विधेयक पेस गर्न खोज्दा संसदमा विपक्षी दलहरूले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित

विधेयक पेस गर्न खोज्दा संसदमा विपक्षी दलहरूले अवरोध गरेपछि १५ मिनेटका लागि बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको रुलिङ माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ। 

उनीहरूले प्रधानमन्त्री शाहलाई जवाफ दिनका लागि सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन्। गृह, रक्षा र विज्ञान प्रविधि तथा नवपर्वतन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक पेस गर्न खोज्दा विपक्षी सांसदहरूले  उठेर विरोध गरेका हुन्।

सभामुख अर्यालले शाहको तर्फबाट गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए। अनुमति दिए लगत्तै विपक्षी दलहरूका सांसदहरूले उठेर विरोध जनाए।

प्रधानमन्त्री स्वयं उपस्थित नभई मन्त्रीमार्फत अध्यादेश/विधेयक पेस गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरे। प्रतिपक्षी दलका सांसदहरूले संसदमा निरन्तर प्रधानमन्त्रीको खोजी गरिरहेका छन्। 

विपक्षी दलहरूले प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भएबमोजिम प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सत्र सुचारु गर्न पनि माग गरेका छन्। नियमावलीको नियम ५६ मा प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुने प्रावधान भए पनि त्यसको कार्यान्वयन नभएको भनेर विपक्षी सांसदहरूले आसनबाट उभिएर विरोध जनाए।

एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने संसदीय लोकतन्त्रको आधारभूत मर्म भएको बताए। नियमावलीमा उल्लेखित व्यवस्थालाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनले संसद्को क्षेत्राधिकारलाई नजरअन्दाज गर्ने काम स्वीकार्य नहुने उल्लेख गरे।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री र मन्त्रीहरू अनिवार्य रूपमा संसद्प्रति जवाफदेही हुनुपर्नेमा जोड दिए। सरकार संसद्प्रति उत्तरदायी नभएको भन्दै उजले यसबारे सभामुखबाट रुलिङको माग गरे। विपक्षी दलहरूको निरन्तरको विरोध र अवरोधका कारण संसद्को नियमित कार्यसूची अगाडि बढ्न नसकेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरे।

जेठ ७, २०८३ बिहीबार १५:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।