महान्यायाधिवक्तादेखि प्रहरीसम्मले कानुनको अपव्याख्या गरी रविलाई यसरी दिए उन्मुक्ति (निर्णयसहित)

महान्यायाधिवक्तादेखि प्रहरीसम्मले कानुनको अपव्याख्या गरी रविलाई यसरी दिए उन्मुक्ति (निर्णयसहित)

काठमाडौँ : राहदानी ऐनले राहदानी नलिई फारममा गलत विवरण भरे पनि दुरुपयोगमा कारबाही हुने प्रावधान राखे पनि रवि लामिछानेको राहदानी मुद्दामा महान्यायाधिवक्ता कार्यालयले गरेको व्याख्याले दोहोरो राहदानी बनाए पनि प्रयोग नगरेसम्म दुरुपयोग नहुने कानुनी प्रावधानविरुद्ध व्याख्या गरेको खुलेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि विरुद्ध मुद्दा चलाउन आवश्यक नभएको निर्णय गर्न महान्यायाधिवक्ता कार्यालयले राहदानी ऐन २०२४ मा' झुट्टा विवरण दिएर राहदानी लिएमा वा राहदानी लिने प्रयास गरेमा तीन वर्ष कैद वा ३० हजार जरिवाना वा दुबै सजाय हुने प्रावधान छ।

सन् २०१४ मा अमेरिकी नागरिक बनेका रविले अमेरिकी नागरिकको रुपमा नेपाल आएर सन् २०१५ मा राहदानी विभागको फारममा आफू नेपाली नागरिक भएको झुटो विवरण दिएर राहदानी लिएको पुष्टि भइसकेको छ।

तर जिल्ला प्रहरी परिसर काठमाडौंले बदनियतपूर्वक अनुसन्धान गर्दै बुझाएको रायको आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, उच्च हुँदै महान्यायधीवक्तासम्मले अन्य कुनै देशको नागरिक बनिसके पनि वैध नेपाली नागरिकहुँदा लिएको राहदानीका आधारमा नवीकरण गर्नु कानुन अनुसारै हुने व्याख्या गरे। 

उकेराले प्राप्त गरेको महान्यायाधिवक्ताको निर्णयको प्रमाणित कपीमा रवि अमेरिकी नागरिक बनिसकेपछि नेपाली राहदानी लिएको भन्ने स्विकारेको छ। तर सन् २०१४ मा लिएको अमेरिकी राहदानी सन् २०१८ मा त्यागेको, सन् २०१५ मा उनले नयाँ राहदानी नबनाइ पहिल्यै नेपाली नागरिकको हैसियतमा बनाएको राहदानी नवीकरण गरेको भन्दै उन्मुक्ति दिएको देखियो।

यसैगरी महान्यायाधिवक्ता कार्यालयले उनले  २०५० फागुन १० मा प्राप्त गरेको नेपाली नागरिकता नागरिकता ऐन अनुसार प्रक्रिया पुरा गरेको उल्लेख गरेको छ। तर अमेरिकी नागरिकता उनको सो नागरिकता स्वतः निस्कृय बनेको पक्ष उल्लेख गरिएन। अनि प्रक्रिया पुरा गरेर नेपाली नागरिकताको प्रमाण पत्र नलिई नेपाली राहदानी प्रयोग गरेकोबारे पनि केही उल्लेख गरिएको छैन।

उनले नेपाली नागरिकता ऐन र नियमावली अनुसार प्रक्रिया पुरा गरेर पुन नेपाली नागरिकता पाइसकेको र सन् २०१५ मा प्राप्त गरेको राहदानी आधिकारिक निकायमा बुझाएर रद्द भइसकेको उल्लेख छ। सन् २०१८ देखि सन् २०२३ मा राहदानी नबुझाएको विचको अवधिमा उनले राहदानी प्रयोग गर्नु दुरुपयोग हो या हैन त्यता प्रवेशै गरेको छैन।

निर्णयमा' रविले अमेरिकी नागरिकता तथा राहदानी परित्याग नगरेसम्म नेपाली राहदानी प्रयोगमा ल्याएको नदेखिएको, निजले नेपाली नागरिकताको प्रमाण पत्र र पुरानो राहदानीमा भएको व्यक्तिगत विवरणको रोहमा राहदानी प्राप्त गरेको देखिँदा उनले राहदानी ऐन अनुसार जानीजानी झुटा विवरण दिई राहदानी प्राप्त गरेको भन्न सकिने अवस्था नरहेको र सो राहदानी प्राप्त गर्ने कार्यमा निजको आपराधिक मनसाय समेत रहेको देखिएन भनिएको छ।

रवि अमेरिकी नागरिक बनेपछि नेपाल आउँदा आफू अमेरिकी नागरिक भएको भन्दै भिसाका लागि बुझाएको निवेदन उकेराले यस अगाडि नै सार्वजनिक गरिसकेको छ जहाँ उनले आफ्नो राष्ट्रियता अमेरिकी भनेर उल्लेख गरेका छन्।

अध्यागमन विभागमा बुझाएको त्यही विवरणका आधारमा उनले अमेरिकी नागरिकको हैसियतमा भिसा पाएर नेपाल बसेका थिए। अनि अमेरिकी नागरिकको हैसियतमा नेपालमा बस्दा बस्दै अध्यागमन विभागमा गएर राहदानी नवीकरण गर्दा बुझाएको फारममा उनले आफू नेपाली नागरिक भएको उल्लेख गरेका छन्।

सरकारी निकायमा रहेका प्रमाणले उनले आफू अमेरिकी नागरिक बनिसकेपछि पनि नेपाली सरकारी निकायलाई आफू नेपाली नागरिकै हो भन्दै झुटो विवरण दिएर राहदानी लिएको प्रमाणहरूले प्रमाणित गरे पनि महान्यायाधिवक्ता सो प्रमाणै नहेरी अपव्याख्या गर्दै रविमाथि लागेको राहदानी दुरुपयोगको आरोप अदालतबाट कानुनी रूपमा परीक्षण हुन जानबाट रोकेको देखिएको छ।

रविले कानुनी प्रक्रिया अनुसार नेपाली नागरिकता सक्रिय नगराएको सर्वोच्च अदालतबाट प्रमाणित भएर उनको सांसद पद खारेज भएको थियो। उनको नागरिकता सक्रिय नरहेको अवस्थामा उनले नेपाली नागरिकको हैसियतमा सन् २०१५ मा गलत विवरण बुझाएर लिएको नेपाली राहदानी प्रयोग गरेर कोरिया र जापान गएका थिए।

यो तथ्यलाई पनि प्रहरीदेखि महान्यायाधिवक्ताले बेवास्ता गर्दै उन्मुक्तिको निर्णय गर्न सहज हुने प्रमाणमा टेकेर कानुनको अपव्याख्या गरेको निर्णयको ब्यहोराले देखाएको छ।

१५ चैत, २०७९, १९:३४:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।