रविले झुट बोलेर राहदानी लिएको दुई प्रमाण जसलाई प्रहरीले लुकायो

रविले झुट बोलेर राहदानी लिएको दुई प्रमाण जसलाई प्रहरीले लुकायो
२०१५ मे २६ मा राहदानी लिन रविले भरेको फारम जहाँ राष्ट्रियता नेपाली लेखिएको छ। २०१७ अक्टोवर ४ मा अध्यागमन विभागमा रविले बुझाएको आफ्नो ब्यक्तीगत विवरण जहाँ राष्ट्रियता अमेरिकी लेखिएको छ।

काठमाडौं : निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरेर दोहोरो राहदानी बनाए पनि कारबाही आवश्यक नभएको प्रहरीको अनौठो रायको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछानेलाई राहदानी दुरुपयोगमा उन्मुक्ति दिने निर्णय गर्यो।

अमेरिकी नागरिक बनिसकेपछि, अमेरिकी नागरिकको हैसियत ढाँटेर नेपाली नागरिकताको प्रमाण पत्र प्रयोग गर्दै उनले नेपाली राहदानी बनाएका थिए।

उनले बनाएको राहदानी नयाँ नभइ वंशजको आधारमा पाएको नेपाली नागरिकताको आधारमा बनाएको, नवीकरण गरेको देखिएको, सो राहदानी कुनै देश जान प्रयोग नगरेको र हाल सो राहदानी निष्क्रिय भइसकेको तर्क गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको प्रस्तावित राय पठाएको थियो।

त्यसैलाई टेकेर जिल्ला सरकारी वकिलको कार्यालयले ‘मुद्दामाथि मुद्दा चलाउनुको अर्थ हुन्न’ भन्दै मुद्दा नचलाउने निर्णय गर्दै उच्च सरकारी वकिलको कार्यालयमा पठायो। उच्चले त्यही सदर गरेर महान्यायाधिवक्ताको कार्यालय पठायो। महान्यायाधिवक्ताको कार्यालयले त्यही सदर गर्यो।

राहदानी ऐन २०७६ को दफा २१ अनुसार कसैले झूटा विवरण दिई राहदानी लिएमा वा लिन प्रयत्न गरेमा त्यो राहदानी विरुद्धको कसुर हो।

पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेबीचको बाक्लो भेटघाट, सरकारलाई दिएको समर्थन र विश्वासको मतले सदरको संकेत दिइसकेको थियो।

महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरे पनि मुद्दाको सरोकारवाला रिट बोकेर अदालत जाने कानुनी बाटो भने खुला नै हुन्छ।

‘राहदानी दुरुपयोग’ शब्दको अनुकूल व्याख्या

राहदानी ऐनले झुटो विवरण पेस गरेर राहदानी लिने मात्र हैन, लिने प्रयत्न गर्नु पनि कानुन अनुसार दण्डनीय काम मानेको छ। तर प्रहरीले बदनियतपूर्ण अनुसन्धान गर्दै दोहोरो राहदानी लिंदा पनि दुरुपयोग नदेखिएको राय दियो। सरकारी वकिलले त्यसैलाई अगाडि बढायो।

अमेरिकी नागरिक बनिसकेपछि पनि उनले २०७२ जेठ १३ (सन् २०१५ मे २७) मा पुरानै नागरिकतासँगै राहदानी फारममा आफू नेपाली नागरिक रहेको झुटो विवरण राख्दै नेपाली राहदानी लिए।

राहदानी ऐन २०७६ को दफा २१ अनुसार कसैले झूटा विवरण दिई राहदानी लिएमा वा लिन प्रयत्न गरेमा त्यो राहदानीविरुद्धको कसुर हो। सोही ऐन अनुसार ‘कसैले झूटा विवरण दिई राहदानी वा यात्रा अनुमति लिएमा वा लिन प्रयत्न गरेमा यस ऐन बमोजिम कसुर गरेको मानिने’ उल्लेख छ।

यो कसुरमा संलग्नलाई दफा २२ को उपदफा १ बमोजिम ‘२ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा १ वर्षदेखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने’ उल्लेख छ ।

रविले २०५० फागुन १० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएर अमेरिका गएका उनले २०७० फागुन ९ मा अमेरिकी नागरिक बन्दै अमेरिकी राहदानी बनाए।

