राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात

दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित भएका छन्। घोराही उपमहानगरपालिका–१८, मसिनास्थित ब्रह्मचारी टोलकी २१ वर्षीया गुड्डी सुनारको आज शल्यक्रियापछि मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको हो।

गुड्डीलाई बिहान ४ बजे सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा भर्ना गरिएकी थिइन्। अस्पतालले बिहान १० बजेसम्म सामान्य प्रसूति हुने बताएको भए पनि त्यसपछि अवस्था जटिल बन्दै गएपछि शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो। छोरी जन्मिए पनि केही घण्टामै आमाको मृत्यु भएपछि आफन्तहरूले चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै प्रदर्शन गरेका हुन्।

आक्रोशित आफन्तहरू अस्पतालको अपरेशन वार्डसम्म पसेर केही चिकित्सकमाथि हातपातसमेत गरेको प्रतिष्ठान प्रशासनले जनाएको छ।

मृतकका ससुरा महाबीर सुनारले डाक्टरको लापरबाहीकै कारण बुहारीको मृत्यु भएको आरोप लगाउँदै दोषी नठहरिएसम्म शव नउठाउने अडान राखेका छन्। उनले नातिनीको उपचार र क्षतिपूर्तिको माग पनि अघि सारेका छन्।

प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले घटनाबारे प्रारम्भिक जानकारी संकलन भइरहेको बताएका छन्। उनले सत्यतथ्य छानबिन गरी यथार्थ विवरण पछि सार्वजनिक गरिने जनाएका छन्।

स्थिति तनावग्रस्त बनेपछि अस्पताल प्रशासन र स्थानीय प्रहरीले घटनालाई नियन्त्रणमा लिएको छ।

असार २०, २०८२ शुक्रबार २१:२३:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।