धर्मको आडमा महन्तको बदमासी : बागेश्वरी मन्दिरको ११ सय रोपनी गुठी जग्गा व्यक्तिको नाममा, फिर्ताको प्रयास अदालतमा रोकियो
काठमाडौँ : पश्चिम नेपालमा बागेश्वरी मन्दिरलाई पवित्र तीर्थस्थल ठान्नेहरू धेरै छन्। तत्कालीन सरकारले मन्दिरलाई व्यवस्थित बनाउन गुठी मार्फत जग्गा दियो। परम्परागत रूपमा जसले पूजा गर्दै आएका थिए उनकै दर सन्तानले पूजा गर्दै आए अनि जग्गाको रेखदेख पनि गरे।
समय फेरियो। महन्तहरूले जग्गाको हेरचाह हैन बेचबिखन गर्न थाले। मन्दिर पुज्ने महन्तहरूकै कु-दृष्टिमा पर्यो बागेश्वरी मन्दिरको गुठी जग्गा पनि। गुठीको ८४ बिघा १० कट्ठा १० धुर अर्थात् १ हजार १ सय २५ रोपनी ३ आना ३ पैसा ३ दाम जग्गा मिचियो।
सरकारी,सार्वजनिक अनि गुठीका जग्गा छानबिन गर्न बनेको मोहन रमण भट्टराईको प्रतिवेदनले २०७६ मा प्रतिवेदन पेस गरेपछि १७ बिघा जग्गा २०७६ सालमै रोक्का भएको थियो। तर जग्गा रोक्का भए पनि गुठीको नाममा आइसकेको छैन।
बागेश्वरी मन्दिरको मिथक अनि इतिहास के हो ? कसरी बेच महन्तले राजगुठीको जग्गा ? उकेराको सरकारी-सार्वजनिक - गुठी खोजी शृङ्खलाको छैटौँ भागमा बागेश्वरी गुठीको चिरफार ।
बागेश्वरी गुठीको जग्गा हिनामिनाको इतिवृत्त थाहा पाउनु अघि बागेश्वरी मन्दिरबारे भट्टराई आयोगको प्रतिवेदनमा उल्लेखित मिथक उल्लेख गरौँ।
हिउँदताका हिन्दुहरूले वाचन गर्दै आउने स्वस्थानी कथामा महादेवले मृत्यु भएकी आफ्नी श्रीमतीलाई बोक्दै हिँडेको कथा उल्लेख छ। विभिन्न स्थानमा भौँतारिएर सतीदेवीको लास बोक्दै हिँडेका महादेव अहिलेको नेपालगन्ज पुगे। सतीदेवीको अङ्ग विभिन्न ठाउँमा पतन हुँदै गयो। त्यही क्रममा उनको जिब्रो बागेश्वरी मन्दिरमा पतन भएको उल्लेख छ।
जिब्रो पतन भएकाले सुरुमा यसको नाम बाक्यश्वरी त्यसपछि बाग्याश्वरी र पछि बागेश्वरी रहन गएको मिथक छ। त्यस्तै बागेश्वरी माताको सम्बन्ध डोल्पा जिल्लाको कोटगाउँको कोटगडिको त्रिपुरासुन्दरीसँग जोडिने उल्लेख छ।
एउटा मात्रै हैन अर्को पनि मिथक छ बागेश्वरीबारे। हाल मन्दिर भएकै स्थान वरपर घना जगंल थियो। यही बाटो हुँदै तपस्वीहरू हिँड्थे। २ हजार वर्ष पहिले दुई गुरु त्यहाँ सुतिरहेका थिए। उनीहरू सुतिरहेकै बेलामा जगदम्बा देवीले मेरो ठाउँ यतै छ भनेपछि दुई गुरुले जगदम्बा बसेको स्थान पत्ता लगाई मन्दिर बनाए।
मन्दिर त बनाए तर दिउँसो बनाउने राती भत्कने क्रम चलिरह्यो। त्यसपछि सातौँ दिनमा बली चढाउन भनेपछि जनावरलाई मार्नु भन्दा आफैँले मन्दिरको पूर्वतर्फ समाधि लिए। गुरुले समाधि लिएपछि चेलाहरूले मन्दिर बनाएर पूजा अर्चना गर्न थाले। चेलाको मृत्युपछि शिद्धनाथ बाबाले पूजा गरे।
त्यसपछि उनका सन्तान दर सन्तान हुँदै हालसम्म २४ औँ पुस्ताले पूजा गरिरहेका छन्।
