खरिपाटी सेल्टरबाट दृष्टिविहीन नयनकुमारीको अनुरोध- ‘हामीलाई अब धेरै दु:ख नदिनु, छिटो व्यवस्थापन गर्नू’
भक्तपुर : भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा स्थापना गरिएको होल्डिङ सेन्टरमा ३५ वर्षीया नयनकुमारी साफी २१ दिनदेखि नयाँ वातावरणमा अभ्यस्त हुन संघर्षमा छिन्। जन्मजात दृष्टिविहीन उनलाई गत वैशाख १८ गते बल्खुस्थित सुकुमबासी बस्तीको छाप्रो भत्काएर सरकारले यहाँ ल्याएको हो।
१२ वर्षदेखि काठमाडौंको बल्खु क्षेत्रमा मात्रै सीमित रहेकी नयनकुमारी एक्कासि अपरिचित र टाढाको ठाउँमा आइपुग्दा अक्कनबक्क परेकी छिन्। आँखा देख्न नसक्ने भएकाले उनलाई नयाँ ठाउँ ठम्याउन निकै सकस भइरहेको छ।
यद्यपि, यहाँ सँगै रहेका अन्य विस्थापित साथीहरूको सहयोगले उनलाई केही सहज भने बनाएको छ। उनीसँगै यस सेन्टरमा बल्खु, मनोहरा, गैरीगाउँ, शङ्खमूल र बंशीघाटबाट विस्थापित गरिएका सुकुमबासी बस्तीका करिब दुई सय जना आश्रय लिइरहेका छन्।
“बिहे भए देखि काठमाडौं छोडेको छैन। सरकारले घर भत्काए पछि जहाँ ल्यायो त्यहिँ आउनुपर्यो। सुरूमा गाह्रो भएको थियो। अहिले ठिकै छ,” खरिपाटीमा उनीहरूलाई राखिएको भवनमा बसेर नयनकुमारीले उकेरासँग भनिन्, “तर अब यहाँबाट फेरि नयाँ ठाउँमा लग्यो भने मलाई ठाउँ चिन्न समय लाग्छ। आँखा देख्ने मान्छे जस्तो हैन नि म। सरकारले हाम्रो अवस्था बुझेर छिटो व्यवस्थापन गरिदिए हुन्थ्यो।”
नयनकुमारी यहाँ आफ्ना श्रीमान् र सात वर्षीय छोराका साथ आएकी हुन्। उनका श्रीमान् कवाडी सङ्कलनको काम गर्छन्। उनी नयनकुमारीभन्दा उमेरले निकै जेठा छन्।
अहिले काठमाडौंका विभिन्न ठाउँमा घर भत्काइएकाले कवाडीको काम बढेको भए पनि खरिपाटीबाट बल्खु पुग्न लाग्ने समय र खर्चका कारण उनी काममा जान सकेका छैनन्।
खरिपाटीबाट बल्खु पुग्न सार्वजनिक यातायातमा दुई घण्टाभन्दा बढी समय लाग्ने र दैनिक दुई-तीन सय रुपैयाँ भाडामात्रै खर्च हुने भएपछि उनका श्रीमान् कामविहीन भएर बस्नुपरेको छ।

दृष्टिविहीन नयनकुमारी आफैँ भने मागेर जीवनयापन गर्दै आएकी थिइन्। उनी बल्खुको गणेशथानदेखि सुन्धारासम्म पुगेर मागेको पैसाले घरखर्च टार्ने गर्थिन्। तर, होल्डिङ सेन्टरमा आएपछि उनलाई बाहिर जान रोक लगाइएको छ।
सरकारले ‘होल्ड’ गरेर राखेका विस्थापितहरू बाहिर मागेर हिँड्दा सरकारको छवि बिग्रने भन्दै उनलाई जान नदिइएको गुनासो गरिन्।
“झुट बोल्न आउदैन। मलाई देखेर दयामायाले सय/दुईसय दिन्छ मान्छेहरू। त्यहि लिएर गुजारा चलेको थियो। अब त घर भत्कायो बालेन सरकारले। यहाँबाट जान दिदैन,” उनले आफ्नो व्यथा सुनाइन्, “मेरो काम नै यहि हो। अरु मलाई काम दिँदैन। श्रीमान् बुढो छ। कहिले दाँत दुख्यो भन्छ, कहिले के दुख्यो भन्छ। तर मेरो कामलाई उनीहरूले काम भनेन। यतै त्यत्तिकै जे दियो त्यहि खाएर बसेको छु।”
‘छाप्रो घरकै माया लाग्ने रहेछ’
नयनकुमारीको माइती सिरहा हो। उनका बुबा मिस्त्री काम गर्छन् भने भाइ घर रङ्गाउने काम गर्छन्। घरकी जेठी सन्तान उनी दृष्टिविहीन भएकै कारण गाउँमा विवाह हुन नसकेपछि १२ वर्षअघि काठमाडौं पठाइएकी थिइन्।
बंशीघाटमा बस्ने क्रममा उनीभन्दा दोब्बर उमेरका एक व्यक्तिले विवाहको प्रस्ताव राखे। विवाह नहोला कि भन्ने चिन्तामा रहेको माइती परिवारले उक्त प्रस्ताव सहजै स्वीकार गर्यो।
