आफ्नो माग पूरा गरेको भन्दै महावीर पुनले सरकारलाई दिए धन्यवाद

आफ्नो माग पूरा गरेको भन्दै महावीर पुनले सरकारलाई दिए धन्यवाद

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महावीर पुनले आफूले लामो समयदेखि उठाउँदै आएको ‘विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन’ सम्बन्धी छुट्टै मन्त्रालयको माग सम्बोधन भएकोमा सरकारलाई धन्यवाद दिएका छन्।

बुधबार सरकारले मन्त्रालयहरूको कार्यक्षेत्र र भागबन्डा टुङ्ग्याएसँगै पुनले बिहीबार सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ’मैले लामो समयदेखि गरेको माग पूरा भयो। नेपाल सरकारलाई धेरै-धेरै धन्यवाद।’

पुनले गत वैशाख ८ गते प्रधानमन्त्रीलाई बुझाएको पत्रमा नेपालको गरिबी र व्यापार घाटाको मुख्य कारण विज्ञान र प्रविधिलाई प्राथमिकता नदिनु रहेको उल्लेख गरेका थिए। उनले पृथ्वीनारायण शाहको पालादेखि अहिलेसम्मका शासकहरूले अनुसन्धानको क्षेत्रलाई उपेक्षा गरेको तर्क गर्दै आएका थिए।

सानोभन्दा सानो वस्तु पनि विदेशबाट आयात गर्नुपर्ने बाध्यताले व्यापार घाटा चुलिएको र देशमा उपयुक्त वातावरण र उद्यमशीलताको अभावमा सिर्जनशील युवाहरू विदेशिनु परेको विषय उल्लेख गरेका थिए।

दुई दिनअघि मात्रै संसदमा पनि यसबारे जोडदार आवाज उठाएका पुनले तीन हप्ताअघि प्रधानमन्त्रीलाई लिखित पत्र नै बुझाएका थिए।

वैशाख ३१, २०८३ बिहीबार १०:३३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।