खोटाङ हलेश्वर महादेव गुठीको १४३ रोपनी जग्गा महन्थले आफ्नो बनाएर ६७ जनालाई बेचे

खोटाङ हलेश्वर महादेव गुठीको १४३ रोपनी जग्गा महन्थले आफ्नो बनाएर ६७ जनालाई बेचे

काठमाडौँ ­­:  हिन्दु,बौद्ध अनि किराँतीहरूको तीर्थस्थल खोटाङको हलेसी महादेव गुठीको १४३ रोपनी ७ आना जग्गा महन्थले व्यक्तिको नाममा ल्याएर ६७ जनालाई विक्री गरे।

गुठी संस्थानले सो जग्गा गुठी मातहत ल्याउन पटक-पटक निर्णय गरेपनि अहिलेसम्म व्यक्तिको नामबाट गुठीकोमा आएको छैन। उकेराले सूचनाको हक प्रयोग गरेर  प्राप्त गरेको मोहनरमण भट्टराई नेतृत्वको सरकारी,सार्वजनिक र गुठीको जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयोग,२०७६ को प्रतिवेदन अनुसार हलेसीका महन्थले १ सय ४३ रोपनी ७ आना जग्गा विभिन्न समयमा विभिन्न व्यक्तिको नाममा पास गरिदिएको देखिन्छ ।

प्रतिवेदन अनुसार साबिकको महादेवस्थान गाविस वडा नम्बर ४ का  हालको हलेसी तुवाचुङ नगरपालिकाको  जग्गा अतिक्रमणमा परेको देखिन्छ।

गुठीको जग्गा व्यक्तिको बनाएर लिनेहरूमा हरि प्रसाद कँडेल, कृष्ण बहादुर गुरुङ, सन्धि सर्पन, पुष्पलाल श्रेष्ठ, नरमकाजी श्रेष्ठ, टेकबहादुर गिरि, कुम्भ,  दुर्गा मणि राई, माधव प्रसाद, हेमन्त कुमार गिरि, कुम्भराज राई ,टंक राई, वृजेन्द्र गिरि, रामकाजी केसी, जित बहादुर बस्नेत, हेमन्त कुमार गिरि, रत्न गिरि, वसन्त गिरि, टंक गिरि ,तुल्सीराम गिरि, बम प्रसाद मन्दीप ,भवानी शंकर रिठे, महल ,रमेश बस्नेत, चन्द्र बहादुर बस्नेत, भुपध्वज बस्नेत, कुलदिप गिरि, डणवाङ्ग, नन्द कुमार, महल, सुक वीर दमाईं, मोतीलाल, प्रकाशचन्द्र गिरि, देवकी केसी ,वविता गिरी, गोकुल बस्नेत लगायत छन्। एकै व्यक्तिको नाममा  फरक- फरक कित्ता नम्बरबाट जग्गा पास भएको देखिन्छ।

के हो हलेश्वर गुठी ?

हलेश्वर गुठीको जग्गा व्यक्तिको नाममा कसरी पुग्यो भन्ने थाहा पाउनु अघि हलेसी महादेवबारे संक्षेपमा जानकारी राखौँ । इतिहासकार ज्ञानमणि नेपालका लेखहरू अनुसार प्रसिद्ध तान्त्रिक आचार्य पद्मसंभव यही बाटो नेपालदुन निस्केर भोट गएका थिए ।

उनले केही समय हलेसी गुफामा बसेर तपस्या गरेकाले बुद्ध धर्मावलम्बीहरू पनि हलेसीलाई ठुलै तीर्थस्थल मान्छन्। त्यस्तै हिन्दुहरूले हलेसीका महादेवले चिताएको कुरा पुर्याइदिन्छन् भन्ने विश्वास राख्छन् ।

हलेश्वर महादेवको दैनिक पूजा लगायतका खर्चको व्यवस्थापन गर्न सेन राजाले घडेरी, पाखोबारी र फूलबारी दिएको देखिन्छ। दैनिक पूजाको लागि लाखुखेत एक सय मुरी र बेलबोटे ४० मुरी गरी १ सय ४० मुरी माटोको दुई खला खेत गुठी राखिएको  थियो।

सेन राजाको पत्र अनुसार पहिला सेन राजाले हलेश्वर-हरेश्वर-हलेसी महादेवको लागि घडेरी, पाखोबारी र फूलबारी दिएको देखिन्छ। दैनिक पूजाको लागि लाखुखेत एक सय मुरी र बेलबोटे ४० मुरी गरी १ सय ४० मुरी माटोको दुई खला खेत गुठी राखिएको देखिन्छ।

त्यस्तै रणबहादुर शाहले १८४७ मा लाख बत्ती बालेको आधा रकम पुजारीले लिने र  आधा अड्डामा राख्ने आदेश दिएको प्रमाणहरू रहेका छन् ।

संवत् १८६१ माघ वदी ८ रोज ३ मा गीर्वाण युद्ध वीर विक्रम शाहबाट जारी भएको हलेसी महादेव गुठीको लालमोहरमा 'स्वदतं पर दतंवायो हरेश्च वसुन्धरा षष्टि वर्ष सहस्रमी विष्ययां जायते कृमि भन्ने उल्लेख भएको । प्रस्तुत गुठी राख्दाका रुक्कापत्र समेतमा सो वोली परेको कारणले सो जग्गा गुठीको पूजालाई बेवास्ता गरी कसैलाई आफ्‌नो निजी बनाउनाका लागि दाताले राखी दिएको नभई नित्य नैमित्तिक पूजाको निरन्तरताका लागि राखेका भन्ने स्पष्ट हुन आएको छ ।'

