२४ घण्टामा कोरोना संक्रमण हुनेभन्दा निको हुने दोब्बर 

२४ घण्टामा कोरोना संक्रमण हुनेभन्दा निको हुने दोब्बर 

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा आरटी पिसिआर विधिबाट २ हजार ३ सय ८२ र एन्टिजेन विधिबाट १ हजार २ जनामा कोरोना पोजेटिभ देखिएको हो। 

उक्त अवधिमा आरटी पिसिआर विधिबाट ८ हजार ५ सय ६ र एन्टिजेन विधिबाट ५ हजार ९ सय ८८ जनाको गरी कूल १४ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। 

देशभर हालसम्म आरटी पिसिआर विधिबाट कोरोना संक्रमण हुनेको संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ। एन्टिजेन विधिबाट कोरोना पोजेटिभ देखिएकाको संख्या १९ हजार ७ सय ५७ छ। 

यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९५ जना कोरोना संक्रमित निको भएका छन्। यो उक्त अवधिमा कोरोना संक्रमित भएकाको झण्डै दोब्बर हो। 

देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको छ। देशभर कोरोना संक्रमण निको हुने दर ८६.९ प्रतिशत छ। 

यसैगरी, देशभर कोरोना संक्रमणका कारण थप ६१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। देशभर हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।
 

२९ जेठ, २०७८, १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।