको विश्लेषण छ।

राप्रपा अस्तित्वमा रहन सक्ने भए पनि राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका नखेल्ने विश्लेषक भट्टराइको तर्क छ।

‘त्यो (राप्रपा) एउटा परम्परामा चलेको हुनाले अस्तित्वमा रहने  कुरा भयो,’उनले भने,‘तर, त्यसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्न सक्दैन। प्रतिस्पर्धामा आउन सक्दैन।’

त्यसैले राप्रपामा युवाको उपस्थिति कम हुनुलाई विश्लेषक भट्टराई स्वाभाविक रूपमा लिन्छन्।

विगतलाई हेर्दा राष्ट्रिय राजनीतिमा अस्तित्वमा रहन नसक्ने भट्टराईको विश्लेषण छ। तर, पुराना तथा धनाढ्य वर्गहरूको आस्थाका कारण मात्रै राप्रपाको सामान्य अस्तित्व रहन सक्ने उनले बताए।

युवाको सहभागिता कम भई ४० कटेका व्यक्ति पार्टीमा बढी हुनु भनेको पार्टीको पार्टीकै भविष्य अन्धकारमा पर्ने उनको विश्लेषण छ। ‘बिहानीले दिउँसो देखाउँछ भनिन्छ,’भट्टराई ले भने,‘पाको, वयस्क र युवा उमेरको सहभागिता (कम्बाइन) भएन भने वैज्ञानिक हुँदैन।’

खालि खुट्टामा सहभागी

अधिकांश सहभागीहरूको अनुहारको भाव हेर्दा लाग्थ्यो,‘दैनिक श्रम गरेर गुजारा चलाउने व्यक्तिको सहभागिता बढी छ।’

महाधिवेशनमा गाउँ गाउँबाट आएका कैयौँ सहभागीहरू धुस्रै र फुस्रै देखिन्थे। काठमाण्डौंमा मङ्सिर चिसोमा केहीका खुट्टामा त चप्पलसम्म देखिएन। सहभागीमध्ये केहीका खुट्टामा चप्पलमै थिए। विशेष गरी तराई मूलका प्रतिनिधिहरू पातला कपडामा थिए। सहभागीहरू दिउसो पनि काठमाडौँको चिसो छल्न नसकेर जाडोले कापिरहेको देखिन्थे।

फेरी पार्टी उही पुरानै टुटफुटको बाटो तिरै लाग्ला भन्ने निराश अनुहार पनि कम देखिएनन्। समूह–समूहमा कुराउँदा उनीहरू भनिरहेका थिए'कहिले सुध्रेलान् र यी नेताहरू।'

१५ मंसिर, २०७८, २१:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।