त्यस्तै भीमसेन थापाले पनि पहिले उठेको बाँकी र हाल उठेका गादी मवारख रकमले तावाँको बैठक बनाई महादेवलाई चढाउने पत्र जारी गरे ।

भीमसेन थापा पछि सो जग्गा निरन्तर रूपमा गुठीको नाममा रहँदै आयो। २०४४ सालमा राजा वीरेन्द्र शाहले हलेसीलाई गुरुयोजना बनाउन भन्दै गुठी वरपर बसेकालाई हटाउने निर्णय गरे। सरकारले मुआब्जा पनि दियो। मुआब्जा त दियो केही घरहरू हट्नै मानेनन्। मुआब्जा लिने अनि नहट्ने भएकाले गुरुयोजना बन्न पाएन।  गुरुयोजना नबनेपछि महन्थहरुले विभिन्न व्यक्तिको नाममा जग्गा बेच्दै गए।

कसरी भयो गुठीको जग्गा बिक्री ?
नापी कार्यालय खोटाङको पत्र अनुसार गुठीको जग्गा  ६७ कित्ता बनाइयो। अनि जग्गाको मोही खाली गराएर जग्गाधनी महलमा व्यक्ति विशेषको नाम र सिरमा गुठीको नाम लेखेर स्रेस्ता पुर्जा तयार गरेको देखिन्छ।

नापी भएको बेलाको फिल्डबुकमा जग्गाधनीमा हलेश्वर महादेव गुठी लेखेको मुनी व्यक्ति विशेषको नाम उल्लेख गरी जोताहको महल खाली गरिएको थियो।

नापी हुँदा महन्थहरू समेत उपस्थित थिए। उनीहरूले सहजै गुठी संस्थान ऐन २०३३ को दफा २५ विपरीत देवस्थलको जग्गा बदनियतपूर्वक आफ्नो नाममा दर्ता गराए। महन्थहरुको आफ्नो नाममा गुठी रैतान नम्बर दर्ता गरी र उनीहरूबाटै अन्य व्यक्तिहरूमा हक हस्तान्तरण हुने कानुनी व्यवस्था कहीँ कतै पनि छैन। गुठीको नाउँमा एकलौटी गठन हुनुपर्नेमा व्यक्ति विशेषको नाममा दर्ता गरियो  २०४५ सालमा नै ।

गुठीको रैतान नम्बरीमा दर्ता गर्दा गुठी संस्थानमा लगत बुझाउनु पर्नेमा लगत पनि बुझाएको देखिँदैन। जसले गर्दा गुठीको जग्गा रैतान नम्बरी सरह हुनेगरी गुठीको कर्मचारी सरहका महन्थ पुजारीको नाममा नापी भएपछि त्यसैलाई आधार मानेर मालपोत कार्यालयबाट दर्ता भएका  स्रेस्ताहरू गुठी संस्थान ऐन विपरीत देखिन्छ।

भट्टराई आयोगको प्रतिवेदन अनुसार 'मालपोत कार्यालय खोटाङबाट कायम भएको दर्ता स्रेस्ताहरू गुठी संस्थान ऐन, २०३३ को तत्कालीन दफा २५(४) २७, ३६ र ३९ विपरीत भए गरेको देखिन्छ।

राजगुठीको जग्गाको हक, स्वामित्व र प्रकृति नापीले अन्यथा निर्णय गर्दैमा समाप्त हुन नसक्ने नापीका बखतमा नापी गराउँदैमा र जग्गाधनी प्रमाण पुर्जा लिँदैमा स्वामित्व कायम हुन् नसक्ने भन्ने समेत न्यायिक निकायबाट प्रतिपादित सिद्धान्त समेतको आधारमा रैतान नम्बरी सरह हुनेगरी नापी र मालपोत कार्यालयहरूबाट भएका नाप नक्सा र दर्ता स्रेस्ता समेत गुठी संस्थान ऐन, २०३३/ मा भएको कानुनी व्यवस्था विपरीत देखिन आयो ।'

गुठी संस्थान ऐनको दोस्रो संशोधनले केही सर्तहरू पालना गरे गुठीको जग्गा रैतान नम्बर हुने व्यवस्था गरेपनि पछि यो नियम नै खारेज भएकाले जसरी गुठीको जग्गा व्यक्तिको नाममा गरियो यो बदनियतपूर्वक रहेको भट्टराई आयोगको ठहर छ।

भ्रष्टाचार निवारण ऐन आकर्षित हुने

भट्टराई आयोगले हलेश्वर महादेवको जग्गा बिक्री वितरण गर्नेलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत मुद्दा चलाउन सिफारिस समेत गरेको छ। कानुनले तोकेको कार्यविधि मापदण्ड विपरीत राज गुठीको लगत कायम नगरी व्यक्ति विशेषको नाममा स्वतः स्रेस्ता कायम गरिएकाले गुठी संस्थान ऐन विपरीत हुन आएकाले सो स्रेस्ता बदर गरी गुठीकै नाममा ल्याउन आयोगले सिफारिस गरेको छ। आयोगले गुठीको जग्गा व्यक्तिको बनाउन संलग्नहरूमाथि कारबाईको सिफारिस समेत गरेको छ।

उसले पुजारी, नापी स्रेस्ता मिलाउने र हक हस्तान्तरण समेत गर्ने/ गराउने कार्यबाट भ्रष्टाचारजन्य कार्य गरेकाले संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरे पनि सरकार भने आयोगको प्रतिवेदन लुकाएर बसेको छ।

सम्बन्धित समाचार

२३ जेठ, २०८१, १७:५७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।