बाँकेमा झाडापखाला जस्तै लक्षण भएको अज्ञात रोगबाट ४ जनाको ज्यान गयो
काठमाडौं : अज्ञात रोगका कारण बाँकेको नरैनापुरमा एकै परिवारका तीन जना र एक बालकसहित चार जनाको मृत्यु भएको छ। नरैनापुर गाउँपालिका-३ गेग्ली गाउँमा चार जनाको ज्यान गएको नरैनापुर स्वास्थ्य शाखाका प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए।
एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उहाँकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको यही भदौ १४, १५ र १६ मा मृत्यु भएको हो।
'सुरुमा उषा पासीलाई सामान्य टाउको दुख्यो, त्यसपछि पेट दुख्यो र दुईदेखि तीन पटकसम्म पखाला लागेको रहेछ', परिवारको भनाइलाई उद्धृत गर्दै स्वास्थ्य शाखा प्रमुख शाहले भने, 'झाडापखाला नै हो भनेर हामीले भन्न सक्दैनौँ। किनकी दुईदेखि तीन पटकसम्म भएको दिसालाई झाडापखाला भन्न मिल्दैन।'
उषाका श्रीमान् छोटेलाल पासीका अनुसार उषालाई केही दिन अघिदेखि टाउको र पेट दुख्नुका साथै ज्वरो आएपछि नजिकै रहेको भारतीय क्लिनिकमा उपचार गरिएको थियो। उपचारको क्रममा उषाको ज्यान गएको श्रीमान् छोटेलालको भनाइ छ।
'टाउको दुख्यो, पटे दुख्यो भन्दै थिइन्। पछि एक दुई चोटी पातलो दिसा गरिन्। उपचार चल्दै गर्दा हामीलाई छाडेर गइन्', छोटेलालले भने।
श्रीमती उषाको मृत्यु भएको एकदिन नबित्दै ७५ वर्षीया उहाँकी ठुलीआमा शान्ति पासीको पनि उस्तै दुखाइको कारण मृत्यु भयो।
तीन दिनमा एकै परिवारका तीन जनाको ज्यान गएको सोही गाउँमा १६ गते उस्तै लक्षण, दुखाईले १२ वर्षीय बालक सुफियान अलि सेखको पनि ज्यान गएको नरैनापुर स्वास्थ्य शाखा प्रमुख शाहले जानकारी दिए। उनका अनुसार मृत्यु भएका चारै जनाको उपचार भारतीय सीमासँग जोडिएको ‘प्राईभेट क्लिनिक’मा भएको थियो।
नरैनापुर-३ का वडाध्यक्ष अजय मिश्रका अनुसार अहिलेसम्म ४० जनाको स्वास्थ्य जाँच गराइएको छ। जसमा सात जनाको अवस्था गम्भीरबाट विस्तारै सामान्य बन्दै गएको छ।
भदौ १६, २०८१ सोमबार १९:०४:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।