‘मेलम्ची बाढीको उद्गमस्थल ज्वालामुखीझैँ देखियो, बस्ती सार्नुको विकल्प छैन’

‘मेलम्ची बाढीको उद्गमस्थल ज्वालामुखीझैँ देखियो, बस्ती सार्नुको विकल्प छैन’
तस्बिर : निमा ग्याल्जेन शेर्पा

केही समय शान्त भएको मेलम्ची खोलामा पुन: बाढी आउँदा पुल र केही घरहरू बगाएको छ। खोलासँगै आएको लेदोले पुरिएको मेलम्ची बजार लगायतका स्थानमा जम्मा भएको बालुवा पन्छाउँदा पन्छाउँदै नदी तटीय क्षेत्रका स्थानीय घर छाडेर हिँड्न बाध्य भए शनिबार बेलुका। हेलम्बु गाउँपालिकाका अध्यक्ष  निमा ग्याल्जेन शेर्पा आइतबार बाढीको उद्गमस्थल भिमाथाङ पुगेर फर्किए। त्यहाँको अवस्था कस्तो रहेछ? उनीसँग उकेराकर्मी ईश्वर कुमार मैनालीले गरेको कुराकानी :

बाढीको उद्गम स्थलमा पुगेर आउनु भयो। ताजा अवस्था के छ?

म आज बिहान हेलिकप्टरबाट भिमाथाङ पुगेर आएँ। भिमाथाङ भनेको शेर्पा भाषाबाट बालुवाको ठुलो चौर भन्ने हुन्छ। त्यही चौर नै बाढीको कारण हो। तर कसरी चौर फुट्यो र लेदो बग्यो। तर अचम्मको कुरा पानी परेको छैन त्यता। र पनि लेदो बगेको बग्नै छ। चौर चिरिएर लेदो बग्ने क्रम बढिरहेको छ।  लेदोको बहन क्षेत्र यती विशाल छ की त्यो बगिसक्न महिनौँ लाग्न सक्छ। म  त्यही चौरमा नै हेली ल्यान्ड गरेर केही मिनेट  हेरेर आएँ। ज्वालामुखी हुँदा भिडियोमा हामीले देख्छौ नि भिमाथाङ त्यस्तै देखिन्छ। म  त्यही चौरमा नै हेली ल्यान्ड गरेर केही मिनेट  हेरेर आएँ। 

अवलोकनपछि क्षति रोक्न के गर्नुपर्छ जस्तो लाग्यो ?

खोला आसपासको बस्ती तुरुन्त सारिहाल्नु पर्यो। हेलम्बु गाँउपालिकामा सबै वडालाई बस्ती सार्न भनी सकेको छु। अरू प्रभावित हुने पालिकाहरूमा पनि सूचना दिइसकेको छु। बस्ती सर्नुको अर्को विकल्प छैन।

हामीले खोलामा डोजर  चलाएर बस्ती जोगाउन खोज्नु नै बेकार भयो। राम्रोसँग पानी पर्यो भने असार १ गतेको भन्दा धेरै ठुलो बाढी आउँछ। पानी नै नपार्दा त यो बिजोक बनायो। सोचौँ त पानी ठुलो पर्यो भने कस्तो बिजोग होला। त्यसैले अबको उपाय बस्ती सार्ने र प्रभाव क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राख्ने नै हो। बेलैमा यी काम नगरे बाढीले जुनै बेला  महाविनाश ल्याउन सक्छ। किनकि भिमाथाङ चिरिएको छ। दुवै तीरबाट लेदो निरन्तर बगी रहेको छ। भीमकाय भिमाथाङको धेरै हिस्सा बग्ने वाला नै छ।

हिजो आएको बाढीले  कता कता क्षति पुर्यायो?

पूर्ण विवरण आएको छैन। रातो पुललाई समस्या बनायो। एउटा झोलुङ्गे पुल बगायो। मेलम्चीसँग जोडिने सडक मार्ग छैन अब। हेलम्बु गाँउपालिकाको वडा १ को आधा भाग,  र वडा २ र ३ सँग पूर्ण रूपमा सम्बन्ध विच्छेद भएको छ। 

पाँच पोखरी र थाङपाल गाउँपालिकासँगको सम्पर्क पनि  टुटेको छ। मेलम्चीको वडा ७ र ८ सँग पूर्ण रूपमा सम्बन्ध विच्छेद भएको छ। वैकल्पिक सडक मार्गको रूपमा  विकास गरिरहेको बाटोहरू पनि पहिरोको कारण क्षति पुगेको छ। हेलम्बु सिन्धुपाल्चोकको कर्णाली जस्तै भएको छ।

गृहमन्त्रीलाई भेट्नु भयो आजै। के भन्नु हुन्छ?

उहाँलाई सबै ब्रिफिङ गरे। तत्कालको लागि अत्यावश्यक भनेको भौगोलिक सम्बन्धको स्थापना हो। भौगोलिक सम्बन्ध स्थापित नभएसम्म राहत लान गार्हो पर्छ। गाँउपालिकाले असार १ गते पूर्ण रूपमा बगाएको बास र त्यसपछि बिस्तारै खोलाले कटान गरेको बस्तीको तथ्याङ्क उठाएर घर बनाउने काम सुरु गरी सकेको छ। एक महिना भित्र  अस्थायी घर बनाउने लक्ष्य छ। त्यसमा  समस्या नहुन  भौगोलिक सम्बन्ध स्थापना हुनुपर्यो। जोखिम क्षेत्रमा रहेका सबैलाई सार्नु पर्ने छ। 

गृहमन्त्रीज्यूलाई बेली ब्रिजको कुरा गरेको छु। हेलम्बुको  वडा  २ र ६ को भीमेश्वर स्कुल नजिकबाट बेल ब्रिज हाल्न सम्भव  हुन सक्छ। बेल ब्रिज धेरै लामो दुरीको लागि हुँदैन भन्ने कुरा छ। उहाँ सकारात्मक हुनुहुन्छ।

अवलोकनपछि अब बाढी नियन्त्रण भन्दा बाहिर गएको तपाइको निष्कर्ष हो ?

नियन्त्रण गर्न सम्भव नै छैन। बाढीलाई बग्न दिने र प्रभावित हुनसक्ने क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने एक मात्र उपाय देखे मैले त। बेलैमा यी काम नगरे सोचेको भन्दा ठुलो क्षति गराउँछ बाढीले। हेलम्बु र मेलम्चीलाई मात्र होइन दोला घाटसम्म बाढीले असर पुराउन सक्छ। सर्त रहनु नै एक मात्र उपाय हो। 

मेलम्ची स्थलगत

१७ साउन, २०७८, १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।