समताको बदमासी १२ : महानगरमा सञ्जेलको बदमासीमा बालेन मौन, जिल्लैपिच्छे ठगीको उजुरी

समताको बदमासी १२ : महानगरमा सञ्जेलको बदमासीमा बालेन मौन, जिल्लैपिच्छे ठगीको उजुरी

काठमाडौँ : सस्तोमा गुणस्तरीय शिक्षाको आवरणमा ठगी धन्दा चलाएका उत्तम सन्जेलले अवैध रूपमा विद्यालय चलाएको पुष्टि हुँदा पनि काठमाडौँ महानगरपालिका मौन छ।

महानगरपालिकाले वडा नम्बर ६ बौद्धमा रहेको ‘समता स्कुल’ को अनुगमनमा विद्यालय अवैध रहेको, दुई नगरपालिकाका अलग-अलग विद्यालय दर्ता गरेर एकै ठाउँमा पठाएको, एकै विद्यालयको दुई हाजिरी गराएर झुक्याइरहेको फेला पारेको थियो।

उनले नाफा नलिने गरी गुठी विद्यालय खोलेको भन्दै नाफा बाँड्ने प्रालिबाट समता चलाइरहेका छन्। काठमाडौँ महानगरपालिकाको अनुगमनमा गोकर्णेश्वर नगरपालिकामा ‘समता शिक्षा निकेतन’ विद्यालय दर्ता गरेको तर विद्ध्यार्थीहरु भने काठमाडौँ महानगरमा दर्ता रहेको समता स्कुलमा पढाइरहेको फेला पारेको थियो।

महानगरले आफ्नो क्षेत्रमा रहेको ‘समता स्कुल’ को स्थलगत अनुगमन गर्दा गोकर्णेश्वरको ‘समता शिक्षा निकेतन’ को विद्यार्थी पढेको पाइएको प्रतिवेदनमै उल्लेख छ। प्रतिवेदन अनुसार समताले कक्षा ११ र १२ मा अवैध रूपमा विद्यार्थी भर्ना गरेर पढाइरहेको समेत खुलेको छ।

‘समता स्कुलको नाममा समता शिक्षा निकेतनका विद्यार्थी पनि एउटै कक्षामा राखेर पढाइएको भन्ने गुनासो विद्यालय अनुगमन गरी हेर्दा सही देखियो,’ उकेराले सूचनाको हक प्रयोग गरी मागिएको प्रमाणित प्रतिवेदनमा उल्लेख छ, ’शिक्षा ऐन तथा नियमावलीमा दुई वटा पालिकाबाट अनुमति लिएर एउटै ठाउँमा विद्यालय सञ्चालन गर्ने व्यवस्था नभएकाले सो कार्य नगर्न र कक्षा दशसम्म मात्र अनुमति लिएकाले कक्षा १० सम्म मात्र विद्यालयमा पठनपाठन गराउने वा कक्षा १२ सम्म पठनपाठन गराउने भए अनुमतिको प्रक्रियामा आउन सुझाव सहित प्रतिवेदनको अन्त्य गरिन्छ।’

समताको नाममा विभिन्न जिल्लामा विद्यालय खोलेर जग्गा भाडा नतिरेको, स्थानीय कर नतिरेको र शिक्षकहरूलाई पारिश्रमिक नदिएर एकाएक विद्यालय बन्द गरेकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गरेको थियो।

उकेराको खोजको आधारमा महानगरको शिक्षा विभागले चैत १६ गते स्कुलको स्थलगत अनुगमन गरेको थियो। अनुगमन टोलीले अवैध रूपमा दुइटा विद्यालयको विद्यार्थीहरूलाई एकै ठाउँमा राखेको प्रमाणित गर्यो। तर अझैँ कुनै कारबाही गरेको छैन।

भ्रममा विद्यार्थीअभिभावक  स्थानीय सरकार

सन्जेलले अझै ‘समता शिक्षा निकेतन’ र ‘समता स्कुल’ एउटै हुन् झैँ गरी विद्यार्थी र अभिभावकलाई भ्रममा राखेर भर्ना गरिरहेका छन्।

