रोकिएन समताका सन्जेलको बदमासी, स्वीकृति नै नलिई गोकर्णेश्वरमा स्कुल भवन बनाउँदै, नगर प्रमुखको शंकास्पद निर्णय
काठमाडौँ : निजी स्कुल समताका सञ्चालक उत्तम सन्जेलले कानुनी प्रक्रिया बिना नै गोकर्णेश्वर नगरपालिकामा समता स्कुल सञ्चालन गर्न लागेको खुलेको छ। उनले स्कुल सञ्चालनको स्वीकृति नै नलिई गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर पाँचमा स्कुल बनाउन थालेका हुन्। स्कुलको नक्सा समेत पास भएको छैन।
सूचनाको हक प्रयोग गरी माग गरेको कागजपत्र अनुसार गोकर्णेश्वर नगरपालिकाले मङ्सिर १३ को नगर शिक्षा समितिको बैठकले ‘यस नगरपालिका अन्तर्गत वडा नम्बर ६, बौद्धमा सञ्चालित समता शिक्षा निकेतनले यसै नगरपालिकाको वडा नम्बर ५, नारायणटारमा स्थानान्तरण हुन पेस गरेको आवेदन अनुसार राष्ट्रिय दैनिक पत्रिकामा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको अवधिभित्र तपसिल बमोजिम विद्यालयको स्थान परिवर्तन गर्न स्वीकृति प्रदान गर्ने’ निर्णय गरेको उल्लेख छ।
तर निर्णय अनुसार न नगरपालिकाले स्कुल स्थानान्तरणको स्वीकृति दिएको छ न त पत्रिकामा ३५ दिने सूचना निकालेको छ। तर वडा नम्बर पाँच इस्टपोल स्कुल रहेकै ठाउँमा समताले स्कुलको संरचना बनाउँदै अन्तिम चरणमा पुगेको छ।
‘मैले सुरुमा मानेको थिइन। हाम्रो वडामा धेरै स्कुल छन्। त्यसमाथि इस्टपोल स्कुलकै नजिकै बन्ने कुरा भएपछि नाइँ नै भनेको थिएँ,’ नगरपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ५ का अध्यक्ष नारायण बहादुर सुवेदीले भने, ‘तर उहाँहरू(समता स्कुल सञ्चालक)ले नगरपालिकाबाट स्वीकृति लिइसकेको भन्नु भए पछि मैले जग्गा भाडा प्रमाणीकरण चैं गरिदिएको हुँ।’
आफू शिक्षा समितिमा नभएको र नगरपालिकाले स्कुलबारे के निर्णय गरेको भनेर ठ्याक्कै थाहा नभएको कारण अब स्कुललाई स्वीकृति दिने/नदिने भन्नेमा उनले प्रस्ट केही खुलाएनन्।
प्रवक्ता सुवेदीको भनाइले सन्जेलले नगरपालिकाबाट स्थानान्तरणको अनुमति पाएको भनेर वडालाई छक्याएर जग्गा भाडा प्रमाणीकरण गरेको देखियो।
अहिले त्यहाँ १० कोठे टहरा बनिरहेको छ। जस्ता र झ्याल ढोका मात्र राख्न बाँकी देखिन्छ। यो दसैँ अघि देखिनै बन्न सुरु भएको स्थानीयले जानकारी दिए।
‘विवादबारे सबै हेरे पछि मात्र स्वीकृति दिन्छौं’ नगर प्रमुख रिसाल
शिक्षा समितिको अध्यक्ष समेत रहेका नगर प्रमुख दीपक कुमार रिसालले समताको विवादबारे आफू जानकार रहेको र सबै कुरा बुझेर मात्र स्कुल सञ्चालनको स्वीकृति दिने बताए।
‘पहिला छ नम्बर वडामा थियो, अहिले पाँच नम्बर वडामा आउने भनेर समताले नगरपालिकामा निवेदन दिएको रहेछ। स्वीकृति दिने भनेर निर्णय गरेको हो,’ नगर प्रमुख रिसालले उकेरासँग भने ,‘पहिला ३५ दिने सूचना निकालेर प्रक्रियामा जान्छौँ। अनि सबै विवाद हेरेर अगाडि बढ्छौँ।’
मेयर रिसालले भनेको र शिक्षा समितिको बैठकले भने जस्तो गोकर्णेश्वर नगरपालिका वडा नम्बर छ बाट वडा नम्बर पाँचमा समता स्थानान्तरण हुन लागेको भने होइन।
कोभिड १९ भन्दा अगाडिदेखि नै समता शिक्षा निकेतन ‘समता स्कुल’को नाममा काठमाडौँ महानगर अन्तर्गतको वडा नम्बर ६ बौद्ध, कुमारीगालमा सञ्चालनमा थियो। यसबारे गोकर्णेश्वरका सबै पदाधिकारीहरू जानकार समेत छन्। तर कागज अनुसार कुरा गर्ने भन्दै उनीहरू पन्छिने गरेका छन्।
जबकि २०८० भदौ २६ गते नै नगर शिक्षा शाखाले ‘हाल यस नगरपालिकाको सीमा क्षेत्रमा सञ्चालनमा नभएको पाइएकाले अब उप्रान्त त्यस विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारीको आइएएमएस लगायतका अभिलेख सम्बन्धित पालिकामार्फत नै अपडेट गर्नु गराउनु’ भन्दै समता शिक्षा निकेतनकै नाममा पत्र काटेको थियो।