अनाथ रहेका र सानैदेखि काठमाडौंमा कवाडीको काम गर्ने ती व्यक्तिसँग विवाह भएपछि बल्खुको नदी किनारमा प्लास्टिकको सानो टहरो बनाएर उनीहरू बस्न थालेका थिए।
“विवाह भएदेखि हामी बल्खुमै बस्यौँ। वर्षायाममा बाढी आउँदा निकै दुःख हुन्थ्यो। त्यति हुँदाहुँदै पनि आफ्नो त्यही छाप्रो घरको असाध्यै माया लाग्ने रहेछ”, उनले भनिन्।
बल्खुको दुःखको तुलनामा अहिले खरिपाटीको आश्रयस्थल भौतिक रूपमा केही सजिलो भए पनि उनीहरू ढुक्क हुन सकेका छैनन्। सरकारले केही समय यसरी राखेर पछि फेरि अलपत्र छाडिदिने हो कि भन्ने आशंका उनीहरूमा छ।
उनका छोरा टेकुमा पढ्दै थिए। अहिले यहीँ नजिकैको विद्यालयमा भर्ना त गरिएको छ, तर यो व्यवस्था कति दिनका लागि हो भन्ने कुरामा उनीहरू अनभिज्ञ छन्।
बस्ती भत्काउन प्रहरीले घेरा हालेको समयमा के गर्ने र कुन सामान जोगाउने भन्ने नयनकुमारीले पत्तै पाइनन्। उनका श्रीमानले जति सामान बाहिर निकाल्न सके, त्यति मात्र जोगियो, बाँकी सबै डोजरमुनि पुरियो। जोगाएका केही सामान पनि चोरी भएपछि बचेका सामान चिनजानका साथीको कोठामा राखिएको उनले बताइन्।
बस्ती भत्किएपछि विवरण टिपाउन उनीहरूलाई त्रिपुरेश्वरस्थित रङ्गशाला लगिएको थियो। त्यहाँ घरबारविहीन भएकाहरूलाई भक्तपुर लगिने थाहा पाएपछि मुसलधारे पानी परिरहेकै समयमा उनका श्रीमानले उनलाई र छोरालाई गाडीमा चढाएका थिए। त्यस दिनदेखि उनीहरू खरिपाटीमा छन्।
‘हामीलाई त्यत्तिकै अलपत्र गरेर नछाडियोस्’
सरकारले सञ्चालन गरेका होल्डिङ सेन्टरहरूमध्ये सबैभन्दा धेरै विस्थापितहरू खरिपाटीमै छन्। यस सेन्टरमा १९ जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्।

शारीरिक तथा मानसिक रूपमा भिन्न क्षमता भएका र दीर्घरोगीहरूलाई समेत सरकारले एउटै ठाउँमा थुपारेर राखेको छ, जहाँ उनीहरूको विशेष स्वास्थ्योपचार र औषधि व्यवस्थापनमा खासै ध्यान दिइएको देखिँदैन।
नयनकुमारीका केही आफन्त काठमाडौंको बालाजुतिर पनि बस्छन्। तर, अप्ठ्यारो परेर फोन गर्दा ‘हामीलाई मतलब छैन’ भन्ने जवाफ पाएपछि उनले कसैलाई फोन गरेकी छैनन्। माइतीमा पनि आफूले फोन गरे मात्र कुरा हुने भएकाले आफूहरू विस्थापित भएको खबर उनले सुनाएकी छैनन्। माइतीबाट पनि कसैको फोन नआएको उनले दुःखेसो गरिन्।
मधेस मूलको हुनु, श्रीमान् वृद्ध र कवाडी काम गर्ने हुनु तथा आफ्नो पनि कमाइ नहुनुका कारण काठमाडौंमा डेरा लिएर बस्न उनीहरूका लागि सम्भव छैन।
दृष्टिविहीन भएकै कारण बाल्यकालदेखि नै परिवार र समाजबाट एक प्रकारको वहिष्करणमा परेकी नयनकुमारी आफ्नो सानो परिवारमा खुसी हुन खोज्दाखोज्दै फेरि सुकुमबासी भएकै कारण राज्यबाट वहिष्कृत हुनु नपरोस् भन्ने चाहन्छिन्।
“मेरो बुढाले जुन सामान निकाल्यो त्यो मात्र साथीकोमा पुग्यो। कस्तो छ भनेर थाहा छैन। अब सरकारले हामीलाई राम्रो ठाउँमा बस्ने व्यवस्था गरिदिए हुन्थ्यो,” उनले भनिन्, “ सरकारलाई बिन्ति गर्न चाहन्छु कि हामीलाई त्यतिकै अलपत्र चै नछाडीयोस्। हाम्रो बास छैन। सरकार हाम्रो पनि हो भने हामीलाई अब धेरै दुख नदिनु।”
जेठ ८, २०८३ शुक्रबार ०८:०७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।