यी त भए मिथकका कुरा,
अब कुरा गरौँ मन्दिरसँग सम्बन्धित तथ्यका कुरा। ऐतिहासिक दस्ताबेज अनुसार १३२४ सालमा बागेश्वरी मन्दिरको पुनर्निर्माण भएको हो।
त्यति बेलाकै राजाले मन्दिरको पुनर्निर्माण गरी कर्मोहना गाउँको जग्गा गुठी राख्ने व्यवस्था गरेर जमिनको आयस्ताले मन्दिरको पूजा गर्ने जिम्मा दिए।
त्यसपछि के के भयो भन्नेबारे आयोगको प्रतिवेदन बोल्दैन। एकै पटक १९६८ हालको नापी अनुसार ८४ बिघा १० कट्ठा १० धुर जग्गा भनी उल्लेख छ। राजा रणोदिपसिंहले १९३६ साल वैशाख २ गते बुधवार बागेश्वरी गुठीको नाउँमा एउटा सनद जारी गरेको देखिन्छ।
सनदमा 'नयाँ मुलुक बाँके जिल्लाका देवीका गुठीको पुजारी गङ्गानाथ जोगी मर्दा उनकी चेला सूर्यनाथ जोगीले पूजा चलाई आयाकी छ। गुरुको भया बमोजिम मेरा नाउँमा पनि सनद गरी पाउँ भनी निजज्ञा सूर्यनाथ जोगीले पूजा चलाई आएका भनी रिपोर्ट भया बमोजिम सनदका लागि जाहेरी भएकामा सनदको नक्कल रिपोर्टमा गङ्गानाथ जोगीका नाउँमा देवीको पूजामा नगदी कम्पनी रुपैयाँ ३४९। बाँके मालबाट लिनु, मौजे कर्मोहना मध्ये आधा मौजाको आम्दानीले अतिथि अभ्यागतलाई सिदा दिई बस्न दिनु भनी प्रमाङ्गी गरी बक्स्यौ। आफ्ना खातिरजामासंग श्रीको जय भलाई देखिको काम चलाई शेष रह्याको भोग गर। सन्तान दर सन्तानसम्म खानु भन्याको रहेनछ। पुजारी गङ्गानाथ जोगी मदां निजका चेला सूर्यनाथ जोगीले पूजा चलाइ आयाको छ भनी लेख्याको रहेछ। जे. मर्जी हुकुम भनी मधेस बन्दोबस्त अड्डाले ३६ सालमा रिपोर्टमा हुकुम निक्सारी एक लम्बर अड्डाले बोल्याको तोक हामीबाट सदर गरी बक्स्याको छ। तोक बमोजिम १८।२३ सालमा गङ्गानाथ जोगीलाई भयाको सनदमा सन्तान दर सन्तानसम्म खानु भनी लेखिएको छैन। तापनि पूजा चलाउनु पर्ने काम हुनाले नगद कम्पनी रु.३४९। बाँके माल कचहरीबाट लिनु। कादौ तर्फ कारकादौ मौजे कर्महना मध्ये आधा मौजेका आम्दानीले अतिथि अध्यागतलाई सिदा दिई बस्न दिनु भन्याका दस्तखत गरी बस्यौ। आफ्ना खातिरजामा २ को जस भलाई १ को चलाई शेष रयाको भोग गर' लेखिएको छ।
यो सनदमा पूजा सञ्चालन गर्न चाहिने सामाग्रीको दर विवरण समेत लेखि दिएको देखियो भने बाँके मालबाट पूजा चलाउन रु ३४९ कम्पनी लिनु भनी उल्लेख छ। सनदमा आधा आम्दानीले अतिथिलाई सिदा दिनु खातिरजामा २ को जस लगाई १ को बाँकी रहेको भोग गर भनी उल्लेख छ। यसमा पनि पूजा गर्ने अथवा पुजारीका दर सन्तानका त्यो गुठीको जग्गा हुने उल्लेख छैन।
त्यस्तै पुजारीले चेलालाई आफ्नो शेषपछि चेलालाई त्यहाँको सबै सम्पत्ति सनद गर्दै सरेको भने देखिन्छ।
विक्रम संवत् १९७१ साल चैत्र १० गते चन्द्र शमशेरले अर्को सनद जारी गरेका थिए। त्यो सनदमा पनि त्यहाँका सम्पत्ति के हुने कुनै उल्लेख छैन।