समता शिक्षा निकेतनको विद्यार्थीलाई समता स्कुलमा पढाएर आठ कक्षाको परीक्षाको लागि समताले ‘समता शिक्षा निकेतन’ कै नाम प्रयोग गरेर गोकर्णेश्वर नगरपालिकाको अनुमति लिने गरेकोबारे उकेराले यस अगाडि नै खुलासा गरिसकेको छ।
बारम्बार अनुमति लिन आएपछि नगर शिक्षा शाखाले उक्त पत्र काट्न बाध्य भएको बताएका थिए। तर आफ्नै पत्रको उलङ्घन गर्दै विद्यार्थीको भविष्य बिग्रने भन्दै त्यस वर्ष आठ कक्षाको परीक्षामा विद्यार्थीलाई सामेल गराउन नगरपालिकाले स्वीकृति दियो।
नगरपालिकाका शिक्षा शाखा प्रमुख दण्डपाणि शर्माले ‘सन्जेलले विद्यार्थीहरू ल्याएर, विद्यार्थीको बिचल्ली हुन नदिनु भन्दै गुहारेपछि अन्तिम पटकको लागि अनुमति दिएको’ बताएका थिए।
तर २०८१ मङ्सिरमा एकाएक समतालाई स्वीकृति दिने प्रक्रिया अगाडि बढाउने निर्णय नगर शिक्षाले नै गर्यो। तर स्कुल बन्नै लाग्दा समेत समता सञ्चालनको स्वीकृतिको प्रक्रिया भने अगाडि बढेको छैन।
सन्जेलले उस्तै उस्तै नामका दुई स्कुल चलाउँदै आएका छन्। एउटा नाफामूलक निजी हो भने अर्को गुठी अन्तर्गत। यस अघि नगरपालिकाले समताको लागि भनेर दुई लाख रुपैयाँ बजेट समेत छुट्टाएको पाइएको थियो। भौतिक रूपमा नगरपालिकामा समता नभएको र यो नाफामूलक भएको भन्दै पछि नगरपालिकाले नै बजेट रोक्का समेत गरेको थियो।
काठमाडौँ महानगरपालिकामा अवैध समता
अहिले सन्जेलले ‘स्थानान्तरण’ गर्ने भनेको महानगरपालिका वडा नम्बर ६ मा परेको समता स्कुल आफै पनि अवैध भएको महानगरले प्रतिवेदन नै सार्वजनिक गरिसकेको छ। उकेराले समताको नाममा सन्जेलले गरिरहेको बदमासीबारे निरन्तर समाचार प्रकाशित गरिरहेको छ। उकेरामा प्रमाणसहित आएको समाचारको आधारमा महानगरपालिकाकी शिक्षा शाखा अधिकृत विनीता महत सहितको टोली २०८० साल चैत्रमा समताको अनुगमनमा गएको थियो।
अनुगमनमा महानगरले ‘गोकर्णेश्वर नगरपालिकामा दर्ता भएको ‘समता शिक्षा निकेतन’को विद्यार्थी बौद्धमा रहेको ‘समता स्कुल’मा पढाएको, काठमाडौँ महानगरबाट कक्षा ११ र १२ को अनुमति नलिएको र मापदण्ड अनुसार भवन नरहेको’ ठहर गरेको थियो।
काठमाडौँमा मात्रै हैन गोरखा, कालिकोट, सिन्धुपाल्चोक, रामेछाप, ललितपुर, महालक्ष्मी नगरपालिका सबैतिरका समतामा सन्जेलले बदमासी गरेको खुलिसकेको छ।
व्यक्तिगत जग्गा दान लिएर अलपत्र पार्ने, स्कुल खोलेर अलपत्र पारेर सम्पर्कहीन हुने, घर भाडा नतिर्ने, शिक्षक र कर्मचारीलाई पारिश्रमिक नदिने, ‘ठूला’ अनुहारको आडमा रकम स्कुलको लागि पैसा लिने र त्यसको अभिलेख कतै पनि सार्वजनिक नगर्ने लगायतका बदमासीमा सन्जेल संलग्न देखिएका छन्।
उनको बदमासीबारे उकेराले उनीसँग कुरा गर्ने प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेका छैनन्।
घर भाडा नतिरी स्कुल नै बन्द गरेर 'फरार' भए पछि समता र सञ्चालक संजेलविरुद्ध कालिकोट जिल्ला अदालतमा मुद्दा समेत दर्ता छ। समताका लागि सहयोग जुटाउन सन् २०२२ नोभेम्बरमा अमेरिकामा ‘समता साँझ’ आयोजना गरेर तीन लाख बढी अमेरिकी डलर सहयोग रकम उठ्यो। तर सो रकम कहाँ गयो कतै विवरण फेला पर्दैन।
समताको पीडितहरू भने स्थानीय सरकारदेखि अदालतसम्म पुगिरहेका छन्। अहिले गोकर्णेश्वरमा जग्गा भाडामा दिएका जग्गाधनी गोविन्द घिमिरेका अनुसार समतासँग १० वर्षको लागि भाडामा दिने सम्झौता भएको छ।
‘गोठाटारकै मान्छे भनेर भाडामा दिएको हो। सम्झौता हुने बेलासम्म यसको विवादबारे केही थाहा भएन। अब अहिले सम्झौता नै भइसक्यो। यति खेर थाहा पाएर म गरौँ!’ उनले भने।
पुष २, २०८१ मंगलबार २०:५३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।