केन्द्रमा सत्ता बदलिएसँगै पत्रकार महासङ्घ र प्रेस युनियनबीच सहमति, चौतारी-सेन्टरको सहमति अलपत्र

केन्द्रमा सत्ता बदलिएसँगै पत्रकार महासङ्घ र प्रेस युनियनबीच सहमति, चौतारी-सेन्टरको सहमति अलपत्र

काठमाडौँ : केन्द्रमा सरकार बदलिने पक्का भएसँगै नेपाल पत्रकार महासङ्घका काम चलाउ अध्यक्ष र कांग्रेसको भातृ सङ्गठन नेपाल प्रेस युनियनबीच सहमति भएको छ।

युनियनको आन्दोलनका कारण महासँघको निर्वाचन नै रोकिएको थियो। शनिवार दुई बुँदे सहमति भएसँगै युनियनले जारी आन्दोलन फिर्ता लिएको छ।

दुई बुँदे सहमति पत्रमा महासङ्घको निर्वाचनका लागि तयार मतदाता नामावलीमा प्रक्रियामा आएर पनि छुट्न गएका सक्रिय पत्रकारहरूको हकमा प्रेस युनियनले देखाएको चासो र मागलाई सम्बोधन गरिने र युनियनले आफ्‌ना सबै आन्दोलनका कार्यक्रम आजैका मितिदेखि फिर्ता लिने उल्लेख छ।

महासङ्घका कामचलाउ अध्यक्ष विपुल पोखरेल र युनियनका अध्यक्ष शिव लम्सालले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

क्रियशिल पत्रकारको सदस्यता अस्वीकार गर्दै पार्टीगत आधारमा सदस्यता वितरण गरेपछि महासङ्घले दुई पटक निर्वाचन मिति तोके पनि निर्वाचन हुन सकेन।

यस अगाडि केन्द्रमा रहेको एमाले-माओवादी गठबन्धनसँगै महासँघमा पनि एमालेको भातृ संस्था प्रेस चौतारी नेपाल र माओवादीको भातृ सङ्गठन प्रेस सेन्टरबीच गठबन्धन बनेको थियो।

चौतारी-सेन्टरको गठबन्धनमा अध्यक्ष चौतारी, वरिष्ठ उपाध्यक्ष र महासचिव सेन्टरले लिने सहमति भएको थियो। केन्द्रीय सत्तामा गठबन्धन बदलिएर काङ्ग्रेस-एमालेको सरकार बन्ने निश्चित भएसँगै चौतारी र सेन्टरबीचको सहमति पनि अलपत्र परेको छ।

चौतारी र सेन्टरसँगै रहेको एकीकृत समाजवादीको भातृ सङ्गठन समाजवादी प्रेस सङ्गठनले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल  प्रचण्डलाई मत दिएको थियो। महासङ्घको सम्भावित गठबन्धनमा सङ्गठनको सहकार्य खुलेको छैन।

संसद्मा जस्तै महासङ्घमा पनि कांग्रेस निकट युनियनको सबैभन्दा धेरै सदस्य छन्। दोस्रोमा एमालेको चौतारी र तेस्रोमा माओवादी केन्द्रको प्रेस सेन्टरको सदस्य रहेको देखिन्छ। चौथो सङ्ख्या समाजवादी प्रेस सङ्गठनको देखिन्छ।

राजनीतिक मोलमोलाइमा करिब नौ हजार मतदाता स्वीकृत गरेकोमा युनियन र चौतारीको पक्षमा पाँच हजार बढी सदस्य देखिन्छ।

यस अगाडि केन्द्रको गठबन्धन अनुसार नै प्रेस युनियन र प्रेस सेन्टरसहितको गठबन्धन बनेको थियो। सोही गठबन्धनबाट युनियनबाट विपुल अध्यक्ष र महासचिवमा सेन्टरबाट रोशन पुरी निर्वाचित भएका थिए।

वरिष्ठ उपाध्यक्षमा युनियनका रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी र अर्का उपाध्यक्षमा जनमोर्चाबाट उदय जिएम निर्वाचित भएका थिए।

युनियनबाट अध्यक्षमा विष्ट र बालाले दाबी गरेकोमा रामप्रसाद दाहाल, दीपक आचार्यले पनि दावेदारी पेस गरेका थिए। युनियनले टिकट बाँड्न उम्मेदवारका आकाङ्क्षीसँग एक चरणको अन्तर्वार्ता समेत लिइसकेको थियो।

चौतारीले अध्यक्षमा निर्मला शर्मालाई अगाडि बढाइसकेकाले गठबन्धन भएमा युनियन संसदमा पहिलो दल भए पनि उपप्रधानसहसहित जान राजी भएझेैँ महासँघमा वरिष्ठ उपाध्यक्ष र महासचिव लिएर निर्वाचनमा सहभागी हुनसक्ने देखिन्छ। सरकारमा प्रधानमन्त्रीको कार्यकाल बाँडे जस्तो महासँघमा कार्यकाल बाँड्न विधानले दिँदैन।

असार २८, २०८१ शनिबार १७:१०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।