'रतीनाथ ललितनाथ जोगी उप्रान्त श्री को पूजा हामीले ६२ सालदेखि गरी आएको र म बुढो भई तीर्थ यात्रा गर्नु मनसुवा भयाको हुनाले सो पुजारीका मेरा चेला ललितनाथलाई बक्सी मैले साबिक पाई आए बमोजिम कमर्मोहना मौजाको आम्दानी मालबाट पाउने रु. ३४९। समेत निज चेलाहरू हस्ते दिनु भई बाँकी मालका नाउमा र सो बमोजिम चलाई भन्या निजहरूका नाउमा सनद गरी पाउँ भन्ने प्रागनाथ जोशीको र सो पुजारीका हामी दुई जना भई गर्नु भन्या सनद गरी बक्स्या आजा पूजा चलाउँदछौ भन्ने ललितनाथ जोगीको समेत बिन्ती पत्रमा पुजारीको समेत निजहरूलाई दिने गरी तोक बोली जाहेर गरेकोमा यसमा अस्थानको पुजारी अघि काशीनाथको नाउमा सनद भयाको निजको शेषपछि निजको यसै गरी यिनी निजका मेला प्रागनाथले जायर गरेकोमा निजले नै पाउने ठहरी ६२ साल वैशाख ६ गते ३ मा सनद भयाको गाँसिएका मिसिलका नक्कलबाट देखियाकाले समेत गुरुका शेषपछि चेलालाई बक्सी आयाको देखिएको र हाल जसका नाउँमा सनद उसले आफूलाई थिती रीति बमोजिम चेलाहरूका नाउँमा सनद हवस् भनी बिन्ती पत्र दियाको देखियाकोले र निज प्रागनाथ मुख्य वेला रतिनाथ ललितनाथ जोगी पनि समर्थ भई काम गर्न सक्ने देखियाकाले निज दुई जनाका नाममा सनद गरी बक्स्या। तर बिसन्चो हुँदा समेत पूजा चलाउने देखिएकाले निज दुई जनाका नाउँमा सनद गरी दिन्या र गुठी मौजे कर्मोहना गाउँको र मालबाट पाउने निकासा भई आए बमोजिम साबिक देखि गरी चली आया बमोजिम नै पर्वको आजा पूजा चलाई आउने अतिथि अभ्यागतहरुलाई सिदा दिई बाँकी शेष रहेको भोग गर्नु भनी सदन जारी गरे ।'
रतिनाथको निधन भएपछि १९७८ सालमा उनका चेला दुर्गानाथका नाउँमा सनद जारी भयो। सनदमा गुठीका आम्दानीले दानपत्र, शिलापत्र, ताम्रपत्र, सनद, लालमोहर साबिककै दर अनुसार चलाउनु। धार्मिक भाव खण्डित नगरी खाइपाइ आएको लिनु भनी जारी भएको देखिन्छ।
२००४ सालमा तत्कालीन प्रधानमन्त्री पद्य शमशेरले पनि सनद जारी गरे। पूजा बापत ३४९ बाट ५०० रुपैयाँ पुर्याइदिए।
उनले आम्दानीको हिसाब गरी प्रति एक रुपैयाँमा १ पैसा अर्थात् १ प्रतिशतका दरले रकमको वृद्धि पाउने व्यवस्था गरे।
गैरकानूनीरुपमा पुजारीको नाममा गुठीको जग्गा
गुठीको जग्गा लामै समयसम्म गुठीकै रह्यो। २०२५ सालमा सर्भे हुँदा जग्गावालाको नामथरमा वागेश्वरीका तत्कालीन सञ्चालक चन्दननाथ योगी र हरिहरनाथ योगी नाम उल्लेख गरी कैफियतमा भने बागेश्वरीको जग्गा भएको भुल सुधार गर्ने भनी सही छाप गरेको देखिन्छ।
मालपोत कार्यालयले आयोगलाई पठाएको पत्र अनुसार २०२७ पुस १३ र १४ अनि २०२८ साल कार्तिक १४ मा तत्कालीन भूमि प्रशासन कार्यालयको निर्णयअनुसार परम्परा पालना गर्ने मालपोत तिर्ने गरी बागेश्वरीको गुठीको नाम कट्टा गरी मठका सञ्चालक र अन्यको नाउँमा सो जग्गाको स्रेस्ता कायम गरेको देखिन्छ।
