नेपालमा बीवाइडी कार ल्याउने साइमेक्सले कर छलेको पुष्टि, १० हजार डलरमा किनेर ५९ लाख नेरुमा बेच्दै
काठमाडौँ : चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी बीवाइडीको नेपाली आधिकारिक विक्रेता साइमेक्स इंकले आयात गरेको विद्युतीय कार बीवाइडी ई-सिक्स मोडलमा कर छली गरेको पुष्टि भएको छ।
साइमेक्सले वायर हाउस (ल्हासा)को शुल्क गाडीमा नजोडी न्यून मूल्य घोषणा गरेर प्रतिकार २ लाख कर छली गरेको राजश्व न्यायाधिकरणले काठमाडौँले ठहर गरेको हो।
न्यायाधिकरणको फैसलामा साइमेक्सले वायर हाउस को प्रतिकार २ लाख शुल्क नजोडी भन्सार महसुल, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुरसँगै भन्सार ऐन बमोजिम लाग्ने शत प्रतिशत जरिवाना गरेर रकम असुल्नुपर्ने ठहर गरेको छ।
साइमेक्स इंकले २०२१ अक्टोबर १ देखि २०२२ अक्टोबर ३० सम्म रसुवा भन्सार मार्फत प्रतिगाडी १० हजार अमेरिकी डलरमा २० वटा विद्युतीय बीवाईडी कार ल्याएको थियो।
कमर्सियल इन्भ्वाइस नम्बर पीभी ९२१९६०००४६ को प्रतिकार १० हजार डलरका दरले प्रज्ञापन पत्रमा घोषणा गरेको नाम बीवाईडी ई सिक्स (इयर २०१५ भर्सन) विद्युतीय कार रहेको र कमर्सियल इनभ्वोइस नम्बर सीआई (पीभी) २१९६००२८०९२ को प्रतिकार २७ हजार डलरका दरले आयात गरेको थियो।
विद्युतीय प्रणालीबाट सञ्चालित हुने सवारी साधनको ब्याट्री चार्जर, एसी तथा चार्जर र एसीसँग सम्बन्धित अन्य सामग्रीहरू गाडीसँगै जोडिएर आए पनि सो कम्पनीले त्यसको मूल्य गाडीको मूल्यसँग जोडेको थिएन।
ब्याट्री, चार्जर, होम चार्जर र वायर हाउस चार्ज(ल्हासा) सहित भन्सार विन्दुसम्म आइपुग्दा लागेको कारोबार सम्बद्ध खर्चहरू आयातित सवारी साधनको लागत मूल्यमा समावेश गरी अधिकतम खुद्रा मूल्य घोषणा गर्नुपर्नेमा साइमेक्सले ती सबै लुकाएको भन्दै भन्सार जाँचपास कार्यालयले एक करोड १२ लाख थप रकम तिर्नुपर्ने निर्णय गरेको थियो।
उसले ती खर्चहरूलाई सवारी साधनको कारोबार मूल्यमा समावेश नगरी थोरै मूल्यमा जाँचपास गराई भन्सार महसुल छलेको भन्दै कार्यालयले २०८० पुस १३ मा एक करोड १२ लाख थप कर महसुल निर्धारण गरेको थियो। साइमेक्स सोही निर्णय विरुद्ध न्यायाधिकरणमा पुनरावेदन गएकोमा न्यायाधिकरणले ब्याट्री चार्ज लगायतका सामग्रीको अलग्गै भन्सार तिरेको देखिएको भन्दै वायर हाउस चार्जको हकमा भने मूल्य नजोडेकाले सो रकम मात्र असुल गर्नुपर्ने फैसला गरेको हो।
गत हप्ता आएको फैसलाको पूर्णपाठमा साइमेक्सले कस्ट सिटमा उल्लेख गरेको वायर हाउस चार्ज खर्च (ल्हासा) शीर्षकका सम्बन्धमा भन्सार जाँचपास परीक्षण कार्यालयले उक्त खर्च प्रति कार २ लाख २० हजार रुपैयाँ कारोबार मूल्यमा समावेश नगरेको ठहर गरो देखिन्छ।
