छानबिनमा निकितालाई नजोड्न महानगर गएरै थर्काएका थिए डीपीले, रविले भेटेका थिए बालेन

छानबिनमा निकितालाई नजोड्न महानगर गएरै थर्काएका थिए डीपीले, रविले भेटेका थिए बालेन

काठमाडौँ : साई स्वागत सहकारीका बचतकर्ताको रकम अपचलनको उजुरी परेसँगै काठमाडौँ महानगरपालिकाले छानबिन सुरु गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल महानगर पुगेर  निकिता पौडेलको संलग्नता नदेखाउन कर्मचारीलाई थर्काएको एक कर्मचारीले दाबी गरेका छन्।

महानगर स्रोतका अनुसार त्यो बेलामा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए भने डीपी श्रममन्त्री। अर्यालले बिदाको दिन पारेर महानगरपालिकाको सहकारी विभाग आउने जानकारी दिएपछि विभागका केही कर्मचारीहरू बिदाको दिनमा पनि कार्यालय आएका थिए।

अर्यालले विभागका कर्मचारीसामु ‘कुनै हालतमा निकिताको संलग्नता नदेखाउन’ थर्काएका थिए।

‘डीपीसहितका नेताहरू आउनु भएको थियो। उहाँहरूले साई स्वागत सहकारीबारे परेको उजुरी र छानबिनबारे चासो राख्नुभयो,’ थर्काइ खाएकामध्ये एक कर्मचारीले सोमबार उकेरासँग भने ‘उहाँहरूको मुख्य चासो निकिताबारे थियो। लिएको ऋण तिरिसकेको अनि उपाध्यक्षबाट समेत राजीनामा दिएकाले निकितालाई अनुसन्धानमा जोडेमा राम्रो नहुने भन्दै थर्काउनुभयो।’

२०८० असार २ मा महानगरपालिकामा साई स्वागत सहकारीका बचतकर्ताले उजुरी दिएपछि महानगरपालिकाले सहकारीको कार्यालयमा छापा मारेर छानबिन सुरु गरेको थियो।

यसबारे अर्यालसँग जिज्ञासा राख्दा उनले १५ वर्ष अगाडि काम परेर महानगर गएदेखि अहिलेसम्म आफू नगएको दाबी गरे।

‘१५ वर्ष अगाडि महानगरमा काम परेर गएपछि अहिलेसम्म त्यहाँ टेकेकै छैन,’ डीपीले दाबी गरे ‘मैले त्यस्तो गरेकै छैन।’

दोस्रो चरणमा रवि-बालेन भेट

महानगरपालिका निकिता उपाध्यक्ष रहेको सहकारीबारे छानबिनमै रहेको बेलामा तत्कालीन गृहमन्त्री रवि र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच समेत भेट भएको थियो।

गृह मन्त्रालयमा रहेको गृहमन्त्रीको कार्यकक्षमा दुबैबीच २०८० चैत २२ मा भेट भएको थियो। दुबैबीचको भेटबारे बालेनको सचिवालयले पुष्टि गर्दै गृहमन्त्री रविले भेट्न चाहेपछि मेयर गएको र भेटमा ठमेल लगायतका क्षेत्र २४ सै घण्टा खोल्नेबारे छलफल भएको दाबी गरेका थिए।

छानबिनमा देखियो अपचलनमा संलग्न

तर महानगरको सहकारी विभागले गरेको अनुसन्धानमा निकिताले राजीनामा दिएको भनिए पनि राजीनामा नभेटिएको, सञ्चालक समिति वा साधारण सभाले पारित गरेको समेत नदेखिएको भन्दै उनी उपाध्यक्ष नै कायम रहेको निष्कर्ष निकाल्यो।

सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम नपाएपछि महानगरमा उजुरी गरेपछि सहकारीले अध्यक्ष र उपाध्यक्षमा नयाँ व्यक्ति नियुक्त गरे पनि दुवै व्यक्ति सहकारीको सदस्य नै नरहेको र नियुक्ति नै गैर कानुनी रहेको महानगरको प्रतिवेदनमा उल्लेख छ।

भरतमणि थापा (भरतमणि जङ्गम) को ठाउँमा निमकुमारी छन्तेललाई नियुक्त गरियो। सहकारीको सदस्यमध्येबाट सञ्चालक समिति चयन हुने भए पनि छन्तेल सो सहकारीको सदस्य समेत देखिइनन्।

प्रतिवेदनमा निकिताबारे उल्लेख विवरण।२०७९ मंसिर १२ मा साधारण सभा राखेर कार्यसमितिका सदस्य नियुक्त गरिएको थियो। साधारण सभामा नरहेकी निशा खड्कालाई निकिताको ठाउँमा उपाध्यक्ष नियुक्त गरिएको निर्णय भयो। यी दुवै निर्णय कानुन सम्मत नभएको महानगरको प्रतिवेदनमा उल्लेख छ।

उकेराले सोमबार महानगरको ढड्डामा सो सहकारीको विवरण हेर्दा अध्यक्ष छन्तेल र उपाध्यक्ष खड्काको अनिवार्य पेस गर्नु पर्ने  नागरिकता समेत पेस भएको देखिएन।

छानबिनमा छन्तेललाई थाहै नदिई अध्यक्ष बनाएको समेत खुल्यो। महानगरस्रोतका अनुसार सहकारीको रकम अपचलनमा उनको नाम जोडिएपछि उनी आफू कसरी अध्यक्ष भएको थाहा नभएको भन्दै पुगेकी थिइन्।

प्रतिवेदन कार्यान्वयन गर्दै महानगर

काठमाडौँ महानगरपालिकाले साई स्वागत सहकारी सहित ४० सहकारीको आर्थिक अवस्था र कानुनी पक्षबारे अध्ययन गरेर प्रतिवेदन बनाएको थियो। यसमध्ये सात वटाको थप अनुसन्धान गर्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाए पनि ३३ वटाको प्रतिवेदन भने महानगरमै छ।

महानगर सहकारी विभागका प्रमुख नवराज ढकाल प्रतिवेदन अनुसार समस्या भएका सहकारीको वर्गीकरण गरिएको र वर्गीकरण अनुसार प्रहरीमा पठाउनुपर्नेलाई पठाएर बाँकीबारे के गर्ने छलफल भइरहेको बताए।

'हामीले अनुसन्धान गरेका सहकारी नराम्रा छैनन्। अरूलाई नमुना हुने गरी सञ्चालन भएका राम्रा सहकारी पनि छन्,’ ढकालले भने ‘केही सहकारीहरू प्रहरीले अनुसन्धान गर्नुपर्ने प्रकृतिका र अर्को महानगरले नै सुधार गर्न ताकेता गर्नुपर्ने खालका छन्। सुधार्न सक्नेलाई यतैबाट काम गरिरहेका छौँ।'

साई स्वागत सहकारीको सवालमा के गर्नुहुन्छ भन्ने उकेराको प्रश्नमा ढकालले सहकारीले गल्ती गरेको सुरुवातमा पत्र पठाएरै सुधार्न खोजिने र त्यसपछि पनि सुधार नभए के गर्ने निर्णय लिने बताए।

सम्बन्धित समाचार

कात्तिक ११, २०८१ सोमबार १७:२६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।