महानगरको प्रतिवेदनमा ’प्रधान अध्यापक तथा अन्य शिक्षकहरूसँग कुराकानी गर्दा हाल समता स्कुल मात्र भौतिक रूपमा रहेको र यसअघि गोकर्णेश्वरमा सन्चालन भइरहेको विद्यालयको संरचना अस्तित्वमा नरहेपछि त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरू यसै विद्यालयमा पढ्ने गरेको’ उल्लेख छ।

अवैध समता कलेजको उद्घाटनमा सहभागी कलाकारसहितको टोली। तस्बिर : समतासमता शिक्षा निकेतन सन्जेलले सुरु गरेको पहिलो विद्यालय हो। यसको उद्गम स्थल गोकर्णेश्वर नगरको वडा नम्बर ६ हो। तर त्यहाँको भाडा विवाद भएपछि उनले महानगरको वडा नम्बरमा ६ बौद्धमा जग्गा भाडामा लिए।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार विद्यालय मातहतका सम्पूर्ण शिक्षाको जिम्मेवारी पालिका अन्तर्गत छ। तर उनले एउटा पालिकाबाट अर्को पालिकामा विद्यालय सञ्चालन गर्दा दुवै निकायलाई सामान्य जानकारी समेत दिएका छैनन्।

उनले काठमाडौँ महानगरमा चलाइरहेको समता स्कुल निजी विद्यालय हो। उनले निजी विद्यालय किनेर त्यसको नाम ’समता स्कुल’ राखेका थिए। उता गोकर्णेश्वरमा भने गुठी अन्तर्गतको हो। तर उनले गुठी अन्तर्गतको विध्यार्थीहरु पनि निजी विद्यालयमा राखेर शुल्क उठाइरहेका छन्।

स्थलगत अनुगमनको क्रममा अनुगमन टोलीले स्कुलको शिक्षक तथा विद्यार्थीको अभिलेख माग्दा हाजिरी रजिस्टर देखाइएको थियो, जसमा एउटै कक्षाको दुई वटा हाजिरी भेटिएको प्रतिवेदनमै उल्लेख छ।

‘कुन समता स्कुल र कुन समता शिक्षा निकेतनका विद्यार्थी, हाजिरी हेरेर छुट्टाउन नसकिने खालको थियो। यस्तै शिक्षकको विवरण पनि उहाँहरूले पढाउने र नपढाउने गरेर जम्मा ६० जना स्टाफ रहेको भन्नुभयो भने फेरी कक्षा १२ सम्म मात्र पढाउने स्टाफ २२ जना रहेको जानकारी दिनुभयो,’ प्रतिवेदनमा लेखिएको छ ।

हाजिरीको पाना उप्किएर हाजिरी नगरेको

शिक्षक र कर्मचारीको हाजिरी हेर्दा २६ जनाको नाम देखिएता पनि टुईवटा पाना भने खाली रहेको भन्दै प्रतिवेदनमा हाल कार्यरत प्रधानाध्यापक विनोद खड्काले समेत हालसम्म हाजिरी नगरेको लेखिएको छ। यसबारे प्रधानाध्यापक खड्कालाई प्रश्न गर्दा ‘हाजिरीको पाना उप्किएर हाजिरी नगरेको’ महानगरलाई जवाफ दिएको देखियो।

यसैगरी समतामा शिक्षकको नियुक्ति तथा तलब भत्ताबारे पनि महानगरले खोजी गरेको देखियो। त्यसमा पूर्व विद्यार्थीहरूले स्वैच्छिक रूपमा पढाउने गरेको र कतिपयले स्वयंसेवकको रूपमा पढाउन आउने गरेको दाबी गरिएको छ।

