प्रधानमन्त्री शाह संसद्मा नआएपछि प्रतिपक्षी दलको उठेर विरोध
काठमाडौं : प्रतिनिधि सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले सदनमा उठेर विरोध जनाएका छन्।
गृह, रक्षा र विज्ञान प्रविधि तथा नवपर्वतन मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक पेस गर्न खोज्दा प्रतिपक्षी सांसदहरूले उठेर विरोध गरेका हुन्।
सभामुख अर्यालले शाहको तर्फबाट गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए। अनुमति दिए लगत्तै प्रतिपक्षी दलहरुका सांसदहरुले उठेर विरोध जनाए।
प्रधानमन्त्री स्वयं उपस्थित नभई मन्त्रीमार्फत विधेयक पेस गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, र श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरे। अहिले प्रतिपक्षी दलका सांसद र सभामुखबिच बहस भइरहेको छ।
जेठ ७, २०८३ बिहीबार १४:४७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।