गृहमन्त्री रविले अदालतलाई देखाएर राहदानी दुरुपयोगको प्रश्न छले

गृहमन्त्री रविले अदालतलाई देखाएर राहदानी दुरुपयोगको प्रश्न छले

काठमाडौँ : गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभामा मन्त्रालयगत प्रश्नोत्तरमा दोहोरी राहदानी र सहकारी ठगीबारे महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रबारे उठेको प्रश्न अदालतलाई देखाउँदै छलेका छन्।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रवि लामिछानेले दोहोरो राहदानी निकालेर दुरुपयोग गरेकोबारे मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय र सहकारी ठगीमा संलग्नताबारे महान्यायाधिवक्ता कार्यालयले दिएको पत्रबारे सरकारको धारणा मागेका थिए।

उत्तरमा लामिछानेले यी दुवै विषय अदालतमा विचाराधीन रहेकाले सदन र अन्य स्थानमा चर्चा गर्न नहुने भएको भन्दै उत्तर दिन अस्वीकार गरे।

अमेरिकी नागरिकको रूपमा नेपाल आएका लामिछानेले राहदानी विभागबाट नेपाली नागरिक हुँ भन्दै नेपाली राहदानी समेत निकालेकोबारे प्रमाणसहित उकेराले सार्वजनिक गरेको थियो। राहदानी दुरुपयोगबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरेर दोहोरो राहदानी निकालेको तर दुरुपयोग गरेको नदेखिएको भन्दै मुद्दा नचलाउन नपर्ने सिफारिस गरेको थियो।

प्रहरीको सिफारिसलाई जिल्ला न्यायधीवक्ताको कार्यालयले सदर गरेर महान्यायाधिवक्ता कार्यालयमा अन्तिम निर्णयको लागि पठाएको थियो। एमाले-माओवादी गठबन्धन टुटेर काङ्ग्रेस-माओवादी गठबन्धनबाट संसद्मा विश्वासको मत दिने दिन महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने जिल्ला न्यायधीवक्ताको कार्यालयको निर्णय सदर गरेको थियो।

यता मुद्दा नचल्ने निर्णय सदर भए लगत्तै उता संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको थियो। महान्यायाधिवक्ता प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा डा दिनमणि पोखरेल छन्।

२०१५ मे २६ मा राहदानी लिन रविले भरेको फारम जहाँ राष्ट्रियता नेपाली लेखिएको छ। २०१७ अक्टोवर ४ मा अध्यागमन विभागमा रविले बुझाएको आफ्नो ब्यक्तीगत विवरण जहाँ राष्ट्रियता अमेरिकी लेखिएको छ।महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउनु नपर्ने भनेर गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन अवस्थामा छ। पेशी तन्किरहेको छ। उता सहकारी ठगीबारे रवि लामिछानेविरुद्ध कतै जाहेरी नपरेको र अभियोजन नभएको भन्दै महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई दिएको पत्रबारे समेत सर्वोच्चमै परेको रिटको सुनुवाइ जारी छ।

रविको राहदानीबारे प्रकाशित समाचार

असार १६, २०८१ सोमबार १४:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।