नागरिकता किर्तेमा हाजिर जमानीमा छुटेका कैलाश सिरोहिया प्रहरीलाई थाहै नदिई रुस गए

नागरिकता किर्तेमा हाजिर जमानीमा छुटेका कैलाश सिरोहिया प्रहरीलाई थाहै नदिई रुस गए

काठमाडौँ : नागरिकताको विषयमा अनुसन्धानको दायरामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया बिना अनुमति रुस गएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धानको दायरामा रहेका उनले अनुसन्धानरत निकायलाई कुनै जानकारी नदिई रुस गएका हुन्।

अध्यागमन विभागको रेकर्ड अनुसार उनी नयाँ राहदानी निकालेर २०२४ जुलाई २३ ( २०८१ साउन ८) मा १०: ४५ मा विमानस्थलबाट बाहिरिएका छन्। उनी सामान्य राहदानीमा रुसका लागि गएका हुन्। उनले रुस भ्रमणका लागि प्रयोग गरेको राहदानी हालसालै निकालिएको देखिन्छ।

नागरिकता किर्ते लगायतका आरोपमा अनुसन्धानका दायरामा रहेका उनी स्वास्थ्य समस्याका कारण धनुषाबाट ललितपुरको अस्पतालमा आइपुगेका थिए। अस्पतालमा उपचाररत रहेकाले ‘खोजेको बेलामा उपस्थित गराउने’ सर्तमा छोरा सम्भव सिरोहियाको जमानीमा उनी रिहा भएका थिए। उनी अहिले पनि जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसन्धानको दायरामा छन्।

अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई हाजिर जमानी या धरौटीमा छाड्ने सर्त भनेको नभाग्ने, प्रमाण नष्ट गर्ने जोखिम नभएको लगायतका सर्तकै अधीनमा हो। यस्ता व्यक्ति देश बाहिर जानु पर्ने अवस्थामा अनुसन्धान अधिकारीको पूर्व अनुमति आवश्यक पर्छ।

तर जब सिरोहिया हाजिर जमानीमा रिहा भए अनुसन्धानरत निकायले उनलाई देश बाहिर जान रोक्न अध्यागमन विभागमा उनीबारे विवरण पठाएको देखिएन। सुरक्षा निकायको यही कमजोरीमा खेल्दै सिरोहिया जिल्ला प्रहरी कार्यालय धनुषाको अनुमति नै नलिई रुस गएका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी नेपालबाट बाहिरिएको रेकर्ड छ। तर उनी नेपाल भित्रिएको रेकर्ड छैन। यसको आधारमा उनी अहिले पनि नेपाल बाहिरै रहेको देखिन्छ।

हामीसँग अनुमति लिएको छैन : धनुषा प्रहरी

हाजिर जमानी होस् या धरौटीमा रिहा भएका व्यक्ति हुन् कुनै काम विशेषले देश बाहिर जानुपर्ने अवस्था भएमा अनुसन्धानरत निकायको अनुमति लिएर जान पाइन्छ। सम्बन्धित व्यक्ति नेपाल बाहिर गएको अवस्थामा भाग्ने जोखिम हो या हैन त्यसको आधारमा सम्बन्धित निकायले अनुमति दिन पनि सक्छ।

तर रुस जान सिरोहियाले कुनै पनि निकायलाई जानकारी गराएको देखिएन। उनी धनुषाबाट हेलिकप्टरमा एयरलिफ्ट गरेर जेठ १५ गते धनुषाबाट काठमाडौँ आएर ललितपुरमा रहेको कान्तिपुर टेलिभिजनका साझेदार उपेन्द्र महतो सञ्चालक रहेको नेपाल मेडिसिटी अस्पतालमा भर्ना भएका थिए।

सो अस्पतालको सिसियुमा भर्ना भएर उपचाररत रहेको उनको छोरा सम्भव सिरोहियाको निवेदनका आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई हाजिर जमानीमा रिहा गरेको थियो। हाजिर जमानीको सर्त प्रहरीले खोजेको बखत उपस्थित हुने थियो।

उनी रुस गएको बारेमा ललितपुर प्रहरीलाई पो जानकारी छ कि? जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनाले मुद्दा जिल्ला प्रहरी कार्यालय धनुषामा रहेको र उनी उपचारका लागि आफ्नो कार्यक्षेत्रमा रहेको अस्पतालमा आएकाले केवल हाजिर जमानीमा रिहा मात्र गरेको र बाँकी प्रक्रिया सबै जिल्ला प्रहरी कार्यालय धनुषाको हुने बताए।