झुटो विवरण दिएको दुई प्रमाण

प्रहरीले झुटो विवरण दिएको प्रमाण फेला परेको र राहदानीको दुरुपयोग गरेको नभेटिएको दाबी गरेको छ। उकेराले रविले कागजी रुपमै बोलेको झुटको प्रमाण नै फेला पारेको छ।

उनले २००६ मे २६ मा अमेरिकामा रहेको नेपाली दुतावासबाट नेपाली राहदानी लिएका थिए।

नेपालमा पुन राहदानी बनाए। नेपालममा राहदानी लिन प्रयोग गरेको विवरणमा राष्ट्रियता नेपाली उल्लेख गरेका छन्।

उनी २०१७ अक्टोवर ४ मा नेपाल आएर नातेदार भिसाका लागी आवेदन दिँदा अध्यागमन विभागमा  बुझाएको ब्यक्तीगत विवरणमा राहदानी लिँदाको सबै विवरण मिल्छ राष्ट्रियताबाहेक। उनले भिसा दिन  राष्ट्रियता अमेरिकी लेखेका छन्। 

उनले सन् २०१४ मा अमेरिकी नागरिकता लिएर सन् २०१८ मा छाडेका हुन्।  यसले उनले अमेरिकी दुतावासबाट नेपाली राहदानी लिँदा झुटो बोलेको प्रमाणित हुन्छ।

उनी सन् २०१४ जुन पाँचमै अमेरिकी नागरिकको हैसियतमा नेपाल आएर फर्किएका थिए। अमेरिका गएर उनले २०१७ मे मा नेपाली राहदानी बनाएका हुन्। 

सन् २०१७ मा दाइ हरिशरण लामिछानेसँगको नाताको आधारमा उनी नातेदार भिसामा नेपाल आएको अध्यागमनले अदालतमा बुझाएको प्रमाणले देखाउँछ।  

उनले आफू अमेरिकी नागरिक भएकोबारे कानुनी व्यवस्था अनुसार अमेरिकामा रहेको नेपाली दूतावास वा नेपाल आएको बेलामा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जानकारी दिएनन्।

सर्वोच्च अदालतको फैसलाअनुसार नेपाली नागरिक विदेशी नागरिक बने लगत्तै उसको नेपाली नागरिकता निष्क्रिय हुनेछ। सो आधारमा रविको नागरिकता सन् २०१४ मै निष्क्रिय भइसकेको छ।

अमेरिकी नागरिक बनिसकेपछि पनि उनले २०७२ जेठ १३ (सन् २०१५ मे २७) मा पुरानै नागरिकतासँगै राहदानी फारममा आफू नेपाली नागरिक रहेको झुटो विवरण राख्दै नेपाली राहदानी लिए।

तर पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा रहेको गृह मन्त्रालय, काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख दानबहादुर कार्की र सरकारी वकिल मिलेर दुरुपयोग शब्दको रवि अनुकूल व्याख्या गरेर उन्मुक्ति दिए। 

राहदानीको दुरुपयोगलाई उनीहरूले कुन आधारमा लिएको नहेरी लिइसकेपछि प्रयोग गरेको हो या हैन भन्ने कोणबाट व्याख्या गरेको देखिन्छ।

उनले दोहोरो नागरिक बनेर कानुन उल्लंघन गरेको पोल खुलेपछि सन् २०१८ मा बल्ल अमेरिकी नागरिकको हक सरेन्डर गरे। यता नागरिकता सक्रिय नै नगराइ उनले सन् २०१८ बाटै नेपाली राहदानी प्रयोग सुरु गरे।

सर्वोच्च अदालतको फैसलाअनुसार नेपाली नागरिक विदेशी नागरिक बने लगत्तै उसको नेपाली नागरिकता निष्क्रिय हुनेछ। सो आधारमा रविको नागरिकता सन् २०१४ मै निष्क्रिय भइसकेको छ। तर प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले अदालतकै नजिरको अपव्याख्या गरे।

‘राहदानी दुरुपयोग’ बनाउँदा पनि हुने कि प्रयोग गर्नुपर्ने? 