साइमेक्सले कस्ट सिटमा उल्लेख गरेको वायर हाउस खर्च नियमित प्रकृतिको खर्च नभएकाले कर तिर्नु नपर्ने दाबी गरेको थियो।
उसले आयात गरेको विभिन्न सवारीसाधनहरू कोभिड १९ को विशेष परिस्थितिमा सवारीसाधनहरूको वायरहाउस ह्यान्डलिङ, मेन्टेनेन्सको जिम्मा दिएको, उक्त खर्च नियमित खर्च नभई परिस्थितिमा आधारित खर्च भएकाले सो प्रकृतिको खर्चलाई कारोबार मूल्यमा समावेश गर्नु नपर्ने दाबी गरेको थियो।
तर भन्सार ऐन २०२४ को दफा २ को उपदफा (ख) मा ‘कारोबार मूल्य भन्नाले पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको बिक्रेतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वास्तविक रूपमा भुक्तानी गरेको वा भुक्तानी गर्नुपर्ने रकममा त्यस्तो मालवस्तु नेपालको सीमासम्म ल्याउँदा लागेको वा लाग्ने सक्ने भाडा, बिमा तथा अन्स सम्बद्ध खर्च जोडी हुन आउने कुल रकम सम्झनु पर्छ’ भन्ने कानुनी व्यवस्था रहेको भन्दै न्यायाधिकरणले साइमेक्सको तर्क खण्डन गरेको देखिन्छ।
उक्त ऐनकै दफा १३ को उपदफा (४) मा ‘पैठारीकर्ताले उपदफा (घ) बमोजिम घोषणा गरेको कारोबार मूल्य उपदफा १ अनुरूपको भएमा भन्सार अधिकृतले त्यस्तो कारोबार मूल्यको आधारमा मालवस्तुको भन्सार मूल्य निर्धारण गर्नेछ।
त्यस्तो कारोबार मूल्यमा भाडा, बिमा तथा अन्य सम्बद्ध खर्च समावेश भएको नदेखिएमा भन्सार अधिकृतले सोका लागि लाग्न सक्ने अनुमानित रकम जोडी कारोबार मूल्य निर्धारण गर्नेछ’ भन्ने कानुनी व्यवस्था रहेको छ।
साइमेक्सले वायरहाउस खर्च नेपाली भन्सार विन्दुसम्म आउँदा लागेको बताएकोमा फैसलामा भने सीमासम्म लागेको खर्च नभएको स्पष्ट पारेको छ। फैसलामा भनेको छ, ‘भन्सार ऐन २०६४ ले नेपालको सीमासम्म अर्थात् भन्सार बिन्दु आइपुग्दा कोभिड १९ लगायत अरू विशेष परिस्थितिका कारण लाग्ने खर्चहरू कारोबार सम्बद्ध खर्च होइन भनी उल्लेख गरेको देखिँदैन। ऐनले नै पैठारीकर्ताले पैठारी गरेको मालवस्तुको बिक्रेतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वास्तविक रूपमा भुक्तानी गरेको वा भुक्तानी गर्नुपर्ने रकममा त्यस्तो मालवस्तु नेपालको सीमासम्म ल्याउँदा लागेको सम्बद्ध खर्चहरू कारोबार मूल्य भनी उल्लेख गरेको अवस्थामा नेपालको सीमासम्म अर्थात् भन्सार बिन्दुसम्म आइ नपुग्दै ल्हासामा भुक्तानी गरेको वायरहाउस खर्चलाई कारोबार मूल्यमा समावेश गर्नुपर्ने नै देखियो।’