यसबारे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले आफ्नो कार्यालयमा त्यस्तो केही नआएकै कतै जिल्ला सरकारी वकिल कार्यालयबाट अनुमति पो लिएको हो कि भने। उनले भने अनुसार जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायधीवक्ता कार्यालयका गुनासो सुन्ने अधिकारी सुदिकुमार दंगालले सिरोहिया नेपाल बाहिर जाने बारेमा कुनै निवेदन नआएको र यसबारे सरकारी वकिलको कार्यालयले कुनै अनुमति पनि नदिएको बताए।

‘उहाँको निवेदन पनि आएको छैन। यसबारे हामीले कुनै अनुमति दिएका पनि छैनौँ’ उनले भने।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी रञ्जन अवाले हाजिर जमानीमा छुटेका कुनै व्यक्ति काम विशेषले देश बाहिर जानुपर्ने अवस्था आएका कार्यालयमा निवेदन दिनुपर्ने र निवेदन र उनी विदेश जान चाहेको कारण हेरेर अनुमति पनि दिन सकिने जानकारी दिँदै सिरोहियाको हकमा निवेदन पनि नआएको र उनी विदेश गएकोबारे कुनै जानकारी नभएको उकेरालाई बताए।

‘पहिला निवेदन आए न हामीले विदेश जान दिने या नदिने भन्ने निर्णय गर्ने हो। कार्यालयमा निवेदन नआएकाले यसबारे कार्यालयलाई कुनै जानकारी छैन।‘

घटना के हो?

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट निकालेको नागरिकता नम्बर पहिल्यै अर्कै व्यक्तिको नाममा जारी भइसकेको देखिएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानमा उनको बाबुको नागरिकता अङ्गीकृत रहेको र उनका दाजु र एक दिदीले जन्मको आधारमा नागरिकता लिए पनि उनको नाममा वंशजको नागरिकता रहेको र उनले नागरिकता लिँदाको आवश्यक कागजपत्रहरू समेत कार्यालयमा नरहेको देखिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानमा उनले कम्पनी रजिस्ट्रार कार्यालयमा बुझाएको विवरणमा कम्पनीपिच्छे अलग अलग नागरिकता नम्बर प्रयोग गरेको खुलेपछि अनुसन्धान गर्दा उनले ती सबै दोष कम्पनी सचिवलाई दिएका थिए।

अनुसन्धानमा ढड्डा च्यातिएको, नागरिकता लिन आवश्यक प्रमाणहरू फेला नपरेको भन्दै प्रहरीले  सिरोहियालाई नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र  प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहाललाई अनुसन्धानको दायरामा ल्याएको थियो।

पक्राउ अनुमति लिए पनि उमेरका कारण भट्टराईसँग प्रहरीले घरमै आएर बयान लियो। काशीराजलाई प्रहरी कार्यालयमा बोलाएर प्रारम्भिक बयान लिएकोमा पछि थप बयान लिनुपर्ने देखिएपछि खोजी गर्दा उनी सम्पर्कहीन भए।

यो बिचमा प्राप्त सबै कागजातहरू प्रहरीको केन्द्रीय प्रयोगशालामा परीक्षणका लागि पठाइयो। अनुसन्धानमा भट्टराई र दाहालको मिलेमतोमा प्रमाणै नपुगी प्रभावको आधारमा सिरोहियालाई वंशजको नागरिकता दिएको देखिएपछि प्रहरीले सोही अनुसन्धान जिल्ला सरकारी वकिलको कार्यालयमा प्रस्तावित राय सुझाव बुझाउने तयारी गर्यो।

प्रस्ताव बुझाउने तयारीकै क्रममा तत्कालीन गृहमन्त्री रवि लामिछानेले केही समय हेर्न निर्देशन दिए। यही बिचमा सरकार बदलियो र गृहमन्त्रीमा रमेश लेखक आएपछि अनुसन्धान प्रक्रिया अलपत्र परेको छ। प्रहरीले न प्रस्तावित राय बुझाउन सकेको छ। न मुद्दा टुङ्ग्याउन नै सकेको छ।

अनुसन्धान कुन अवस्थामा छ ? उकेराको जिज्ञासामा रञ्जन अवालेले अनुसन्धानका क्रममा केही जानकारीका लागि विभिन्न निकायमा पठाएको पत्र अनुसार केही निकायबाट जानकारी नआएकाले विषय अनुसन्धानकैक्रममा रहेको दाबी गरे।

सम्बन्धित समाचार

साउन १४, २०८१ मंगलबार १९:२३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।