सहकारीबाट ठगिएका साना बचतकर्ताको रकम फिर्ता गर्न थालियो, ऋण असुली जम्मा २ करोड मात्र
काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिले सोमबार दिएको जानकारी अनुसार पहिलो चरणमा कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्तालाई उनीहरूको बचत रकम दिइएको हो।
सरकारले सहकारीको ठगीमा परेका साना बचतकर्ताहरूको रकम फिर्ताका लागि कोष नै बनाएर काम सुरु गरेको छ। रकम फिर्ता भएको बताइए पनि कति रकम फिर्ता भएको हो सो भने खुलाइएको छैन।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ। तीमध्ये पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ।
७६ हजारमध्ये पाँच लाखभन्दा बढी बचत गर्नेको संख्या १८ हजार छ। समितिका अनुसार सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न थालेपछि २ करोड मात्र ऋण फिर्ता भएको छ।
जेठ ४, २०८३ सोमबार १७:५८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।