कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरभित्रै हुन्छ : महामन्त्री थापा

कांग्रेसको १५औं महाधिवेशन २०८२ मंसिरभित्रै हुन्छ : महामन्त्री थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५औं महाधिवेशन समयमै हुने बताएका छन्। 

पर्वतको पैँयू गाउँपालिकास्थित हुवासमा आयोजित नेपाली कांग्रेस पर्वत क्षेत्र ‘ख’को प्रथम क्षेत्रीय सम्मेलनमा उनले महाधिवेशन २०८२ मंसिरभित्रै गर्नुपर्ने व्यवस्थाअनुसार नै हुने बताए। 

पछिल्लो समय २०८४ को आम चुनावपछि महाधिवेशन हुने चर्चा चलिरहेको भन्दै महामन्त्री थापाले महाधिवेशनलाई लामो समय गुजार्न नहुने तर्क बताए। 

'तपाईंहरू भ्रममा नपर्नुहोला महाधिवेशन निर्धारित समयमै हुन्छ। अधिवेशनअघि पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्ने गरी काम भइरहेको छ, उनले भने। 

महामन्त्री थापाले  मुलुकको विकासका लागि कांग्रेस नेतृत्वमा थुप्रै काम भए पनि प्रचार गर्न नसकिएको बताए। अबको १० वर्षमा नेपाललाई समृद्ध बनाउने गरी पार्टीले सुशासन, स्थायित्व र विकासलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ। 

उनले भने, 'सरकारले नियमित काम गरे पनि परिणाम देखिने गरी काम भएको छैन। त्यसैले कार्यशैली सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ। दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतालाई आशा जगाउने गरी काम गर्न नसके थप समस्या हुनसक्छ।'

महामन्त्री थापाले संविधानमा रहेका केही उल्झनलाई सच्याएर जानुपर्ने त्यसका लागि सबै दलको सहमतिका लागि पहल गरिनुपर्नेमा जोड दिए।    

माघ २२, २०८१ मंगलबार २१:५९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।