मालपोत कार्यालय बाँकेले अहिले यसबारे मिसिलै नभएको बताउँछ। गुठीको जग्गा एकलौटीरुपमा गुठीको मात्रै हुनुपर्ने त्यतिबेलाको नियमलाई कुल्चँदै व्यक्तिको नाममा गरेको देखिन्छ।
१९६७ सालमा पुजारी प्रागनाथको नाउँमा १७ बिघा जग्गा भएकोलाई आधार मान्दै चन्दननाथ योगी र हरिहरनाथ योगीले २०२२ साल ९ पुस मा १७ बिघा ११ कट्ठा १२ धुर जग्गाको लगत कट्टा गरेको देखिन्छ।
त्यसैलाई आधार मान्दै २०५७ साल असोज १६ मा श्रेस्तामा रैतान नम्बर जनाइ महन्तको नाउँमा जग्गा पास गरियो। जब की चन्द्र शमशेरको १९७१ चैत १० गतेको सनदले भने गुठीको जग्गा व्यक्तिको हुने भन्ने कतै उल्लेख छैन।
भट्टराई आयोगले २०५७ मा गरेको निर्णयबाट रैतान भएको ठान्नु कानुन विपरीत भएको उल्लेख गरेको छ।
गुठी संस्थान ऐन विपरीतको काम
गुठी संस्थान ऐन २०२१ को दफा जारी भएपछि राजगुठीका जग्गाहरू व्यक्तिको हुन नसक्ने उल्लेख छ। बागेश्वरीको जग्गा २२ सालमा आफ्नो नाममा गरेर गुठी संस्थान ऐन विपरीत स्रेस्ता कायम गरेको देखिन्छ।
प्रतिवेदनमा गुठीको जग्गा रैतान नम्बरी सरह हुने गरी भएको मालपोत कार्यालयबाट २०२७, २०२८ र २०५७ सालमा भएको निर्णयहरू गुठी संस्थान ऐन, २०३३ को तत्कालीन दफा ३६ को व्यवस्था विपरीत देखिएको उल्लेख छ।
गुठी संस्थान ऐन, २०३३ को दोस्रो संशोधन (२०४१) पश्चात् मात्र गुठी अधीनस्थ जग्गा केही सर्तहरू पूरा गरेको अवस्थामा मात्र रैतान हुने कानुनी व्यवस्था भएको देखिन्छ।
२०२९ सालसम्म गुठीको कुनै पनि प्रकारको जग्गामा मोही लाग्ने कानुनी व्यवस्था रहेको देखिँदैन। २०४१ मा ऐनमा भएको संशोधनपछि २०५७ सालमा रैतानी नम्बरी सरह हुने गरी मालपोत कार्यालयबाट भएको निर्णय गुठी संस्थान ऐनको तत्काल विद्यमान दफा २६ मा भएको देखिएन।
मठका सञ्चालक गुठी जग्गाको मोही हुने र निजका नाउँमा रैतान नम्बरी हुने परिकल्पनासम्म गुठी राख्ने दाताले लिएको हुँदैन। दाताको इच्छा विपरीत काम कारबाही भएमा गुठी धर्मलोप हुने हुँदा त्यस्ता दूषित कार्यहरू बदर योग्य हुन्छ।
यही आधारमा आयोगले गुठीको जग्गाको हकमा गुठीको एक प्रकारको जग्गा अर्को प्रकृतिमा गएमा साबिक बमोजिम कायम गर्न सक्ने अधिकार गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) बमोजिम गुठी प्रशासकलाई कानुनले अधिकार दिएको भन्दै विवादित सम्पूर्ण जग्गाको दर्ता बदर गरी साबिक बमोजिम गुठीको जग्गा कायम गर्न गुठी संस्थानलाई नेपाल सरकारले निर्देशन दिनुपर्ने आयोगले निर्णय गर्यो।
मालपोत कार्यालय, बाँकेका अनुसार कि.नं. ९० को ७९३२ र कि.नं.१६३ को ४९५१ वर्गमिटर क्षेत्रफलमा मन्दिर अवस्थित छ।