भन्सार जाँचपास परीक्षण कार्यालयले पैठारीकर्ताको वायरहाउस खर्चलाई सवारीसाधनको कारोबार मूल्यमा समावेश गरी सोमा १० प्रतिशतका दरले भन्सार महसुल, मूल्य अभिवृद्धि कर र सडक निर्माण दस्तुर प्रयोजनको लागि कारोबार मूल्यमा थप हुने रकममा भन्सार महसुल र मूल्य अभिवृद्धि करसमेत थप गरी सोमा ५ प्रतिशतका दरले सडक निर्माण दस्तुरसमेत निर्धारण गरी भन्सार ऐन २०६४ को दफा ३४ को उपदफा २ बमोजिम सोको शतप्रतिशत जरिवाना लगाएको मिलेको देखिएको फैसलामा उल्लेख छ।
साइमेक्सको तर्फबाट पुनरावेदनको निवेदनमा चार्जर, एशोसिरिज आयात गर्दा कर छलेको नदेखिएको न्यायाधिकरणको फैसलाको पूर्णपाठमा उल्लेख छ।
कार्यालयले यस अगाडि थप कर र जरिवानासहित एक करोड १२ लाख साइमेक्सले तिर्नुपर्ने निर्णय गरेकोमा न्यायाधिकरणको फैसलापछि भने साइमेक्सले वायर हाउसको प्रतिकार २ लाखको दरले २० वटाको ४० लाख र त्यसको कर र जरिवानासहितको रकम तिर्नुपर्ने देखियो।
‘माथि उल्लेखित तथ्य, आधार एवं कारण समेतबाट पुनरावेदक पैठारीकर्ताले पैठारी गरेको गाडीको सम्बन्धमा भन्सार जाँचपास परीक्षण कार्यालयबाट २०८० पुस १३ मा भएको निर्णयको हकमा पुनरावेदकले छुट्टै प्रज्ञापन पत्र मार्फत आयात गरेको चार्जरबापतको खर्चलाई समेत गाडीको कारोबार मूल्यमा समावेश गरी भन्सार महसुल निर्धारण गरेको र जरिवाना रकममा समेत मूल्य अभिवृद्धि कर लगाउने गरी भएको हदसम्म मिलेको नदेखिँदा सो हदसम्म उल्टी हुने ठहर्छ। यसदेखि बाहेकको अन्य विषयमा पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन।’ फैसलामा भनिएको छ।
१० हजार अमेरिकी डलरमा किनेर ५९ लाखमा बेच्दै
साइमेक्सले नेपाली बजारसम्म आउँदा गाडीको मूल्यमा लुट नै मच्चाएको देखिन्छ। न्यायाधीकरणले अधिकतम खुद्रा मुल्य ५० लाख तोकेको कारलाई उसले ५९ लाख नेपाली रुपैयाँमा विक्री गर्दै आएको देखिन्छ।
चीनबाट ल्याउँदा बिवाइडी इ सिक्स (२०१५) को मूल्य १० हजार अमेरिकी डलर अर्थात् आजको नेपाली रुपैयाँ अनुसार १३ लाख ७० हजार ७ सय १ रुपैयाँमा खरिद गरेको देखिन्छ। नेपालमा सो कारको उपभोक्ता मूल्य ५९ लाख तोकेर विक्री गर्दै आएको छ।
साइमेक्सले न्यायाधिकरणमा जवाफ दिने क्रममा विवाइडी इसिक्स (२०१५) को प्रति कार १० हजार अमेरिकी डलरको दरले प्रज्ञापन पत्रमा घोषणा गरेको र विवाइडी इसिक्स (२०२१) को प्रतिकार २७ हजार अमेरिकी डलरको दरले प्रज्ञापन पत्रमा घोषणा गरेको उल्लेख छ।
न्यायाधिकरणको फैसलामा बिवाइडी इ सिक्स कार (2015) को अधिकतम खुद्रा मूल्य मूल्य अभिवृद्धि कर समेत जोडेर ५० लाख रहेको उल्लेख छ। तर विवाइडीको नेपाल एजेन्ट साइमेक्सले सो कार ५९ लाखमा विक्री गरेर प्रतिकार नौ लाख ग्राहकलाई ठगी गरेको देखिन्छ।
सम्बन्धित समाचार
पुष २२, २०८१ सोमबार १६:२६:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।