कानुनमा बनाउने मात्र हैन बनाउने प्रयास गर्दा पनि दण्डनीय अपराध मानेको छ राहदानी दुरुपयोग। तर निष्क्रिय नागरिकता प्रयोग गरेर राहदानी बनाई प्रयोग नै गर्ने कार्यलाई समेत प्रहरी र सरकारी वकिल मिलेर मुद्दा चलाउन अयोग्य बनाउने प्रयास गरेको प्रष्ट देखिन्छ।

सन् २०१४ मा अमेरिकी नागरिकको हैसियतमा रवि नेपाल आएको अध्यागमन विभागको रेकर्डमा देखिन्छ। राहदानी विभागको रेकर्डमा सन् २०१५ मा नेपाली राहदानी लिंदा प्रयोग गरेको निवेदन फारममा उनले राष्ट्रियता ढाँट्दै नेपाली रहेको उल्लेख गरेका छन्।

सन् २०१७ मा नातेदार भिसाका लागि अध्यागमन विभागमा निवेदन दिंदा उनले पुन: आफू अमेरिकी नागरिक भएको विवरण पेस गरेर आए। तर नेपाल प्रवेश गर्नासाथ निष्क्रिय भइसकेको नेपाली राहदानी देखाएर नेपाली नागरिकको हक प्रयोग गर्न थाले।

उनले दोहोरो नागरिक बनेर कानुन उल्लंघन गरेको पोल खुलेपछि सन् २०१८ मा बल्ल अमेरिकी नागरिकको हक सरेन्डर गरे। यता नागरिकता सक्रिय नै नगराइ उनले सन् २०१८ बाटै नेपाली राहदानी प्रयोग सुरु गरे। उनी त्यही वर्ष सेप्टेम्बर २० मा जापान र कोरिया गएको तस्बिर र राहदानीसहितको तस्बिर आफैले सार्वजनिक गरेका थिए। 

किन अत्तालिए रवि?

सार्वजनिक भएका प्रमाण अनि रविको स्विकारोक्तिबाट उनले राहदानी दुरुपयोग भएको पुष्टि गरेको छ। अदालतबाट प्रमाणित भएमा संसदीय राजनीति समाप्त हुने भएपछि रवि निर्वाचनमा जितेको १९ सिटको बलमा राजनीतिक मोल मोलाई गर्दै आफूलाई उन्मुक्ति दिन सक्रिय भए। 

दोषी हो या निर्दोष त्यो अदालती परीक्षणबाट हुनुपर्छ। राज्यको कर्मचारीबाट हैन।

पार्टीको शक्तिलाई निष्क्रिय नागरिकता सक्रिय बनाउन प्रयोग गरे पनि यो विषय अदालत प्रवेश गरेकाले उनी सफल भएनन्। तर छोटो समय गृहमन्त्री बनेको समय उपयोग गर्दै आफ्नो मुद्दा हेर्ने काठमाडौं परिसरमा आफू अनुकूल एसएसपी ल्याएर चलखेल गरेका उनले सरकारको समर्थन र विश्वासको मतको लेनदेनबाट प्रधानमन्त्रीमार्फत राज्य संयन्त्र आफू अनुकूल बनाउन सफल भए।

जिल्ला अदालतबाट दोषी ठहरिए पनि तत्काल उनको संसदीय राजनीति समाप्त हुन्न। सर्वोच्च अदालतसम्मको परीक्षणमा दोषी ठहरिएमा भने उनको संसदीय राजनीति समाप्त हुनेछ। अदालती परीक्षणमा दोषी ठहर हुने सम्भावना उच्च देखिएपछि प्रशासनिक संयन्त्रबाटै सफाइ पाउने बाटो रोजे रविले।

के गर्छन् उजुरीकर्ता?

रविको नागरिकता र राहदानीबारे गृह मन्त्रालय हुँदै सर्वोच्च अदालतसम्म पुगेका युवराज सफल अदालती परीक्षण नगरी उन्मुक्ति दिएकाले आफू पुन: रिट लिएर सर्वोच्च जाने बताउँछन्।

‘दोषी हो या निर्दोष त्यो अदालती परीक्षणबाट हुनुपर्छ। राज्यको कर्मचारीबाट हैन,’ उनले भने, ‘यसमा प्रहरी देखि सरकारी वकिलसम्मले पाएको अख्तियार दुरुपयोग गरे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सर्वोच्चसम्मै जान्छु म।’

*पुन सम्पादन गरिएको

६ चैत, २०७९, १२:२९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।