एमालेले महाधिवेशनका लागि सदस्यहरूबाट मात्रै १० करोड भन्दा धेरै उठाउने 

एमालेले महाधिवेशनका लागि सदस्यहरूबाट मात्रै १० करोड भन्दा धेरै उठाउने 

काठमाडौँ : नेकपा एमालेले १० औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ।

महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र पाण्डेले एक जना सदस्यबाट एक सय रुपैयाँ लेबी तोक्ने निर्णय भएको जानकारी दिए। 

‘प्रतिसदस्य एक सय रुपैयाँ तोकिएको छ। हुनेले बढी पनि देलान्। सांसद र पार्टीले राजनीतिक नियुक्ति गरेर पठाएका कार्यकर्ताबाट पनि लेबी लिइएला,’पाण्डेले उकेरासँग भने,‘प्रवेश शुल्क पनि ५० लाख जति उठ्छ। महाधिवेशन प्रतिनिधिबाट दुई हजार र केन्द्रीय कमिटी सदस्यबाट तीन हजार उठाउने तोकिसकेका छौँ। यति नै गर्दा पनि १० करोड भन्दा बढी उठ्छ।’  

एमालेको सदस्य सङ्ख्या सात लाख रहेको उनले बताए। यसअघि नवौँ महाधिवेशनमा ६ करोड र त्यसअघि आठौँमा तीन करोड रुपैयाँ खर्च भएको उनले जानकारी दिए।  

एमालेमा केन्द्रीय कमिटी सङ्ख्या २२५ छ। तीमध्ये १५ पदाधिकारी छन्। अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष चार, महासचिव एक, उपमहासचिव एक र सचिव सात जना रहने व्यवस्था छ। 

उनीहरू महाधिवेशनबाट निर्वाचित हुनेछन्। मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय उपकरणबाट मतदान गर्ने एमालेले निर्णय गरेको छ। 

मतदानका लागि एक सय वटा विद्युतीय उपकरण राखिनेछ। उद्घाटन सत्र चितवनको नारायणगढस्थित नारायणी किनारमा गरिँदै छ। 

२४ कात्तिक, २०७८, १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।