समता स्कुलले अनुमती नै नलिई ११ र १२ कक्षामा समेत भर्ना लिएर पढाउने गरेको छ। गोकर्णेश्वरमा दर्ता रहेको ‘समता शिक्षा निकेतन’ले कक्षा १२ सम्म पढाउने अनुमति लिएको देखियो। यता काठमाडौँको समता स्कुलले कक्षा १० सम्म मात्र पठाउने अनुमति पाएको छ। तर उनले समता निकेतनले गोकर्णबाट लिएको अनुमतिको दुरुपयोग गर्दै यता काठमाडौँमा रहेको निजी विद्यालय समता स्कुलमा कक्षा १२ सम्म पढाइरहेका छन्।

समतामा आएको सहयोग रकमको विवरण समेत कतै खुल्दैन। नेपाल बाहिर समताको नाममा कार्यक्रम गरेर सन्जेलले रकम लिने गरेका थिए। तर त्यसको विवरण पनि कतै भेटिएन। विदेशबाट संस्थागत रूपमा आएको सहयोगबारे समाज कल्याण परिषद्को अभिलेखमा हेर्दा कुनै तथ्याङ्क भेटिएन।

जिल्लैपिच्छे बदमासी गरेर सम्पर्कहीन

काठमाडौँमा मात्रै हैन गोर्खा, कालिकोट, सिन्धुपाल्चोक, ललितपुर, महालक्ष्मी नगरपालिका सबैतिरका समतामा बदमासी देखियो।

ललितपुरमा समता स्कुल  खोलेर स्थानीय कर र जग्गा भाडा नतिरी महालक्ष्मी नगरपालिकामा विद्यालय सारे। त्यहाँ स्थानीय निकायबाट अनुमति नै लिइएको छैन।

गोर्खामा अलपत्र समता।गोर्खामा विद्यालय खोल्ने भनेर स्थानीय राजुबाबु श्रेष्ठले पाँच रोपनी जग्गै दान गरे। रोटरीले ५० लाख खर्च गरेर भवन बनाइदियो। तर अलपत्र पारेर सञ्जेल सम्पर्कहीन भए।

भवन नबनेसम्मका लागि स्थानीय किरण बहादुर थापामगरले वार्षिक ८० हजारमा चार रोपनी जग्गामा टहरा बनाएर विद्यालय चलाउन दिएका थिए। पाँच वर्ष विद्यालय चलाएपछि सञ्जेल सम्पर्कहीन भए। मगरले भाडा उठाउन स्थानीय निकायमा उजुरी दिएका छन्। श्रेष्ठले दिएको जग्गामा रोटरीले बनाएको भवन अलपत्र छ।

सिन्धुपाल्चोकको मेलम्चीमा ०६५ साल देखि लागु हुने गरी सन्जेलले मेलम्चीका स्थानीय रेवती दुलालको सात रोपनी दश आना जग्गा भाडामा लिएर समता खोले। भाडा २३ लाख पुगेपछि विद्यालय बन्द गरेर सम्पर्हिन भए।

घर भाडा नतिरी विद्यालय नै बन्द गरेर 'फरार' भए पछि समता र सञ्चालक सन्जेलविरुद्ध कालिकोट जिल्ला अदालतमा मुद्दा दर्ता भयो। जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर १ का स्थानीय नरेन्द्रप्रसाद उपाध्यायले २०७५ वैशाख १ गतेदेखि समताको लागि घर भाडामा दिएको तर १० लाख ८० हजार घर भाडा नदिई फरार रहेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो।

समताका लागि सहयोग जुटाउन सन् २०२२ नोभेम्बरमा अमेरिकामा ‘समता साँझ’ आयोजना गरेर तीन लाख बढी सहयोग उठ्यो। तर सो रकम कहाँ गयो कतै विवरण फेला पर्दैन।

समताको सञ्जाल बढाउन मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, जीवा लामिछाने, आनी छोइङ, लगायतकाहरु सक्रिय देखिन्थे। गोर्खाको विद्यालयदेखि अधिकांश स्थानमा विद्यालयहरू उद्घाटनमा उनीहरू सहभागी भएका थिए। तर सञ्जेलको बदमासीको फेहरिस्त सार्वजनिक भएपछि उनीहरू मौन छन्।

समताको आवरणमा सञ्जेलको बदमासी

साउन २४, २०८१ शुक्रबार १२:५४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।