मन्दिरले चर्चेको जग्गाको फिल्डबुकमा बागेश्वरी मन्दिरको नाम उल्लेख छ। तर दर्ता स्रेस्ता मन्दिरको नाममा तयार भएको देखिएन।
आयोगले उक्त जग्गा बागेश्वरी मन्दिरका नाउँमा स्रेस्ता कायम गर्न भूमिसुधार तथा मालपोत कार्यालय बाँकेलाई नेपाल सरकारबाट निर्देशन हुनुपर्ने निर्णय गर्यो।
यसैगरी मिति २०१३ जेठ १४ मा र.नं. २३७ बाट शङ्कर प्रसाद उपाध्यायले बागेश्वरीको नित्य पूजाआजा गरी बाँकी रहेको महन्त नरेन्द्रनाथ तथा प्यारेनाथले खानेगरी दान पत्र गरी जग्गा बिघा १-१५-३ दिएको देखियो।
उक्त जग्गा २०२५ सालको भूमिसुधार नापीमा बागेश्वरीको नाममा सर्भे नापी नभई शंकर प्रसादकै नाममा नापी भएको देखियो। सोही जग्गा मिति २०३७ असोज ८ मा शंकर प्रसादको श्रीमती इन्दिरादेवी र सावित्रादेवीका नाउँमा संयुक्त नामसारी भई स्रेस्ता अद्यावधिक भएको प्राप्त मोठ स्रेस्ताबाट देखिन्छ।
दाताबाट गुठीका नाममा समर्पण गरिसकेपछि पुनः दाताकै नाउँमा फिर्ता जान सक्ने व्यवस्था नभएकाले उक्त जग्गा गुठीकै नाममा दर्ता गर्न आयोगले निर्णय गर्यो।
विद्यमान कानुनी व्यवस्था प्रतिकूल रैतान नम्बरी कायम गर्नेगरी मालपोत कार्यालयबाट भएका सबै निर्णयहरू बदर गरी उक्त निर्णय गर्ने गराउने व्यक्तिहरू उपर अख्तियार प्राप्त निकायबाट भ्रष्टाचारमा अनुसन्धान गर्न समेत आयोगले निर्णय गरेको थियो।
जग्गा अझै आएन गुठी मातहत
२०७६ सालमा तत्कालीन सरकारले भट्टराई आयोगको प्रतिवेदन बुझेपछि मालपोत कार्यालय बाँकेलाई बागेश्वरी गुठीको जग्गा गुठी मातहत ल्याउन परिपत्र गर्यो।
परिपत्र गरेको दुई वर्षपछि मालपोत कार्यालयले १७ बिघा महन्तको नाउँमा गएको जग्गा रोक्का राख्यो। मालपोत कार्यालयका सूचना अधिकारी नवीन कुमार खड्काका अनुसार १७ विगाह जग्गा रोक्का राखिएको अन्य जग्गाको हकमा भने आयोगले नै प्रस्ट नतोकेकाले रोक्का राख्न नसकिएको बताए।
'आयोगको प्रतिवेदनमा १७ बिघा जग्गा कसरी महन्तका नाउँमा गयो उल्लेख छ। बाँकी जग्गाको मामिलामा बोलेको छैन। हामीलाई पनि थाहा भएन,'उनले भने '२०७८ सालदेखि जग्गा रोक्कामा राखिएको छ। बेचबिखन गर्न दिएका छैनौँ।'
जग्गा गुठीको मातहत ल्याउन केही काम नभएको उनले बताए। जग्गा महन्तहरूले अरूलाई नै बेचेको हकमा के गर्ने भन्ने सन्दर्भमा प्रस्ट हुन नसकिएको उनले बताए।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दीन राई भने जग्गा रोक्का राखेपछि जग्गा धनीहरू अदालत गएको बताउँछन्।
'यो जग्गा महन्तले आफ्नो नाममा गरे। त्यसपछि महन्तले बेचे। धेरै व्यक्तिले किनबेच गरेका छन्,'उनले भने,'पछिल्लो समय जग्गा किन्ने त मर्कामा परे। उनीहरू आफ्नो जग्गा रोक्का भएपछि अदालत गएका छन्।'
जेठ ३०, २०८१ बुधबार १७:२२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।